इन्जिनियरहरू स्वरोजगार हुनुपर्छ – धु्रवराज थापा

देशभित्र र देशबाहिर रहेका करिब १५ हजार इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३०औं कार्यकारिणी परिषद्को निर्वाचन आगामी फागुन २८ गते हुँदै छ। १५ पदका लागि विभिन्न पाँचवटा समूहले उम्मेदवारी दर्ता गरेको छ। यसै सन्दर्भमा लोकतान्त्रिक समूहको नेतृत्व गर्नुभएका अध्यक्ष पदका प्रत्यासी धु्रवराज थापासँग निर्वाचनका विषयमा नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठले गरेको कुराकानी।

नेपाल इन्जिनियर्स एसोसिएसनको आगामी कार्यकालका निम्ति अध्यक्ष पदको प्रत्यासी उम्मेदवार हुनुहुन्छ, तपाईंको प्यानलका एजेन्डाहरू के छन् त ?
‘समृद्ध नेपालका लागि इन्जिनियरहरूको सशक्तिकरण’ भन्ने मुख्य नारा लिएर हाम्रो समूह निर्वाचनमा उत्रिएको छ। राजनीतिक स्थायित्वपछि शान्ति कायम हुन्छ, त्यसपछि आर्थिक विकास हुन्छ भन्ने मान्यता रहँदै आएको छ। तर, हामी त्योभन्दा अलि फरक ढंगले सोचेका छौं। पहिला पूर्वाधार विकास हुनुपर्छ, त्यससँगै आर्थिक विकास र शान्ति कायम पनि हुने भएकाले राजनीतिक स्थायित्व पनि हुँदै जान्छ। यसका निम्ति सक्षम र सबल इन्जिनियरहरूको आवश्यकता पर्छ जबसम्म सक्षम र सबल इन्जिनियरहरू कार्य क्षेत्रमा खटिँदैनन् तबसम्म विकासको गति अगाडि बढाउन सकिँदैन। तसर्थ इन्जिनियरहरूको क्षमता विकास गर्नु नै हाम्रो मुल लक्ष्य हो। साथै पेसागत हकहित र मर्यादालाई कायम गर्दै समग्र राष्ट्र निर्माणमा इन्जिनियरहरूको भूमिकालाई महत्त्वपूर्ण रूपमा स्थापित गर्नेतर्फ हाम्रो जोड रहने छ।

यो सैद्धान्तिक कुरा भयो। व्यवाहरिकमा जाँदा पेसागत रूपमा उठाइएका मुद्दा र सदस्यहरूले प्रत्यक्ष रूपमा प्राप्त गर्न सक्ने फाइदाका विषयमा पनि एजेन्डा होलान नि ?
अवश्य पनि छन्। उल्लिखित विषय हाम्रो मुल मुद्दा हो। यसअन्तर्गत रहेर पेसागत हकहित गुर्नका साथै पेसाकर्मीको वृत्ति विकास गर्ने उद्देश्य हुन्छन्। त्यसका निम्ति हाम्रो समूहले ११ बुँदे नीति तथा कार्यक्रम तय गरीे दुई वर्षे कार्यकालभित्र पूरा गर्छौ भन्ने प्रतिबद्धता गरेको छ। यसमा समावेश गरिएका केही महत्त्वपूर्ण विषयमाथि चर्चा गर्न चाहन्छु। जस्तै, इन्जिनियरिङ सेवा ऐन रहेको छ। जसरी निजामती सेवा ऐन छ त्यसरी नै इन्जिनियरिङ सेवा ऐनको आवश्यकता छ। ठूलो संख्यामा इन्जिनियरहरू सरकारी तथा निजी क्षेत्रमा कार्यरत रहेका छन् उनीहरूलाई समेट्नका निम्ति ऐन चाहिन्छ भनेर हामी उठाएका छौं। अर्को कुरा युवा इन्जिनियरहरूको व्यवस्थापन निक्कै चुनौतीपूर्ण हुँदै गएको छ।

वार्षिक ४–५ हजारको संख्यामा इन्जिनियरहरू उत्पादन हुँदै आएका छन्। तीमध्ये आधाभन्दा बढी रोजगारकिा निम्ति विदेशिनु परेको छ। त्यसैले हामीले ‘इन्टरप्रेनरसिप र विजनेस मोटिभेसन ट्रेनिङ’ लाई बढी जोड दिएका छौं। इन्जिनियरहरू काम खोज्दै जाने होइन कामले इन्जिनियरलाई खोज्दै आउनुपर्छ। साथै स्वरोजगारका निम्ति पनि हामीले कार्यक्रम बनाउँदै छौ। त्यसलाई एउटा इन्जिनियरहरू आफ्नो डिग्रीको सर्टिफिकेट धरौटी राखेर बैंकबाट निश्चित रकम निकालेर आफ्नै पेसा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्न विभिन्न बैंकहरूसँग समन्वय गर्ने योजना बनाएका छौं।उदाहरणका निम्ति मेकानिकल इन्जिनियरिङ पढेको व्यक्तिले ऋण पाएको अवस्थामा तत्कालै अटो वर्कसप सञ्चालन गर्न सक्छ।

त्यस्तै हामीले उठाएका एजेन्डामा इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने हो। जो म अघिल्लो कार्यकालमा महासचिव भएको बेला जोडदारका रूपमा उठाएका थियौं। त्यसलाई पाँच वर्ष अघि नै सरकारले स्वीकार गरेको थियो। तर, सरकारको मात्रै भर परेर बस्ने अवस्था रहेन अब एसोसिएसन आफैं अगाडि बढ्नपर्छ। हामी विजयी भएर गएको अवस्थामा एक वर्षभित्रै एसोसिएसनको भवनबाटै स्टाप कलेज सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं। यसका साथसाथै केही निश्चित विषयमा उच्चस्तरका अध्ययन केन्द्र स्थापना गर्ने, एसोसिएसनलाई ‘डिजिटाइज’ गर्ने योजना छ। १५ हजारभन्दा बढी इन्जिनियरहरूको छाता संगठनमा एउटा सदस्यता नवीकरण गर्न पनि कार्यालयमा नै धाउनुपर्ने बाध्यता छ। अबको सूचना प्रविधिको युगमा हामीजस्ता प्राविधिकहरूले त्यसलाई आत्मसात गर्नुपर्छ। सबै इन्जिनियरहरूको प्रोफाइल तयार गर्ने लगायतका कार्यक्रमहरू हामीले ल्याएका छौं।

राज्यको ठूलो लगानी विकास निर्माणका काममा प्राविधिकको संलग्नताबिना नै खर्च हुँदै आएको छ, त्यसलाई व्यवस्थित र वैज्ञानिक ढंगले सञ्चालन गर्नका निम्ति इन्जिनियरहरूलाई संलग्न गराउनुपर्छ भन्ने आवाज अगाडिदेखि उठ्दै आएको थियो। अब तपाईंको समूहले इन्जिनियरलाई रोजगारी सिर्जना गर्ने र राज्यको लागनीको उचित प्रयोग गराउने विषयमा के कार्यक्रम बनाएको छ ?
यो निक्कै महत्त्वपूर्ण विषय हो। विशेषगरी स्थानीय विकास मन्त्रालयअन्तर्गतको बजेट अवैज्ञानिक तरिकाले खर्च हुँदै आएको छ। त्यसले हामी ग्रामीण विकास मन्त्रालयको गठन हुनुपर्ने आवश्यकता देखेका छौं। गाउँ–गाउँमा विकास निर्माणका लागि खर्च भएको रकम ‘बालुवामा पानी’ जस्तै भएको छ। गाविसको सचिव, स्काभेटरको ड्राइभर र केही दलका प्रतिनिधिहरूको तजबिजीमा अर्बौ रुपियाँ खर्च भइरहेको छ। विकास निर्माणका कार्यक्रमलाई व्यवस्थित रूपमा इन्जिनियरको सहभागितामा गरिनुपर्छ। त्यसका लागि प्रत्येक गाविसमा इन्जिनियर राख्ने व्यवस्था गर्नुपर्छ। भन्ने हाम्रो धारणा रहँदै आएको छ।

यहाँले अगाडि पनि भन्नुभयो ठूलो संख्यामा नेपाली इन्जिनियरहरू विदेश पलायन हुँदै आएको स्थिति छ। स्वदेशमा नै उनीहरूलाई रोजगारी सिर्जना गर्ने विषयमा कुनै ठोस कार्यक्रम ल्याउनु भएको छ ? 
त्यसका निम्ति मैले अघि नै भने इन्जिनियरले काम खोज्ने होइन कामले इन्जिनियर खोज्ने वातावरण निर्माण गर्नुपर्छ। अर्को कुरा स्वरोजगार बन्ने विषयलाई जोडदार रूपमा अगाडि लैजानुपर्छ। अर्को कुरा प्रशासनिक क्षेत्रमा इन्जिनियरहरूको प्रवेश गराउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ। हाम्रो पहलमा नै शाखा अधिकृतको लोकसेवाको परीक्षामा इन्जिनियरले पनि जाँच दिन पाउने व्यवस्था गरिएको थियो। त्यो व्यवहारिक हुन सकिरहेको छैन।

लोकसेवाको परीक्षाका निम्ति विभिन्न ऐन कानुन र दस्तावेजलगायतका सैद्धान्तिक विषय पढ्न इन्जिनियरहरू अझै अभ्यस्त भइसकेका छैनन्। तसर्थ, अहिले एकैपटक उपसचिव, सहसचिव तहमा प्रवेश गर्न पाइने व्यवस्था छ। त्यसलाई सदुपयोग गर्न इन्जिनियरहरूलाई आवश्यक तालिम र अध्ययनको वातावरण सिर्जना गर्ने पक्षमा छौं। यस्तै प्रत्येक जिल्लामा २–४ जना कम्युटर इन्जिनियरको आवश्यकता देखिएको छ। सरकारी कार्यालयदेखि विद्यालयसम्म कम्प्युटर पुगेको छ। तर, सामान्य समस्या आएपछि थन्काएर राखिएको छ। राज्यको लगानीलाई सदुपयोग गर्नका निम्ति पनि कम्युटर इन्जिनियरको आवश्यकता देखिएको छ। त्यसका लागि जिल्ला शिक्षा कार्यालय वा अर्को कुनै निकायमा दरबन्दी खडा गर्नुपर्ने आवश्यकता छ त्यसअनुसारको हाम्रो पहल हुनेछ। यसका साथसाथै इन्जिनियरहरू वैदेशिक रोजगारीमा यथास्थितिमा नगएर उनीहरूलाई थप तालिम, ज्ञान र सीप प्रदान गर्न सकियो भने हाल खाइपाई आएको तलब तथा सेवा सुविधामा पनि वृद्धि हुन सक्छ भन्ने सोचका साथ हाम्रा कार्यक्रमहरू लक्षित छन्।

फरक प्रशंग, यहाँहरूको लोकतान्त्रिक समूहबीच नै फुट आएको हुँदा अर्को समूहले पनि उम्मेदारवारी दिएको छ। के बाहिर चर्चा भएजस्तै हो कि फरक ?
हामीबीच मतभिन्नताभन्दा पनि लोकतन्त्रको सुन्दरता नै विचारमा विविधता हो। केही साथीहरूलाई चित्त नबुझेकाले होला विगतमा हामीहरूसँग सहकार्य गरेका तथा हाम्रो समूहभन्दा बाहिरका साथीहरू मिलेर समूह खडा गरी उम्मेदवारी दिनुभएको छ।

आफूहरू बीचमा नै फुट आएको पृष्ठभूमिमा तपाईंको समूहले जित्न सक्ने आधार के छ ?
नेपाल इन्जिनियर एसोसिएसनको ५० वर्षको इतिहासमा हाम्रो लोकतान्त्रिक समूहले करिब ३५ वर्षदेखि निरन्तर काम गर्दै आएको छ। त्यो नै हाम्रो मुख्य आधार हो। हामीले विगतमा गरेका कामको मूल्याकंन साथीहरू गर्नुभएको छ। र, गर्नुहुन्छ भन्ने हाम्रो विश्वास हो। जमलको सानो कोठामा सीमित रहेको एसोसिएसनमा अहिले पाँचवटा समूह निर्वाचनमा उत्रिएको छ। हामी संस्थाप्रति आकर्षण बढाउन सफल भएका छौं। अर्को कुरा म आफू व्यक्तिगत रूपमा पनि विगत २२ वर्षदेखि नेपाल इन्जिनियर एसोसिएसनको विभिन्न गतिविधि र भूमिकामा सक्रिय हुँदै आएको छु। मेरो काम गर्ने कुल समयको २५ प्रतिशत समय अहिले पनि एसोसिएसनका गतिविधिमा दिँदै आएको छु। मेरो योगदान साथीहरूले राम्रोसँग बुझ्नु भएको छ। यसअघिको महासचिवको कार्यकालमा मेरो नेतृत्वमा भएका काम इन्जिनियरिङ सेवा आयोग, स्टाफ कलेजलगायतका महत्त्वपूर्ण काम भएका छन्। त्यसैले पनि कामको मूल्यांकनका आधारमा हाम्रो विजयप्रति म ढुक्क छु। साथसाथै मेरो नेतृत्वमा रहेको लोकतान्त्रिक समूहलाई हामीले निक्कै समावेशी ढंगबाट तयार गरेका छौं। जातजाती, लिंग र भूगोलमात्रै होइन इन्जिनियरिङ पेसाका पनि विभिन्न विधाहरू छन्, त्यसलाई समेटेर नयाँ र पुराना साथीहरूको समिश्रण गरी तयार गरेको हुनाले पनि हाम्रो समूह बलियो छ।

तपाईं आफ्नो विजयप्रति ढुक्क हुनुहुँदो रहेछ, के तपाईंहरूसँग असन्तुष्ट रहेको समूहलाई अब चुनावको मैदानमा नै भेट्ने हो कि, सहमति र सहकार्यका निम्ति वार्ताको ढोका पनि खुल्ला राख्नुभएको छ ?
सहमति र सहकार्यका निम्ति ढोका बन्द भएको छैन। हामीले हाम्रो तर्फबाट गर्न सक्ने पहल जारी छ, अन्तिम समयसम्म जारी रहन्छ। भोटिङको बेलासम्म हाम्रो कुरा मिल्नेमा हामी विश्वस्त छौं।

Source: newsofnepal.com

प्रतिक्रिया दिनुहोस्: