गुगलको एन्ड्रोइडमा सबैभन्दा बढी सुरक्षा कमजोरी

न्युयोर्क– मोवाइल सफ्टवेयरको दुनियामा प्रिय मानिएको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्ने फोन ह्याकरको निशानामा धेरै पर्ने गरेको एक अध्ययनले देखाएको छ। २०१२ मा भएको अनुसन्धानमा ह्याकिङमा पर्ने कुल तथ्यांकमध्ये ७९ प्रतिशत गुगल एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरेका फोनहरु थिए।
एन्ड्रोइड सामसङ लगायतका स्मार्टफोन र ट्याबहरुमा प्रयोग हुँदै आएको छ।

एन्ड्रोइडको असुरक्षा कमजोरीलाई लिएर वेबसाइट पब्लिक इन्टेलिजेन्सले अमेरिकी सुरक्षा विभाग र फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआइ) ले मेमो प्रकाशित गरेका छन्। गुगलको सफ्टवेयरको सुरक्षा कमजोरी बारे प्रश्न उठेको यो पहिलो पटक भने होइन।

अध्ययनका अनुसार नोकियाको सिम्बियन सिस्टम ह्याकरको दोस्रो निशानामा परेको छ। यता एप्पलको आइओएस फोनमा भने ०.७ प्रतिशत मात्र हमला भएको एफबीआइले बताएको छ।

बजारमा धेरै चल्ने र ओपन सोर्स आर्किटेक्चर सिस्टमका कारण एन्ड्रोइड फोनमा ह्याकरको निशाना धेरै भएको एफबीआईले उल्लेख गरेको छ। एन्ड्रोइडमा धेरै जसो ह्याक फेक म्यासेजले गर्दा हुने गरेको छ। मेमोमा एन्ड्रोइड फोन प्रयोग गर्ने ४४ प्रतिशतले अहिले पनि पुरानो अपरेटिङ सिस्टम प्रयोग गर्ने बताइएको छ। बजारमा एन्ड्रोइडको नयाँ भर्सन उपलब्ध भए पनि पुरानै भर्सन प्रयोग गर्नेको संख्या उत्तिनै छ।

एप्पलले ६० करोड मानिस आइफोन र आइप्याडको प्रयोग गर्ने बताएको छ। जसमा ९३ प्रतिशतसँग आधुनिक भर्सन रहेको एप्पलको दावी छ।

प्रतिक्रिया दिनुहोस्: