अत्यधिक भारले सिद्दार्थ राजमार्ग क्षतविक्षत

पाल्पा । अत्यधिक बढी भार बोक्ने सवारी साधनले सिद्दार्थ राजमार्ग क्षतविक्षत बनेको छ । पाल्पा जिल्लाको मस्याम, दोभान, कचल लगायतका गाविसबाट रुपन्देही र नवलपरासीका विभिन्न स्थानमा चुनढुंगा निकासी गर्दा प्रयोग हुने बढी भारवहन क्षमताका सवारीसाधनले राजमार्ग भत्केको स्थानीयले दाबी गर्छन् । 
ढाला थपेका र १० चक्के ट्रिपरले ३० टनसम्म चुनढुंगा लैजादा राजमार्ग भासिने र भत्किएको छ । राइस मिल र केही व्यापारीले १० चक्के ट्रक प्रयोग गर्दा सिद्दार्थ राजमार्गको मस्याम हिउदेखोलादेखि वुटवल चिडियाखोलासम्मको सडक छिया छिया बनेको स्थानीयले बताए । यस सडकको भारवहन क्षमता १८ टन मात्र हो । सडक डिभिजनले वर्षेनी पिसीसी र आरसीसी गरेर स्तरोन्नती गरेको सडक त्यस्ता बढी भार हुने ट्रिपर र ट्रकका कारण टिकाउ हुन सकेको छैन । राजमार्गको झण्डै ८ किलोमिटर क्ष्ँेत्र कच्ची सडक जस्तै बनेको छ । धुलो र हिलोले मोटरसाइकल तथा साना सवारी साधन मर्कामा परेका छन् । चुनढंगा निकासी गर्ने अत्यधिक भार भएका ट्रकका कारण निर्माण कार्य पुरा नहुंदै सडक भत्किन थाल्दा डिभिजन सडक कार्यालयले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
चुरे क्षेत्रमा रहेका चारवटा चुनढुंढा खानीवाट रुपन्देही र नवलपरासीमा रहेका सिमेन्ट उद्योगमा कच्चा सामग्री निर्यात गर्न यही राजमार्ग प्रयोग हुन्छ । कचल, मस्याममा एक÷एक र दोभानमा दुई चुनढुंगा उद्योग छन् । तीन खानीबाट दैनिक ३ सय भन्दा बढी ट्रिपरले चुनढुंगा निकासी गर्ने दोभान प्रहरी चौकी प्रमुख धीरेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार १० चक्के ट्रकसमेत यही बाटोमा हिड्दा भार खेप्न नसकेर बाटो भासिएको छ । चौकी अगाडि सडक दाबिएको देखेपछि उनलाई बल्ल यस विषयमा जानकारी भएको हो । यस क्षेत्रमा राजमार्ग बढी भार भएका ट्रिपर र ट्रकले छियाछिया बनेको छ । बढी भार बोक्ने र १० चक्के ट्रक आफ्नै आंखा अगाडी गुड्दा प्रहरीसमेत मुकदर्शक बनेको छ । स्थानीयका अनुसार ट्रिपरले ढालाभन्दा माथि वेल्डिङ् गरेर थप भार बोक्दासमेत कसैले वास्ता गरेको छैन । चुनढुंगा खानीबाट ओरालो बाटो भएकाले पनि कसैले पनि तोके वमोजिमको भार बोक्दैनन् ।
खाल्डाखुल्डीले गर्दा साना सवारी साधनलाई संचालनमा समस्या हुने गरेको दोभानका शिक्षक दलबहादुर गुरुङ्ले बताउनुभयो । उहाँका अनुसार क्षमता भन्दा बढी भार बोकेका ट्रकले बाटो बिगारेपनि कसैको ध्यान पुग्न सकेको छैन । ‘साना सवारीलाई ट्रिपरले सवारी नै गन्दैनन्’ उहाँले भन्नुभयो, ‘केही बोल्यो भने अपशव्द बोलेर आफैलाई लाजमर्दो बनाउने गर्छन् । चुपचाप सहेर हिड्नुपर्छ ।’ सडक डिभिजन कार्यालयका अनुसार यसरी बढी भारवहन क्षमता भएका सवारी नियमन गर्ने यातायात व्यवस्था विभाग र ट्राफिकको भएको बताउने गरेको छ ।
दोभानको राइस मिल र यस भेगका चुनढुंगा उद्योगका १० चक्के ट्रक र ट्रिपर दोभान क्षेत्रमा आउने गर्छ । १७ टन भारवहन क्षमता र स्वीकृति भएको राजमार्गमा ३० टनसम्म बोकेर गुड्ने गर्छन् । अहिलेसम्म कसैले पनि ती ट्रक र ट्रिपरलाई कारबाही नगरेकाले खुलेआम चलेको उनले बताउनुभयो । स्थानीय स्वायत्त शासन ऐनले भने सडक भत्काउने सवारी साधनको रोड परमिट खारेज गर्ने र ट्रक जफत गर्नेसम्मको अधिकार जिल्ला विकास समितिलाई दिएको छ । डिभिजन सडक कार्यालय न. ३ का इन्जिनियर केशव ओझाले चुनढुंगा लैजाने ट्रिपरले हैरानी नै बनाएको बताउनुभयो । उहाँले पटक पटक यस विषयमा सरोकारवाला निकायमा कुरा भएपनि सुनुवाई नभएको बताउनुभयो । ‘नियमन गर्ने यातायात व्यवस्था कार्यालय हो’ उहाँले भन्नुभयो, ‘नियन्त्रण गर्ने धर्मकांटा राख्नुपर्छ । यातायात व्यवस्था विभाग र टाफिकले नियमन गर्नुपर्ने हो ।’ उनले ढालाभन्दा माथि जोडेर वेल्डिङ् गरेरसमेत चुनढुंगा बोकिराखेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: