सिगात्सेमा नेपाल–तिब्बत ब्यापार मेलाको तयारी

हङकङ- नेपाल–तिब्बत चौधौँ ब्यापार मेला तिब्बतको दोस्रो ठूलो शहर सिगात्सेमा आयोजना हुने भएको छ। तिब्बत स्वायत्त प्रदेशीय वाणिज्य विभागले सिगात्सेस्थित चोमोलाङमा प्रदर्शनी केन्द्रमा २०–२४ भाद्रमा मेला आयोजना गरिने जनाएको हो। वाणिज्य विभागका अनुसार ‘चीनको तिब्बत–नेपाल आर्थिक ब्यापार मेला’को परिधि, सहभागिता र प्रदर्शनमा राखिने वस्तुको संख्या पहिलेभन्दा ठूलो हुनेछ। मेलामा नेपालका ७० र चीन तिब्बतका ६० गरी एक सय ३० कम्पनीले सहभागिता जनाउने तयारी गरेको ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालले बताए।
सिगात्सेमा दोस्रो पटक हुन लागेको मेला उद्घााटन सहमारोहमा मुख्य सचिव लिलामणी पौडेल, वाणिज्य सचिव जनार्दन नेपालसहित छ सदस्यीय सरकारी टोली सहभागी हुँदैछ। पौडेल ल्हासाका पूर्व महावाणिज्यदूत हुन्। ब्यापारी र सरकारी अधिकारीसहित नेपालबाट ८० जनाले मेलामा सहभागिता जनाउँदैछन्।
बस्यालका अनुसार मेलामा प्रदर्शनका लागि चीनले पाँच करोड मुल्य बराबरको नेपाली सामान बिना भन्सार ल्याउने छुट दिएको छ। ती सामानसहित नेपाली टोलीलाई खासाबाट सिगात्से आउने जाने यातायात खर्च पनि चीनले ब्यहोर्ने भएको छ। प्रदर्शनमा राखिनेह्याण्डीक्राफ्ट, पश्मिना, चिया, काष्ठकलाका नेपाली सामान आइतबारसम्म सिगात्से आइपुग्नेछन्।
तिब्बतको वाणिज्य विभागले मेलामा चीनले कृषि तथा पशुपालनबाट उत्पादित वस्तु, खाद्य सामाग्री र पर्यटन प्रबर्द्धनसम्बन्धी वस्तुहरू प्रदर्शनमा राख्ने जनाएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने नेपाल–तिब्बतब्यापार मेला अघिल्लो वर्ष काठमाडौंमा भएको थियो।
नेपाल तिब्बतको सबभन्दा ठूलो ब्यापार साझेदार हो, त्यसपछि मलेसियार इण्डोनेसिया आउँछन्। बस्यालका अनुसार २०१२ मा नेपालले चीनको तिब्बतबाट ६३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको थियो भने करिब दुई अर्बको निर्यात गरेको थियो।
‘चीनसँगको ब्यापारमा हामी अझै ६१ अर्ब घाटामा छौं, यस्तो मेलाले त्यसलाई घटाउन मद्दत गर्छ’, बस्यालले भने, ‘पाँच करोडको सामान निर्यात हुन्छ र चिनियाँ ब्यापारीसँग सम्पर्क बढ्दा हाम्रो ब्यापार प्रबर्द्धन हुन्छ।’

– See more at: http://www.nagariknews.com/economy/story/6587#sthash.9L2bWdKn.dpuf

प्रतिक्रिया दिनुहोस्: