अझै अध्यक्ष चलाउन सक्छु : खनाल

झलनाथ खनाल, अध्यक्ष एमाले 

एमालेको आठौं महाधिवेशनमा बुटवलको तिनाऊ नदीले गुटलाई बगायो भनिएको थियो । अब काठमाडौंमा हुने नवौं महाधिवेशनमा वाग्मतीको फोहोर पानीले कसरी बगाउला ?

मैले त्यतिबेलै गुटहरुको अन्त्य हुने अपेक्षा गरेको थिएँ । मैले के सोचेको थिएँ भने त्यो गुटबन्दीको गुजुल्टो अलि खुकुलो होला र तिनाऊ नदीको पानी त्यसलाई बगाउन पर्याप्त होला । तर, तिनाऊ नदीको पानीले त्यो गाँठो फोर्न सकेन ।

अहिलेसम्म यो गुटबन्दी वागमतीमा मात्रै आएको छैन, यो राष्ट्रव्यापी छ । पार्टीव्यापी छ । देशका सबै नदी प्रणालीहरुभित्र पुगिसकेको छ । अब वागमतीमा आइपुग्दाखेरि म अपेक्षा गर्छु, गुटबन्दीको अन्त्य हुनुपर्छ ।

तर, अब गुटबन्दीको अन्त्यका लागि मैले प्रयत्न गरेर, माधव नेपाल, केपी ओली या वामदेव गौतमले प्रयत्न गरेर मात्रै हुँदैन, युवा नेताहरुले प्रयत्न गरे भने गुटबन्दीको इतिश्री हुन्छ । मैले अगाडि बढ्न खोजिरहेका बेला साथ दिएर जो मान्छे अगाडि आउँछ नि, त्यसैले गर्दा गुटबन्दी सिर्जना हुने हो । यस्तो कुरा युवा नेताले बन्द गर्नैवित्तिकै गुटबन्दीको अन्त्य हुन्छ ।

अब युवाहरु सीमान्त अवस्थामा पुगेका व्यक्तिविशेष नेताको पछि लाग्छन् भन्ने मलाई विश्वास छैन । हामी त अब सधैं बसिरहँदैनौं उनीहरुलाई टेवा दिन । त्यसैले युवाहरुले अब आफ्नै ग्राउन्ड बनाउनुपर्छ । अब हाम्रो पार्टीमा युवाहरुको पंक्ति अगाडि बढ्नुपर्छ । त्यसले खुट्टा टेक्नुपर्छ र पार्टीलाई हाँक्न तम्तयार हुनुपर्छ । हामीलाई आएर युवाहरुले भन्नुपर्‍यो, कामरेड अब हामी तयार छौं । तपाईहरुले जति गर्नु भो त्यो भन्दा तीन गुना गर्छौं भन्न सक्नुपर्‍यो । म त माला लगाउन तयार छु । यो स्वागत गर्ने परिस्थिति नवौं महाधिवेशनमै आओस् । 

महत्वाकांक्षी बनेर मै सर्वोपरी छु, मैले नेतृत्व गरेपछि मात्रै हुन्छ , अरुले नेतृत्व गरेर हुन्छ ? म नेतृत्वमा भएपछि सब कुरा हुन्छ भनेर कसैले पनि ठान्नु हुँदैन । यो गलत कुरा हो

संसदीय दलको नेताको चुनावमा तपाई सहमतिका लागि तयार हुनुहुन्थ्यो तर, माधव नेपालको इच्छाअनुसार चुनाव भएको र हार्दा पनि झलनाथले होइन, माधव नेपालले हारेको भन्ने चर्चा छ । तपाईले केपीलाई छोड्न खोज्नुभएको थियो ?

– तपाईहरुको प्रश्नले एमालेभित्र हात हाल्न खोजेको देखाउँछ । हात हाल्ने प्रयत्न कसैले पनि नगर्नुभए राम्रो हुन्छ । एमाले एउटा सुविचारित विचार, नीति, सिद्धान्त र विधिका आधारमा चल्ने पार्टी हो ।

हामीले संसदीय दलको निर्वाचन सहमतिका साथ गराउने भन्ने सोचेका थियौं र अध्यक्ष स्वतःसिद्ध संसदीय दलको नेता बन्छ भन्ने सामान्य धारणा थियो । पछि केपी कमरेडले अपेक्षा राख्नुभो । त्यो भएपछि छलफल गर्दै जाँदा सहमति गरौं भन्ने मलाई पनि लागेको थियो । निर्वाचनको प्रक्रियामा जाँदा राम्रो हुँदैन भन्ने लागेको हो । तर, पछि गएर निर्वाचन भयो ।

लोकतान्त्रिक अभ्यास हामीले सम्पन्न गर्‍यौं, त्यसले कसैलाई तलमाथि पारेको पनि छैन । मैले यसलाई समान्य रुपमा लिएको छु । लोकतान्त्रिक अभ्यासअन्तरगत यसलाई कस्तो संस्कृतिमा हेर्ने भन्ने प्रश्न पनि हो । हाम्रो देशमा संस्कृति बसिसकेको छैन ।

तपाईलाई थाहा छ । आठौं महाधिवेशनमा मैले ठूलो बहुमतका साथ जितेँ । तर, त्यसलाई समान्य रुपमा लिइएन । त्यो संस्कृतिको अभावको कुरा हो । तर, म त्यो संस्कृति प्रदर्शन गर्न चाहन्छु र कम्युनिष्ट आन्दोलनमा परिपक्कता ल्याउन चाहन्छु । यसले अब पनि परिपक्कता प्राप्त नगर्ने हो भने दुर्भाग्यपूर्ण कुरा हुन्छ ।

तेत्तीस सिटको एमाले तपाईको नेतृत्वमा दोस्रो ठूलो हैसियतमा आयो । अब नवौं महाधिवेशन आउँदैछ र नेतृत्वका लागि होड सुरु भएको छ । तपाई फेरि अध्यक्षमा लड्ने कि अवकाश लिने ?

– पहिलो कुरा के हो भने आठौं महाधिवेशन हुँदा पार्टी ठूलो धक्का खाएको अवस्थामा थियो । त्यतिबेला हाम्रो पार्टी ३३ सिटमा झरेको पनि थियो । आम कार्यकर्तामा निराशा, आक्रोस, शिथिलता थियो । पार्टी सदस्यहरुको संख्या पनि सानै थियो । त्यसबेला १ लाख ३८ हजार हाराहारी थियो । त्यहाँदेखि यहाँसम्म आउँदा अहिले नवीकृत सदस्य मात्रै २ लाख छौं । नवीकृत हुन बाँकी करीव १ लाख सदस्य छन् । सबैले सदस्यता नवीकरण गरिदिए भने हामी ३ लाख पुग्छौं । पार्टीभित्र यस वीचमा गुटवन्दी, अराजकता, अनुशासनहीनता जस्ता चिजहरु नदेखिएको भए हामी अहिले ५ लाख सदस्य भएको पार्टी बन्थ्यौं । अरु कसैले औंला ठड्याउनै पर्ने थिएन, सहज ढंगले ठूलो पार्टी बन्थ्यौं ।

तथापि अनेकखालका समस्याका बावबुद मैले पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाएर ल्याएँ । पटक-पटक विभिन्न कामरेडहरुसँग सहमति सम्झौता गरेँ । पार्टी एकतावद्ध भएर एकातिर विस्तार र विकास भयो । अर्कोतर्फ यो निर्वाचनमा पार्टीले आशातीत सफलता प्राप्त गर्‍यो । हामी पहिलो पार्टी बन्थ्यौं । अनेक फ्याक्टरले दोस्रो पार्टी बन्यौं तर, हामी पहिलो पार्टीको भावना र मानसिकता राख्छौं । तथापि दोस्रो पार्टी हो । तर, ३३ सिटबाट ९१ सिट, समग्रमा १ सय ७५ सिट भएको पार्टी, एउटा शक्तिशाली पार्टीका रुपमा संविधानसभामा उपस्थित छौं । राष्ट्रव्यापी रुपमा पनि हाम्रो पार्टीको प्रभाव र कामकारवाही विस्तार भएको छ । राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा पनि पार्टीको प्रतिष्ठा उच्च भएको छ । यो सबै अत्यन्त महत्वपूर्ण छ ।

म पार्टीको अध्यक्ष भएका बेलामा मेरो नेतृत्वमा यी कुराहरु भएका छन् । यी महत्वपूर्ण उपलब्धीहरु हुन् । यसलाई अझै जारी राख्दै तैंले नै अध्यक्ष भएर अगाडि बढ्नुपर्छ भनेर यदि पार्टीले भन्छ, कार्यकर्ताले त्यो कुरा भन्छन्, केन्द्रीय कमिटीले त्यो कुरा भन्छ भने म अरु एक कार्यकाल अध्यक्ष बनेर काम गर्न सक्छु ।

तर, म सहमतिको पक्षमा छु । अब विमति गरेर भिडन्त गर्ने अथवा प्रतिस्पर्धाका नाममा कार्यकर्तालाई विभाजित गर्ने पक्षमा छैन । र, अबको अवस्था के पनि हो भने नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ता मनमोहनजी, कमरेड पुस्पलाल आदिले नेतृत्व गर्नु भएको पुस्तालाई हामीले विदा गरिसक्यौं । दोस्रो पुस्ता हामी नै हौं । हामीले नेतृत्व गर्दै गर्दै यहाँसम्म आयौं । अब हामी पनि सीमान्तकृत अवस्थामा आइपुगेका छौं । अब हामीले तेस्रो पुस्ताका नेतृत्व के हो त भनेर सोच्ने बेला आएको छ । उनीहरुलाई तालिम गर्ने बेला आयो । अगुवा बनाउने बेला आयो । त्यसैले म नवौं महाधिवेशनमा बढीभन्दा बढी युवा शक्ति, युवा कमरेडहरु अगाडि आउनुस्, केन्द्रीय कमिटी युवा केन्द्रीय कमिटी बनोस् भन्ने पक्षमा छु ।

यसो गरिरहँदा नेताहरुको व्यवस्थापनमा समस्या छ । यसलाई सही रुपमा व्यपस्थापन गरेर जानुपर्छ । त्यसैले मेरो निम्ति पद कहिल्यै ठूलो हुँदैन ।

तपाई त महासचिव भएर पछि फेरि केन्द्रीय सदस्य बन्नुभो र फेरि अध्यक्ष हुनु भो हैन ?

– म पहिले कोअर्डिनेशन कालमा पनि नेता थिएँ । त्यसबेला पनि मैले नेतृत्व गरेँ । ०३९ बाट ०४६ सालसम्म महासचिव भएँ । त्यसपछि स्थायी समिति, पोलिटब्यूरोमा बसेर काम गरेँ । कुनै कुनै बेलामा मलाई केन्द्रीय कमिटीमा झारियो पनि । त्यो झर्दा पनि म झरिँन, बरु मलाई झार्नेहरु नै अफ्ठ्यारोमा परे । पछि फेरि अध्यक्ष भए । सबै बेलामा मलाई कमरेडहरुले नै प्रस्ताव गरेका हुन् । पार्टीले प्रस्ताव गरेको हो ।

आठौं महाधिवेशनमा पनि म आफ्नो आकांक्षाले होइन, पार्टी कमरेडहरुको आग्रहमा अध्यक्ष लडेको हुँ र त्यसरी नै अध्यक्ष बनेको हुँ ।

पार्टीमा लोकतान्त्रिक संस्कारको अभाव भएको हो ? तपाईलाई अध्यक्षमा जिताएर असहयोग गरियो नि ?

कम्युनिष्ट पार्टीभित्र जहिले पनि खुट्टा तान्ने रोग रहृयो । यो हाम्रो पार्टीभित्र पनि निकै गहिरो रुपमा छ । यो रोगलाई जरैदेखि उखेलेर फाल्न जरुरी छ । त्यसका निम्ति कसै न कसैले उदाहरण देखाउन जरुरी छ । एउटा मात्र उदाहरण भो भने पनि लाखौं लाख कार्यकर्ताहरु अहिले जुम्लामा लडिरहेका छन्, दार्चुलामा बसेर लडिरहेका छन् । कतिपय कार्यकर्ताहरुले मलाई प्रत्यक्ष रुपले जान्दैनन् । कतिपय कार्यकर्तासँग मैले बसेर काम गरेको छैन । उनीहरु सबैले अगाडि बढेर जाँदा देख्ने कुनै आदर्श त चाहियो नि । त्यो आदर्शमात्र भो भने उनीहरुले एउटा पावर प्राप्त गर्छन्, शक्ति पाउँछन् र त्यसका निम्ति लड्छन् । त्यसरी नै हामी आदर्शहरुलाई पछ्याउँदै आएका छौं ।

त्यसो हुँदा यो कम्युनिष्ट आन्दोलनभित्र त हामीले एउटा संस्कृति विकसित गर्नु छ नै । नेपालको अरु पार्टीमा त झनै अन्त्यत धेरै विकार विकृति देखिन्छ, त्यो नेतृत्व निर्माणमा होस् कि महाधिवेशनमा । नेपाली कांग्रेस पनि त्यो बाट मुक्त छैन । त्यसैले सुशीलजीले काम गर्ने सिलसिलामा अनेक चुनौतीको सामना गर्नु भएको छ, मैले देखिरहेको छु । यसले पार्टीसँगै मुलुक र समाजको विकासमा पनि असर गर्छ । बहुदलीय लोकतन्त्रमा पार्टीहरु भनेको महत्वपूर्ण संयन्त्र हुन्, यी पार्टीहरु जति लोकतान्त्रिक ढंगले चल्न सक्छन्, त्यो संस्कार देखिन्छ, समाज त्यसरी नै अगाडि बढ्छ ।

 एउटा कल्पना गरौं, नवौं महाधिवेशनबाट सहमतिका आधारमा नेतृत्व चयन हुन सकेन र चुनावै हुने अवस्था आयो भने तपाईको भूमिका के हुन्छ ?

-म पार्टीलाई अगाडि बढाइरहँदा के देख्छु भने यो पार्टी व्यक्ति केन्दि्रत भएर जान सक्दैन । यो नीति केन्दि्रत पार्टी हो । विचार केन्दि्रत पार्टी हो । सिद्धान्त केन्दि्रत, कार्यदिशा केन्द्रीत पार्टी हो । म नेता बन्छु भनेर नेता बन्दिँन । तर, मैले त्यो कार्यदिशा, नीति सिद्धान्त अगाडि सार्न सक्नुपर्छ । त्यो सार्ने कुरामा मैले भूमिका खेलेको हुनुपर्छ । भूमिका खेलेको छु भने म नेता बन्नसक्छु । नत्र नेता बन्न सक्दिँन । त्यसकारण खाली उम्मेदवारी दिँदैमा अथवा चाहना राख्दैमा नेता बनिँदैन । नेता बन्न सबैभन्दा पहिला विचार निर्माण गर्नुपर्छ ।

नवौं महाधिवेशनका कार्यदिशा, नीति र सिद्धान्त के हुन् ? आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको कार्यदिशा, नीति र सिद्धान्तलाई नवौं महाधिवेशनले के भन्छ ? यसको आधारमा जब नवौं महाधिवेशको कार्यदिशा, नीति र सिद्धान्त तय हुन्छ, त्यो तय गर्ने कुराहरुमा विभिन्न कमरेडहरुको भूमिका तय हुन्छ । त्यो भूमिकाले नेतृत्व चयन हुन्छ ।

माधव नेपालले पछिल्लो समयमा आफूलाई कर्नरमा पारिएको गुनासो गरिरहेको सुनिन्छ नि ? अध्यक्षको नाताले तपाई यसमा के भन्नुहुन्छ ?

त्यस्तो होइन । हाम्रो पार्टीका सबै नेताहरु माननीय हुनुहुन्छ । सबैलाई हामी सम्मान गर्छौं । माधव कामरेड बरिष्ठ नेता हुनुहुन्छ । केपी कामरेड दोस्रो बरिष्ठ । वामदेव कामरेड प्रथम उपाध्यक्ष नै भैहाल्नुभयो । ईश्वर कामरेड पनि राइज गरिरहनुभएको छ । यी नेताहरु सबै नै हाम्रो पार्टीका आदरणीय नेताहरु हुन् । सबैले आदर गर्नुपर्छ । सबैले सम्मान गर्नुपर्छ ।

तर, प्रत्येक नेताका आफ्नैखालका सबल र निर्बल पक्षहरु पनि छन् । मेरा पनि छन् । ती सबल र निर्बल पक्षहरुलाई चिन्नुपर्छ र सबैका सबल पक्षलाई राम्ररी उपयोग गर्नुपर्छ । तर, कोही पनि नेताहरु महत्वाकांक्षी नबन्ननोस् ।

महत्वाकांक्षी बनेर मै सर्वोपरी छु, मैले नेतृत्व गरेपछि मात्रै हुन्छ , अरुले नेतृत्व गरेर हुन्छ ? म नेतृत्वमा भएपछि सब कुरा हुन्छ भनेर कसैले पनि ठान्नु हुँदैन । यो गलत कुरा हो । यस्तो नठानिकन हामी एकतावद्ध भएर समझदारीका साथ अगाडि गयौं भने नेताहरु भनेका त पार्टीका पुँजी हुन् । सम्पत्ति हुन् । जति धेरै नेता भए उति राम्रो । तर, कहिलेकाहीँ नेताहरुको व्यवस्थापन गर्न सक्नुभएन भने दुईचार जना नेतामात्रै हुँदा पनि समस्या बन्न सक्छ । तर, म नेताहरु धेरै भएको कुरालाई पुँजी ठान्छु । त्यसैले सिंगो पार्टी नेतृत्वलाई सम्पत्ति ठान्नुपर्छ र त्यसलाई व्यवस्थापन गर्ने विधि निकाल्नुपर्छ । विधि निकालिइरहँदा कहिलेकाँहि अप्ठ्यारो पनि पर्न सक्छ तर त्यो अप्ठ्यारोलाई पनि व्यवस्थापन गर्न सक्नुपर्छ ।

एक वर्षपछि राष्ट्रपति परिवर्तन हुँदा एमालेबाट तपाई राष्ट्रपति बन्ने अनुमान छ नि ? तपाई तयार हुनुहुन्छ ?

यी विषयमा बहस, छलफल गर्ने बेला आइसकेको देख्दिँन । हामीले देशको भविश्य कसरी अगाडि लैजाने भन्ने विषयमा सोच्नुपर्छ । गणतन्त्रको पहिलो राष्ट्रपति डा. रामवरणजी हुनुभयो । दोस्रो राष्ट्रपति को होला, तेस्रो राष्ट्रपति को होला, राष्ट्रपतिको श्रृंखला अवश्य नै आउनेछन् । तर, त्यसका निम्ति न निजीरुपमा महत्वाकांक्षी भएर, आकांक्षी भएर लागिरहने व्यक्ति होइन । म लागेको पनि छैन । लाग्दा पनि लाग्दिँन । तर, इतिहासले जे जिम्मा मेरो काँधमा ल्याएर राख्छ, त्यो जिम्मा पूरा गर्नका लागि भने म आफूलाई सक्षम ठान्छु र त्यसलाई सफलतापूर्वक सम्पादन पनि गर्छु । जुनसुकै जिम्मेवारी आयो भने पनि । तर, अहिले त म पार्टी अध्यक्ष नै छु नि ।

 अध्यक्षमा चाँहि तपाईको प्राथमिकता हो ?

तपाईले अहिलेको विधानलाई हेर्नुभयो भने दुई कार्यकाल अध्यक्ष बन्न त मलाई इजाजतै दिएको छ । अध्यक्ष पदमा मेरै नाममा सहमति भयो भने म भो भो अध्यक्ष बन्दिँन, राष्ट्रपति बन्छु त भन्दिँन नि ।

सबभन्दा पहिलो कुरा के हो भने अहिले पार्टीलाई एकतावद्ध, सुदृढ कसरी बनाउने ? यो प्रश्न हाम्रो सामु छ । यो प्रश्न मेरा सामु पनि छ । माधव नेपालका सामु पनि छ । केपी ओलीका सामु पनि छ र वामदेव गौतमका सामु पनि छ । प्रत्येक नेताले पार्टीलाई सर्वोपरी रुपमा हेर्नुपर्‍यो । म भनेर होइन । म भए सब कुरा हुन्छ भन्ने त उहिल्यै सामन्तवादी युगको कुरा हो । त्यो अबको मार्केटमा बिक्रीबट्टा हुनेवाला छैन । पुरानो मालले हुँदैन, नयाँ बजारमा नयाँ सामान ल्याउनुपर्‍यो नि ।

तपाईले विधानले दुई कार्यकाल अध्यक्ष बन्न दिन्छ भन्नुभयो, तपाई पञ्चायतकालमै पार्टीको प्रमुख भैसक्नुभएको मान्छे, त्यो गणना हुन्छ कि हुँदैन ?

अहिले त पछिल्लो अवधिबाट गणना गर्ने गरिकन नै हामीले गरेका हौं । त्यो ढंगले नै गणना गर्ने हो भने पनि मलाई त आपत्ति छैन ।

उमेरको हद नि ?

उमेरको हिसाबले अहिले म ६५ वर्ष लाग्दैछु । म अझै पाँचवर्ष त मेचीदेखि महाकालीसम्म मज्जैसँग दौडन सक्छु । अब पाँचवर्षसम्म राम्रो कार्यकारी काम गर्न सकिन्छ । र, अब म पार्टीलाई कुन ढंगले हेर्दैछु भने पुस्तान्तरणको कुरा । हामीले एउटा उमेर समूहलाई ल्याउन जरुरी छ । हाम्रो पहिलो पुस्ता गइसक्यो । दोस्रो पुस्तामा हामी छौं । दोस्रो पुस्ता समाप्त हुनका लागि अब धेरै वर्ष छैन । त्यसमा पनि एकाध वर्ष बाँचे पनि लौरो टेकेर हिँड्नुपर्ने, सास फेर्दा पनि स्याँ-स्याँ गर्नुपर्ने, बोल्न नसक्ने, त्यो उमेरसम्म अध्यक्ष बन्नुपर्छ, पार्टीको नेता बन्नुपर्छ भन्ने त छैन नि । त्यसरी बन्नै हुँदैन । त्यसैले उमेरको हद राख्नुपर्छ । त्यो भनेको ७० वर्ष उपयुक्त हुन्छ । ७० वर्ष पुगेका मान्छेहरुले रिसर्चतिर लाग्नुपर्छ र कार्यकारी काममा युवाहरुलाई हामीले प्रोत्साहित गर्नुपर्छ । म चाँहि यो कुरा देखिरहेको छु र युवाहरुलाई प्रोत्साहित गर्नुपर्छ भनिरहेको छु । युवाहरुमा पनि म कोचाँहि अगाडि आउन सक्छ भनेर म हेर्दैछु । गुटलाई हैन, पार्टीलाई हाँक्न सक्ने युवाहरु अब अगाडि आउनुपर्छ ।

एमालेभित्रका त्यस्ता युवाहरुको नाम लिनुपर्दा कसलाई लिन सकिन्छ ?

यसरी अहिले नै नाम लिइहाल्नु हुँदैन । मिडियाले आफैं देखेर प्रोत्साहित गर्‍यो भने अलग कुरा, म त अहिले पार्टीको अध्यक्ष हुँ नि । मूल्यांकन कर्ताले नै झ्याप् झ्याप् नाम लिन थाल्यो भने यसले राम्रो पनि गर्छ, नराम्रो पनि गर्छ ।

 आगामी महाधिवेशन विचारमा नभएर नेतृत्वमा मात्रै केन्द्रित हुने एमाओवादीको हेटौंडा महाधिवेशनजस्तो बन्ने खतरा कत्तिको देख्नुहुन्छ ?

म त विचारमा जोड दिने मान्छे हो । पार्टीको दस्तावेज निर्माण गर्ने मस्यौदा कमिटीको अध्यक्ष मै भएको हुनाले म यी चिजहरुलाई पर्गेल्छु । जति सैद्धान्तिक मतहरु प्रकट हुन्छन्, प्रवृत्तिहरु प्रकट हुन्छन्, यी कुराहरुको ‘एनालाइसिस’ गरिन्छ । यसक्रममा हामी एउटा मतेक्यमा पुग्छौं । यो मतेक्यले एउटा वैचारिक धरातल निर्माण गर्छ, जुन धरातलमा उभिएर पार्टीको नवौं महाधिवेशन एकताको महाधिवेशन बन्छ ।

वैचारिक कुरा गर्दा एमालेमा ओली र वामदेवीच गठबन्धन भए पनि नेपाली समाजको विश्लेषण गर्ने विषयमा उहाँहरुवीच विवाद भन्ने सुनिन्छ नि ?

मैले नवौं महाधिवेशनको घोषणा गरेपछि पत्रकार सम्मेलन गरेर मैले भनेको छु, अब पार्टीमा विचारको बहस खुल्ला छ । खुल्लारुपले विचार प्रस्तुत गर्न सकिन्छ, पाइन्छ ।

आठौं महाविशेनले पारित गरेको कार्यदिशाका आधारमा हामी अगाडि बढिराखेका छौं । त्यो कार्यदिशा वा नीति र सिद्धान्तका कुनै अधुरा कुरा छन् ? कुनै अपूरा कुरा छन् ? अथवा त्यसमा कुनै नकारात्मक पक्ष छ ? कुनै नयाँ कुरा जोड्नुपर्ने छ ? नेपाली समाजको विश्लेषणको सन्दर्भमा भन्नोस् या अन्तररतष्ट्रिय परिस्थितिको विश्लेषणको सन्दर्भमा भन्नोस् कुनै पनि विषयमा त्यस्तो परिवर्तनको जरुरत छ भने अब बहस खुल्ला भयो । यो बसह खुल्ला भइसकेपछि पार्टी नेता, कार्यकर्ताहरुले आफ्ना विचारहरु राख्ने क्रममा कस्ता कस्ता टे्रन्डहरु आउँछन्, हामी हेछौर्ं र ती ट्रेन्डहरुका बारेमा बहस, छलफल गर्छौं । यसका साथै हामी यतिबेला डकुमेन्टहरु ड्राफ्ट गर्ने प्रक्रियामा पनि छौं । यो बेलामा पनि हामी यी चिजहरुलाई ध्यानमा राख्छौं ।

नेपाली समाज ठिङ्ग उभिएर त बस्दैन नि । समाज भनेको गतिशील छ, परिवर्तनशील छ । ००७ सालमा पार्टी स्थापना गर्दा जस्तो अवस्था थियो, आज त्यो छैन । आठौं महाधिवेशन गरिरहँदा नेपाली समाजको जुन स्थिति थियो, अहिले त्यस्तो छैन, परिवर्तन भइरहेको छ । यो परिवर्तनलाई हामीले ठीक ढंगले टेक्नै पर्छ । नेपाली क्रान्ति सुरुवात भएर अहिले कुन विन्दुमा आइपुग्यो ? यो हामीले ठ्याक्क ठोकेर विश्लेषण गर्न सक्नुपर्छ । र, आगामी दिनमा हामी कता जान्छौं ? के काम गर्दै हामी क्रान्तिलाई सफल बनाउछौं ? यो कुरामा हामीले छलफल, व्याख्या, विश्लेषण र संश्लेषण हामीले दिनुपर्छ । तबमात्रै नवौं महाधिवेशन सफल हुन्छ ।

अरुण बराल/ राजकुमार श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्: