बेलायती संसद् सिरियामाथिको कारबाही विरुद्धमा

लन्डन, (एजेन्सी)बेलायतका प्रधानमन्त्री डेबिड क्यामरुनले शुक्रबार बेलायती संसद्ले सिरियामाथि सैनिक कारबाहीका लागि समर्थन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफूले अमेरिकी राष्ट्रपति बाराक ओबामाले जनताको इच्छा पनि सुन्नुपर्ने तथ्यलाई बुझ्ने आशा गरेको बताएका छन्। सिरियामा सैनिक कारबाही गर्ने प्रस्तावविरुद्ध बेलायती संसद्ले मतदान गरेको केही समयपछि क्यामरुनले भने– ‘मेरो विचारमा अमेरिकी सरकार, अमेरिकी जनता र राष्ट्रपति ओबामाले बुझ्नेछन्। चाँडै यसबारेमा ओबामासँग कुरा गर्नेछु। तर यसैकारण मैले ओबामासँग माफी माग्नु पर्छ भन्ने मलाई लाग्दैन।

हिजो फ्रान्सले बेलायती संसद्को मतदानको बावजुद पनि आफूले सिरियाली जनतामाथि विषाक्त ग्यास प्रयोग गरेको देखिएका राष्ट्रपति बसार अल असादको सरकारलाई सजाय दिने काममा आफूले समर्थन गर्ने जनाएको छ। त्यसै गरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीले बेलायती संसद्को मतदानलाई इंगित गर्दै मानिसहरूले अब सैनिक कारबाहीको खतराबारे बुझ्न थालेको प्रतिक्रिया गरेका छन्।

अमेरिकी रक्षामन्त्री चक हाजेलले हिजो पनि गत साता रसायनिक हतियार प्रयोग गरी सयौं जनता मारेको आरोप लगाइएका सिरियामाथि आक्रमण गर्न अमेरिकाले अन्तर्राष्ट्रिय सहमति खोजिरहेको जानकारी दिएका छन्। फ्रान्सका राष्ट्रपति फाँस्वाँ होलान्डले सिरियामाथि अझै कडा कारबाही गर्ने पक्षमा आफू रहेको र यस सम्बन्धमा फ्रान्सका गठबन्धनसँग निकट सहकार्य गरिने बताएका छन्।

रसियाले भने सिरियामा सरकारी पक्षले नभई असादविरुद्ध संघर्षरत लडाकूहरूले रसायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै आएको छ। बेलायती संसद्मा उक्त प्रस्तावको पक्षमा २ सय ७२ र विपक्षमा २ सय ८५ मत खसेको थियो। बेलायती रक्षामन्त्री फिलिप ह्यामन्डले सैनिक कारबाहीमा आफ्नो निकटतम समर्थकको संलग्नता नभएकोमा अमेरिका निराश हुन सक्ने तर बेलायती सहभागिताको अभावमा कुनै काम नरोकिने पनि बताएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यिले हिजो हतियार अनुगमन टोलीले सिरियाली रसायनिक हतियार मामिलासम्बन्धमा अनुसन्धान पूरा नगरुन्जेल संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सिरियामाथि कारबाही गर्न दबाब दिन नहुने बताएको आधिकारिक सिन्ह्वा समाचार निकायले जनाएको छ। यिले राष्ट्रसंघका महासचिव वान कि मुनसँगको टेलिफोन वार्तामा बाह्य दवाव र हस्तक्षेपरहित स्वतन्त्र र वस्तुगत अनुगमनको पूर्ण समर्थन गर्ने जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्: