डोलिडारको महानिर्देशकमा उपाध्याय नियुक्त

काठमाडौँ – स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) को महानिर्देशकमा भीमप्रसाद उपाध्याय नियुक्त भएका छन् । विभागका तीन उपमहानिर्देशक उपाध्याय, रामकृष्ण सापकोटा, जीवनकुमार श्रेष्ठमध्ये पहिलो नम्बरमा रहनुभएका उपाध्यायलाई सङ्घीय व्यवस्था तथा स्थानीय विकास मन्त्रालयले भदौ १४ गते शुक्रबार महानिर्देशकको जिम्मेवारी दिएको हो।
विभागका महानिर्देशक भुपेन्द्रबहादुर बस्नेतले शुक्रबारदेखि अवकाश प्राप्त गर्नुभएको हो। स्थानीयस्तरका पूर्वाधार विकासका लागि सरकारले विसं २०५५ भदौ ८ गते विभागको स्थापना गरेको हो।
उपाध्याय पूर्वाधार विकास विज्ञका रुपमा परिचित हुनुहुन्छ। ती विषयमा उनले लामो समयदेखि लेख रचनासमेत विभिन्न पत्रपत्रिकामा प्रकाशन गर्दै आएका छन्।विभागअन्तर्गत ७५ जिल्लामा प्राविधिक कार्यालय रहेका छन्। स्थानीय स्वायत्त शासन ऐन तथा स्थानीय पूर्वाधार नीतिअनुरुप विभागले स्थानीय पूर्वाधारका सातवटा क्षेत्र यातायात प्रणाली (सडक), खानेपानी, साना सिँचाइ, सडक जोड्ने पुल, झोलुङ्गे पुल, नदी नियन्त्रणलगायतमा काम गरिराखेको छ। विभागले हालसम्म करिब ३५ हजार किलो मिटर कच्ची सडक निर्माण गरिसकेको छ।

विभागका स्थानीय पूर्वाधारका कार्यक्रमलाई विश्व बैंक, स्विस अन्तर्राष्ट्रिय सहयोग नियोग, विश्व बैँक, फिनल्यान्ड, जापानलगायतले सहयोग गरिराखेको छ। हाल विभागअन्तर्गत २० भन्दा बढी आयोजना सञ्चालित रहेका छन्।

– See more at: http://www.nagariknews.com/society/nation/story/6618#sthash.O8aUlYot.dpuf

प्रतिक्रिया दिनुहोस्: