संसदमा मुल्य बृद्धिको बिरोध

काठमाडौँ । आयल निगमले शुक्रबार गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिबारे सभासदहरुले व्यवस्थापिका संसदको बैठकमा विरोध गरेका छन् । मंगलवार बसेको संसद बैठकमा समय माग गरी बोल्ने अधिकांश सभासदहरुले मूल्यवृद्धिको विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

संसद बैठकमा सरकारको नेतृत्व गरेकै दल कांग्रेसका नेता अर्जुननरसिंह केसीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । केसीले जनताको ढाँड नै सेक्ने गरी गरिएको मूल्य बृद्धि तत्काल फिर्ता लिएर जनतालाई राह्रत दिने खालका कार्यक्रम ल्याउन माग गरे ।

मूल्यवृद्धि फिर्ता नभएसम्म संसद स्थगित गरौँ महरा

संसद बैठकमा समय माग गरी प्रमुख प्रतिपक्ष दल एमाओवादीका सभासद कृष्णबहादुर महराले सरकारले पेट्रोलिय पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिबारेमा संसदमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा रामशरण महतले दिनासाथ बोलेका नेता महराले सरकारको जवाफ चित्तबुझ्दो नभएको र केबल टालटुले भएको प्रतिक्रिया दिए ।

उनले भने,’अर्थमन्त्रीको जवाफले समस्या सुल्झाउने होइन झन समस्या बल्झाउने काम गरेको छ । त्यसैले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्छ ।’ महराले गरिव जनताको ढाँड नै सक्ने गरी भएको मूल्यवृद्धि फिर्ता नलिएसम्म संसदको काम कारबाही अगाडि नबढाउन सभामुखसँग माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्: