जनकपुर विस्फोटको ‘मुख्य योजनाकार’ सभासद साह

जनकपुर-पाँचजनाको ज्यान जानेगरी दुई वर्षअघि भएको जनकपुर बम विस्फोटमा संलग्न आशंकामा प्रहरीले धनुषा ४ का सभासद सञ्जयकुमार साहलाई खोजी गरिरहेको छ।
सद्भावना पार्टीका उपाध्यक्षसमेत रहेका पूर्वराज्यमन्त्री साहले घटनामा मुख्य योजनाकारको भूमिका निर्वाह गरेको पर्याप्त आधार भेटिएकाले उनलाई पक्राउ गर्न खोजी सुरु गरिएको धनुषा प्रहरी प्रमुख एसपी उत्तमराज सुवेदीले बताए। उनका अनुसार सोमबार रातिसम्म साहलाई पक्राउ गर्न सकिएको छैन।
‘जनकपुर बम विस्फोटमा सञ्जय साहको संलग्नताबारे पर्याप्त आधार भेटिएकाले उनलाई पक्राउ गरी जिल्लामा बुझाउन आइतबार साँ
झ नै हामीले काठमाडौं प्रहरीलाई लिखित अनुरोध गरिसकेका छौं,’ सुवेदीले सोमबार नागरिकसँग भने, ‘अहिले (सोमबार राति १० बजे) सम्म फेला पार्न सकिएको छैन। खोजी जारी छ।’
स्रोतका अनुसार काठमाडौं प्रहरीको सहयोगमा धनुषाबाट आएको टोलीले साहको खोजी गरिरहेको छ।
यही घटनामा संलग्न भन्दै दुई साताअघि पक्राउ परेका मुकेश चौधरीको बयानका आधारमा गत शुक्रबार ओमप्रकाश यादवलाई पक्राउ गरिएको थियो। चौधरी र यादव दुवैको बयानका आधारमा साहलाई पक्रन खोजी भइरहेको सुवेदीले बताए। यसबाहेक घटनाका बेला साह र मुकेशबीच भएको टेलिफोन संवादको क्यासेटलगायत अन्य दुई–तीनवटा आधार पनि फेला परेको सुवेदीको दाबी छ।
स्रोतका अनुसार बम विस्फोट गराउन ‘सञ्जय साहले आफूमार्फत मुकेश चौधरीलाई दिन ८ लाख रुपैयाँ पठाएको’ भनी ओमप्रकाशले बयान दिएका छन्।
सद्भावना पार्टीका उपाध्यक्षसमेत रहेका साह आफ्नो पार्टीबाट प्रत्यक्षतर्फ चुनाव जित्ने एक्ला सभासद हुन्। चौधरी र यादवको बयानका क्रममा नाम मुछिएदेखि साह आफ्नो परिवार र पार्टीको सम्पर्कमा नरहेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले बताए।
‘फागुन ३० गते पार्टी बैठकमा उहाँले आफू निर्दोष भएको बताउनुभएको थियो,’ सुमनले नागरिकसँग भने, ‘उहाँले आफूलाई विस्फोट घटनामा फसाउन खोजिएको भन्दै यसमा पार्टीको सहयोगको अपेक्षा राख्नुभएको थियो।’
संसद सचिवालय स्रोतले पनि यादवलाई प्रहरीले खोजी गरिरहे पनि पक्राउ गर्न नसकेको बतायो। ‘पक्राउ गरेको भए सभामुखलाई औपचारिक जानकारी आउँथ्यो,’ सभामुख निकट स्रोतले भन्यो, ‘अहिलेसम्म सभामुखलाई यो विषयमा कुनै जानकारी आएको छैन।’
मिथिला राज्य स्थापनाको माग गर्दै जनकपुरमा भइरहेको चरणबद्ध आन्दोलन क्रममा २०६९ वैशाख १८ गते आन्दोलनकारीहरूले रामानन्द चोकमा शान्तिपूर्ण धर्ना दिइरहेका बेला बिहान सवा १० बजे धर्नास्थलमै शक्तिशाली बम विस्फोट भएको थियो। विस्फोटमा मिथिला नाट्यकला परिषद (मिनाप) की कलाकार रञ्जु झा, जनकपुर–८ का सन्त विमलशरण दास, जनकपुर–८ कै व्यवसायी सुरेश उपाध्याय र नगरमा माइकिङको काम गरेर जीविकोपार्जन गर्ने जनकपुर–१० का झगरु मण्डलको घटनास्थलमै मृत्यु भएको थियो। बमको छर्रा लागेर गम्भीर घाइते भएका बेंगाशिवपुर–२ का जितेन्द्र दासको उपचार क्रममा पछि मृत्यु भयो।
घटनालगत्तै प्रहरी प्रधान कार्यालयबाट अनुसन्धानका लागि तीन सदस्यीय प्राविधिकसहितको टोली जनकपुर पुगेको थियो। त्यही दिन शिवम् भन्ने सप्तरी विषहरिया–८ का जयप्रकाश चौधरीलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गर्योन। पछि, महोत्तरी मडई–६ का रिपेन्द्र झा, धनुषा भुतही–७ का मुकेश कर्ण र सपही–१ का सुरेश कर्णलाई पनि पक्राउ गरियो। चारैजना अहिले पुर्पक्षका लागि जलेश्वर कारागारमा छन्।
अपराध अनुसन्धान ब्युरोका तत्कालीन प्रमुख उपेन्द्रकान्त अर्यालले जनकपुर अञ्चल प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेका थिए। प्रहरी नायब उपरीक्षक भुपेन्द्रबहादुर खत्री नेतृत्वको टोलीले ‘अप्रेसन रामा’ नामबाट अनुसन्धान सुरु गरी ती चारजनालाई घटनामा संलग्न अभियोग लगाएको थियो।खत्रीको अनुसन्धान प्रतिवेदनअनुसार मुकेश चौधरीको निर्देशनमा सुरेश कर्णले जयप्रकाश चौधरीलाई बम उपलब्ध गराएको र जयप्रकाशले बम विस्फोट गराएका थिए। घटनाको दिन मुकेश र जयप्रकाशबीच पटक–पटक टेलिफोन र एसएमएस संवाद भएको खुलासा भइसकेको छ। अर्यालले ती चारजनालाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेयता अन्य कुनै नयाँ तथ्य खुलासा भएको थिएन।
घटनाको करिब एक वर्षपछि तराई टेलिभिजनमा मुकेश चौधरी र तत्कालीन सभासद तथा भौतिक योजना राज्यमन्त्री सञ्जय साहबीच उक्त बम विस्फोटबारे टेलिफोन संवाद भएको क्यासेट प्रसारण भएको थियो। उक्त क्यासेटको आवाज सञ्जयले बोलेजस्तो सुनिएको र उनैमाथि संकेत गरिए पनि साहको नाम किटानी गरिएको थिएन।
त्यसको महिना दिन नबित्दै त्यसबेला साहकै नेतृत्वमा रहेको मधेस क्रान्ति फोरमले बम विस्फोट बेला मुकेश चौधरीको मोबाइलबाट आउजाउ भएका टेलिफोन नम्बरहरूको कल डिटेल्स प्रमाणित गराई जिल्ला प्रशासन र प्रहरीमा बुझाएर पत्रकार सम्मेलनमार्फत उक्त आधारमा दोषी पत्ता लगाउन माग गरेको थियो। उक्त कल डिटेल्सका आधारमा मुकेशले बम विस्फोटका बेला एसएमएसमार्फत जनकपुरका होटल व्यवसायी जीवनाथ चौधरीलाई भिडबाट निस्कन आग्रह गरेको, सोही अवधिमा सातपटक टेलिफोनमार्फत दोहोरो संवाद भएको सार्वजनिक भएको थियो।चौधरीको बयानका आधारमा गत शुक्रबार पक्राउ परेका ओमप्रकाश गएको संविधानसभा चुनावभन्दा १५ दिन अघिसम्म साहले जनकपुर चोकमा सञ्चालन गरेको मिथिला फाइनान्स कम्पनीको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका थिए। चुनावभन्दा १५ दिनअघि उनी जीवनाथको समूहमा प्रवेश गरे।
जीवनाथ धनुषा जिल्ला विकास समितिका निलम्बित लेखापाल हुन्। बाबुराम भट्टराई सरकारमा रहेका बेला तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री रामकाजी श्रेष्ठले जिविसको आन्तरिक भ्रष्टाचारबारे स्थलगत अनुगमन गरेपछि अख्तियारमा गएको मुद्दामा जीवनाथसमेत जिविसका १८ जना कर्मचारी निलम्बित भएका थिए। विशेष अदालतमा तारेख धाइरहेका उनीहरू हालसम्म निलम्बनमै छन्।
स्रोतका अनुसार पछिल्लो संविधानसभा चुनावमा साह उम्मेदवार थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामसरोज यादवको पक्षमा चुनावी माहोल बनाउन जीवनाथले आर्थिक तथा भौतिक रूपले कडा मिहिनेत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्: