अन्तिम बलमा जिम्बावेको जित

ढाका, (एजेन्सी) बुधबार जिम्बावेले सिल्हेटमा नेदरल्यान्डस्लाई अन्तिम बलमा हराएर विश्वकप ट्वेन्टी–ट्वेन्टीमा आशा जीवित बनाएको छ। समूह ‘बी’ अन्तर्गत यो जिम्बावेको दोस्रो खेल थियो, जुन अन्तिम बलमा नतिजा छिनोफानो भयो। सोमबार आयरल्यान्डसँग अन्तिम बलमा हारेको जिम्बावेका लागि यसपटक भने अन्तिम बल सुखद बन्यो। नेदरल्यान्डस्ले छोडेको १ सय ४१ रनको लक्ष्य जिम्बावेले ५ विकेट गुमाएर हासिल गरेको थियो। यो जितसँगै नेदरल्यान्डस् र जिम्बावेले दुई खेलमा एक–एक जित हात पारेका छन्। पहिलो खेलमा नेदरल्यान्डस्ले यूएईलाई ६ विकेटले हराएको थियो।

जिम्बावेका कप्तान ब्रेन्डन टेलरले १ सय ८० रनसम्म पुग्ने पिच भएको बताएका थिए। तर लक्ष्य त्योभन्दा कम भए पनि टेलरका खेलाडीले संघर्ष गर्नुपरेको थियो। हुन त ठोस् शुरूआत भएको थियो, झण्डै अन्तिममा आएर खेल हार्ने स्थितिमा पुगेको थियो। अन्तिम ओभरमा ६ विकेट हातमा भएको जिम्बावेका लागि जित्न ७ रन नै आवश्यक थियो। अहसान मालिकले पहिलो बल डट फ्याले। तर सिन विलियम्सले उनको दोस्रो बललाई बाउन्ड्री कटाएर तेस्रो बलमा दुई रन जोडे। जित हात पार्न केबल एक रन मात्र चाहिएको थियो। मालिकले चौथो बलमा रन दिएनन् भने विलियम्स पाँचौ बलमा एक रन लिन खोज्दा रन आउटको शिकार भए। खेल रोचकतातिर अग्रसर हुनुका साथै टाई भएको स्थितिमा सम्भावना सुपर ओभरबाट छिनोफानो हुने।

मालिकले अन्तिम बलमा नियन्त्रण लिन नसक्दा नयाँ ब्याटसम्यान भुसी सिबान्दाले लङ अनमा छक्का प्रहार गरेर जिम्बावेको जित पक्का गरेका थिए। जिम्बावेका लागि सानदार ब्याटिङ गरेका कप्तान टेलर म्यान अफ द म्याच घोषित भए। आयरल्यान्डविरुद्ध पनि सर्वाधिक योगदान दिएका टेलरले ४९ रन जोडेका थिए। त्यस्तै हामिल्टन मसाकाड्जाले ४३ रन बटुलेका थिए। यसअघि डच टोलीका लागि ३५ रनमा शीर्ष चार जना ब्याटसम्यान आउट हुँदा कुपर दाजुभाइले इनिङ सम्हालेका थिए। टम र बेनले पाँचौ विकेटको लागि ५२ रनको साझेदारी गरेका थिए। टमले अविजित ७२ रन जोड्दा बेन २० रनमा पवेलियन फर्केका थिए।

Source : newsofnepal.com

प्रतिक्रिया दिनुहोस्: