व्यापार संघको नाम फेरियो

खिचापोखरी व्यापार संघ ‘खिचापोखरी न्युरोड व्यापार संघ’मा परिणत भएको छ। संघको शुक्रबार भएको साधारणसभाले धेरै व्यवसायीलाई समेट्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।
दुई वर्षदेखि व्यापारीले संघको क्षेत्र विस्तार गर्न आग्रह गर्दै आएका थिए। नयाँ संघले सुन्धारा, खिचापोखरी, पाको, रणमुक्तेश्वर, धर्मपथलगायत क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायीलाई समेटेको छ। अब सामान बिक्री गर्दा खिचापोखरी न्युरोड व्यापार संघ लेखिएको कपडाको झोला प्रयोग गरिने संघका अध्यक्ष राजेन्द्र शेरचनले बताए। उनका अनुसार यो व्यवस्था लागू भएपछि काठमाडौंलाई प्लास्टिक झोलामुक्त बनाउने सरकारी कदमलाई पनि सहयोग पुग्नेछ। खिचापोखरीका ५० प्रतिशत व्यापारीले यो व्यवस्था कार्यन्वयन गर्ने उनले जानकारी दिए।
टोसिवाको नयाँ रेफ्रिजेरेटर बजारमा
काठमाडौं १४ (नागरिक)– टोसिवा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता इओएल प्रालीले टोसिवा ग्लास डोरको नयाँ रेफ्रिजेरेटर बजारमा ल्याएको छ। इओएल चौधरी ग्रुपअन्तर्गतको कम्पनी हो।
बजारमा आएको यो रेफ्रिजेरेटरमा दोहोर डोर जडान भएको छ। कालो ग्लास जडित यो रेफ्रिजेरेटर निकै आकर्षक देखिन्छ। यसमा धेरै नयाँ विशेषताहरु प्रयोग भएका छन्। यस्तै यो ९५ प्रतिशत व्याक्टेरियायुक्त रेफ्रिजेरेटर हो। हाल बजारमा यसका दुई वटा मोडल उपलब्ध छन्। यसको ४ सय १० लिटर क्षमता भएको रेफ्रिजेरेटरलाई ६५ हजार २ सय ९० रुपैयाँ र ४ सय ६० लिटर क्षमता भएकालाई ७० हजार ८ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। यी रेफ्रिजेरेटरमा २ वर्षको वारेन्टी दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्: