बेरोजगार युवालाई पाँच लाख दिने

५ चैत काठमाडौं । युवा स्वरोजगार कोषले बेरोजगार युवाहरुलाई विनाधितो पाँच लाख रुपैयाँ ऋण दिने गृहकार्य सुरु गरेको छ ।

युवाहरुबाट दुई लाख रुपैयाँ अत्यन्तै न्यून भएको भन्ने गुनासो आएपछि बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने तयारी गरिएको हो ।

कर्जाको सीमा बढाउने सम्बन्धमा कोषले सरकारसँग बजेट माग्ने योजना बनाएको छ । ‘दुई लाख रुपैयाँ कम भएको भन्ने युवाहरुको गुनासो छ, त्यसको समाधानका लागि आवश्यक स्रोत जुटाउने गृहकार्य गरिरहेका छौं’ कोषका कार्यकारी निर्देशक विनोद गुरागाईँले अनलाइनखबरसँग भने -’स्रोत जुट्ने अवस्था भयो भने सीमा बढाउन सकिन्छ, नत्र कार्यक्रम बढाउँछौं ।’

राष्ट्र बैंकसँग बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको एकतिहाइ युवा स्वरोजगार कोफामार्फत लगानी गर्ने वातावरण बनाउने विषयमा पनि छलफल भइरकेको गुरागाईले जानकारी दिए । कोषको प्रस्ताब अनुसार काम भए बैंकहरुले करिब १५/२० अर्ब रुपैयाँ कोषमार्फत लगानी हुने छ । ‘तर, अझै टुङ्गो भने लागिसकेको छैन’ उनले भने ।

गुरागाईँका अनुसार यो कार्यक्रम अन्तर्गत हालसम्म २० हजार ७ सय २० जनालाई २ अर्ब १८ करोड रुपैयाँ लगानी गरिएको छ । ६ सय २४ वटा सहकारीबाट १ करोड २३ लाख र २७ वटा बैंक तथा वित्तीय संस्थाबाट ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ ।

केहीदिन अघिको एक कार्यक्रममा पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि कोषले बेरोजगार युवामा लगानी गर्ने रकम बढाउनु पर्ने बताएका थिए । ‘हामीले कोषको अवधारणाको विकास गर्दा दुई लाख रुपैयाँले सानो पेसा व्यवसाय गर्न सकिन्थ्यो, अब त्यो संभव छैन’ पुनले भनेका थिए -’अब यसलाई बढाएर पाँच लाख रुपैयाँ बनाउँदा हुन्छ ।’

तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो बेरोजगारी समस्याको समाधान गर्ने उद्देश्यले युवा स्वरोजगार कार्यक्रमको सुरुवात गरेका हुन ।

तर, कोषमा एमाओवादी निकट कर्मचारी नियुक्ति गरिएको, माओवादी नेताका सहकारी संस्थालाई जथाभावी कर्जा दिइएको र उक्त कर्जा नउठेको भन्दै व्यापक आलोचना हुादै आएको छ । एमाओवादीको विल्ला भिरेको कोषलाई कांग्रेसका अर्थमन्त्रीले सहयोग गर्छन भन्ने विश्वास गर्न भने सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्: