सीडीएमएको डाटा प्याकेज अब एसएमएसबाट

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको आइपी सीडीएमएअन्तर्गतको इभिडियो (थ्रीजी) डाटा अर्थात इन्टरनेट सेवा एसएमएसमार्फत खरिद गर्न सकिने भएको छ। सीडीएमएका ग्राहकले मोबाइलमा आवश्यक रकम रिचार्ज गरी आफूलाई आवश्यक डाटाको प्याकेज १४५६ मा एसएमएस पठाएर खरिद गर्न सक्ने टेलिकमले जानकारी दिएको छ।

टेलिकमका अनुसार ग्राहकले इभिडियो सेवामा आफूले प्रयोग गर्न बाँकी रहेको डाटा भोल्युम तथा ‘भ्यालिडीटी पिरियड’ का बारेमा जानकारी लिन मोबाइलमा ‘बीएल’ टाइप गरी १४५६ मा एसएमएस पठाउन सक्नेछन्।

यस्तै मोबाइलमा ‘हेल्प’ टाइप गरी सोही नम्बरमा पठाएमा सिस्टमबाटै एसएमएस गर्ने तरिकासहितको म्यासेज प्राप्त गर्न सकिने टेलिकमले जानकारी दिएको छ। इभिडियो नचल्ने पुराना रिम कार्डलाई इभिडियो चल्ने रिमकार्डमा निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरिएको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो। प्रवक्ता प्रधानले भन्नुभयो– ‘ग्राहकहरूले इभिडियो सेवाको रिमकार्ड प्रयोग गरी भ्वास सेवाका साथै सीडीएमएको स्मार्ट मोबाइल फोनसेट, ल्यापटप, डेक्सटप वा इभिडियो डंगोलमार्फत ३.१ एमबीपीएस क्षमतामा इन्टरनेट चलाउन सकिनेछ।’ टेलिकमले हाल इभिडियो सेवालाई बन्डलिङमार्फत बिक्री वितरण गरिरहेको छ। बन्डलिङमार्फत उपलब्ध हुने यो सेवामा ग्राहकले १ जीबी मेमोरीसहितको इभिडियो डंगोल, एक सय रुपियाँको टल्क भ्याल्यु तथा मासिक १ जीबी डाटा को दरले ३ महिनासम्मका लागि ३ जीबी डाटा भएको रिमकार्ड करसहित २ हजार २ सय रुपियाँमा खरिद गर्न सकिने पनि प्रवक्ता प्रधानले जानकारी दिनुभयो।

टेलिकमले ५ सय एमबीको डाटा एक महिनासम्मका लागि २ सय रुपियाँमा उपलब्ध गराउने भएको छ। यस्तै १० जीबीसम्मको डाटा एक महिनासम्मका लागि  २ हजार ४ रुपियाँमा उपलब्ध गराउन सकिने जनाएको छ। इभिडियो हालसम्म १२ अञ्चलका ४८ जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रहरूमा सञ्चालनमा आइसकेको छ। टेलिकमले इभिडियो सेवालाई ‘स्काई प्रो’को ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्: