निरंकुशतालाई हाँक

पुरुषोत्तम बस्नेत

गिरिजाबाबुको स्वर्गारोहण भएको चार वर्ष पूरा भयो। उहाँ केही समय अरु जीवित रहेको भए देश यसरी दिशाहीन अवस्थामा, अन्योल र अस्थिरताको अवस्थामा रहने थिएन।
सम्भवतः केही वर्ष पहिले नै देशले नयाँ संविधान पाइसक्ने थियो। संविधानले निर्दिष्ट गरेको बाटोबाट हिँडेर मुलुक अहिले निकै अगाडि पुगिसक्ने थियो। झण्डै सात दशकको एउटा लामो अवधिसम्म गिरिजाबाबु राजनीतिमा निरन्तर सक्रिय रहनुभयो। यो अवधिमा उहाँले सधैँ ठूला–ठूला जोखिमका अगाडि आफूलाई उभ्याइरहनुपर्योर। जेल, निर्वासन र अरु अनेक संकट बेहोरिरहनु पर्योू। यी सबै केवल देश र जनताको हित र हकका लागि थिए। यसरी देश र जनतामा सतत् समर्पण गरेर आफ्नो लक्ष्यको पथमा उहाँ अनवरत् हिँडिरहनुभयो, हिँडिरहनुभयो। कहिल्यै विश्राम लिनुभएन।
भारतमा निर्वासित भएर रहँदामात्र होइन, देशभित्रै रहँदा पनि उहाँको हत्या गर्ने अनेक पटक नियोजित षड्यन्त्र भइरहे। अनेक पटक पेशेवर हत्याराहरुलाई पठाएर वनारस, पटना र फारवीसगञ्ज आदि ठाउँमा उहाँको हत्या गर्न खोजियो। देशभित्रै पनि कटारी र जितपुरमा उहाँमाथि सांघातिक आक्रमणहरु भए। २०४० को फागुन २० गते रुपन्देहीको सुरजपुरामा सम्पूर्ण तयारीका साथ उहाँको हत्या गर्ने योजना बनाइयो। तर एउटा संयोगले मात्र उहाँ बाँच्नुभयो। त्यसैमा यादवनाथ आलोकसमेत मारिनुभयो। २०६२/६३ को आन्दोलनमा पनि गिरिजाबाबुमाथि अत्यन्त बर्बर तवरले लाठी प्रहार गरियो। उहाँ गम्भीर घाइते हुनुभयो। यस्ता अनेक आक्रमण, षड्यन्त्र र हत्याका प्रयत्नलाई उहाँले सधैँ प्रत्येक क्षण बेहोरिरहनुपर्योन। पटक–पटक गरेर उहाँले १२ वर्षभन्दा बढी समय जेलमा बिताउनुपर्यो्। तर जेलको कठोर कष्ट र यातनासँग पनि उहाँले कहिल्यै सम्झौता गर्नुभएन। सरकारले अघि सारेको ‘शान्तिपूर्णरूपले बस्नेछु’ भन्ने कागजमा पनि उहाँले सही गर्नुभएन। जेलबाट कहिल्यै पनि उहाँ सामान्य परिस्थितिमा रिहा हुनुभएन। चुनौती र चेतावनीले सिर्जित असामान्य परिस्थितिमा उहाँको आफ्नो नैतिक बलमा, आफ्नो जीवनलाई उत्सर्गको छेउमा राखेरमात्र उहाँ रिहा हुनुभयो।
गिरिजाबाबुको नेतृत्वमा वि.सं. २००३ को फागुन २१ गते बिहानदेखि एकतन्त्रीय राणा शासनको विरोधमा विराटनगरमा मजदुर आन्दोलन सुरु भयो। नेपालको जनसंघर्षको इतिहासमा निरंकुश राणातन्त्रलाई हाँक दिएर खुलारूपमा जनताले गरेको यो पहिलो ऐतिहासिक आन्दोलन थियो। यसले नेपाली जनता अब अन्याय, अत्याचार, शोषण र दमन सहन गरेर बस्न तयार छैनन्, उनीहरु आफ्नो अधिकार प्राप्तिको संघर्षमा आफूलाई वलिवेदीमा राखेर साहस र संकल्पका साथ उठिसके भन्ने चेतावनी पनि दिएको थियो। वास्तवमा राणातन्त्रको अन्त्य र २००७ को जनक्रान्ति प्रारम्भको प्रस्थान बिन्दु यही मजदुर आन्दोलन थियो। यो आन्दोलनलाई सहयोग पुर्या्उन बी.पी. कोइराला र नेपाली कांग्रेसका अरु नेता पनि विराटनगर आउनुभयो। आन्दोलन प्रत्येक दिन अझ अरु सशक्त हुँदै अघि बढ्यो। आन्दोलनलाई कठोरतापूर्वक दमन गर्न राणाहरुले काठमाडौंबाट पठाएको सैनिक टोलीले चैत १२ गते बिहानै बी.पी. कोइरालालगायत गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ गर्योर। त्यसको विरोधमा मजदुरहरुले विशाल जुलुस प्रदर्शन गरे। सेनाले जुलुसमा निर्ममतापूर्वक गोली प्रहार गर्योर। मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए। अरु अनेकौं घाइते भए। आमा दिब्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीसमेत धेरैलाई पक्राउ गरियो।
बी.पी. र गिरिजाबाबुलगायत चैत १२ गते पक्राउ गरिएकाहरु ६ जनालाई पूर्वी पहाडैपहाड काठमाडौं ल्याएर, एक बेग्लै बन्दीगृहमा, बाहिरको सम्पर्कबाट सर्वथा अलग गरेर राखियो। स्वास्थ्य नाजुक हुँदै गएकाले २००४ को भदौमा बी.पी.लाई रिहा गरियो। तर अरुलाई ‘नियम–कानुन मानेर शान्तिपूर्वक बस्नेछु’ भन्ने कागजमा सही गरे रिहा गर्ने प्रस्ताव सरकारले दुई–तीनपटक ल्यायो। तर कसैले पनि त्यसमा सही गर्नुभएन। तीन वर्ष पुग्न लाग्दा २००६ को कात्तिक २१ देखि उहाँहरु पाँच जना गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीसमेत आमरण अनशनमा बस्नुभयो। अनशनको २४ औं दिनमा आइपुग्दा उहाँहरु सबै कुनै पनि बेला मृत्युमा विलीन हुने अवस्थामा पुगिसक्नुभएको थियो। त्यसैले बाध्य भएर २००६ को मंसिर १५ गते उहाँहरु सबैलाई रिहा गरियो। निरंकुशताको चरम अवस्थामा रहेको राणा शासनको अगाडि यसरी जीवनलाई कठोर बाजीमा राखेर त्यसलाई उहाँहरुको नैतिक बलले परास्त गरेको थियो।
रिहा भएर उहाँहरु बाहिर निस्कँदा परिस्थितिमा अनेक आरोह र अवरोह आइसकेका थिए। नेपाली राष्ट्रिय कांग्रेस अहिंसात्मक नीति परित्याग गरी सशस्त्र क्रान्ति गर्ने मनस्थितितिर प्रवृत्त भइरहेको थियो। त्यसैकारण नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरणको नजिक हुँदै गइरहेका थिए। अन्ततोगत्वा २००६ को चैत २७ गते यी दुई पार्टीको एकीकरणबाट ‘नेपाली कांग्रेस’ गठन भयो। नेपाली कांग्रेस तदारुकताका साथ क्रान्तिको सम्पूर्ण तयारीमा लाग्यो। हतियार संकलन गर्ने र जनमुक्ति सेनाको संख्या बढाउँदै लग्ने कार्य बी.पी. कोइराला र सुवर्णशमशेरको जिम्मामा थियो। विराटनगरलगायत पूर्वी नेपालको कतिपय जिल्लामा क्रान्ति सञ्चालनका हरेक गतिविधिमा गिरिजाबाबु सक्रिय भएर लाग्नुभएको थियो। विराटनगरका बडाहाकिमले त्यो थाहा पाए। २००७ असारमा उहाँलाई पक्राउ गरेर कडा निगरानीका साथ सेनाको ब्यारेकमा राखे। उहाँलाई रिहा गराउन नसके क्रान्तिलाई ठूलो धक्का पुग्थ्यो। त्यसैले यसका निमित्त धेरै प्रयत्न भए तर सम्भवचाहिँ भएन। अन्ततः गिरिजाबाबु आफैँले ब्यारेकबाट उम्कने एउटा योजना तयार पार्नुभयो तर त्यो अत्यन्त जोखिमपूर्ण चारैतिरबाट आउने गोलीको बीचबाट भाग्ने योजना थियो। स्वास्थ्य ठीक नभएकाले शौचालय गइरहनुपर्ने बहानामा उहाँले साँझ परेपछि ब्यारेकको छेउको खुला शौचालय जाने गरिरहनुभयो। केही दिनको यही क्रमपछि घरबाट पठाएको राति टाढाबाट अरुले देख्न नसक्ने खाकी रंगको गन्जी, त्यस्तै हापपाइन्ट र दौडन सजिलो हुने जुत्ता लगाएर, साउन महिनाको एक साँझ सधैं जस्तै हातमा सानो लठ्ठी लिएर उहाँ शौचालय जानुभयो। एउटा सिपाही राइफल लिएर उहाँको पछि लाग्यो। ब्यारेकभन्दा केही परको खाली भाग नै शौचालय थियो। त्यहाँ पुगेपछि सिपाहीलाई केही वर बस्न आग्रह गरेर उहाँ केही पर जानुभयो। एउटा सानो झाङमा छलिएर उहाँले विस्तारै लठ्ठी गाड्नुभयो। लगाएको सेतो कमिज विस्तारै उतारेर त्यो लठ्ठीमा झुण्डयाइदिनुभयो। अनि आफू ब्यारेकको घेरा तोडेर दौडनुभयो। केही बेरसम्म त्यो सेतो कमिजबाट केही हलचल नआएपछि सिपाहीले उहाँलाई बोलायो, नजिकै गयो। त्यहाँ लठ्ठीमाथि सेतो कमिजमात्र झुण्डिएको थियो। त्यसपछि ब्यारेकमा ठूलो हलचल भयो। फायरिङ गदर्ैै सेनाहरु चारैतिर दौडिए। कहिले पछिल्तिर र कहिले अघिल्तर, कहिले दायाँ र कहिले बायाँतिरबाट आइरहेको गोली छल्दै भोलिपल्ट बिहान उज्यालो हुन लाग्दा उहाँ जोगवनीछेउको एउटा गाउँमा पुग्नुभयो। ठूलो हाँक र त्यससितको ठूलो खतरा छिचोलेर यसरी उहाँ फेरि जेलबाट बाहिर आउनुभयो।
देशमा प्रजातन्त्र आएपछि पनि किसान वर्गले ठूलो दमन र चौतर्फी शोषण बेहोरिरहनुपरेको थियो। त्यसको विरोधमा किसानहरुको हक र हितको उचित माग राखेर गिरिजाबाबुको नेतृत्वमा २०१० को प्रारम्भसँगै किसान आन्दोलन सुरु भयो। सरकारले त्यसलाई कठोरताका साथ दमन गर्न खोज्यो। आन्दोलन अझ सशक्त भएर सम्पूर्ण पूर्वी तराईमा फैलियो। २०१० को असार १ गते गिरिजाप्रसाद कोइराला, केशवप्रसाद कोइराला र विश्ववन्धु थापासमेत १४ जनालाई पक्राउ गरेर विराटनगर जेलमा राखियो। जेल अत्यन्त साँघुरो र अस्वस्थकर थियो। पानी र अरु केहीको व्यवस्था थिएन। गिरिजाबाबुसमेत १४ जनाले जेल सुधार एवं किसान हितका माग राखेर साउन ८ गतेदेखि आमरण अनशन सुरु गर्नुभयो। त्यसबाट पूर्वी तराईमात्र होइन, सम्पूर्ण पूर्वाञ्चल आन्दोलित भएर उठ्यो। अन्ततः साउन १६ गते किसानका माग तुरुन्त पूरा गर्न सरकारले लिखित सहमति जनायो र गिरिजाबाबुसमेत पक्राउ गरिएका सबैलाई रिहा गर्योत। यो रिहाइ सरकारलाई फेरि झुक्न बाध्य पार्ने अर्को घटना थियो।
२०१७ साल पुस १ गते राजा महेन्द्रले सैन्य बलमा जनताका यावत अधिकार खोसेर देशलाई एउटा ठूलो कारगारमा परिणत गरे। पुस २ गते गिरिजाबाबुलाई काठमाडौंमा पक्राउ गरियो। त्यसको ६ वर्षपछि २०२३ साल कात्तिकमा मुद्दा नचलाई सुरक्षा कानुनअन्तर्गत राखिएका धेरै राजबन्दीलाई शान्तिपूर्ण तवरले बस्नेछु भन्ने कागजमा सही गराएर छाडियो तर गिरिजाबाबुले त्यो कागजमा सही गर्न अस्वीकार गर्नुभयो। त्यसैले उहाँको रिहाइ भएन। एक वर्षपछि २०२४ को मंसिर १८ देखि उहाँले आमरण अनशन प्रारम्भ गर्नुभयो। उहाँको स्वास्थ्य नाजुक हुँदै गयो। २३ औं दिन पुग्दा अनशन अरु लम्बिए जीवित रहन कठिन छ भन्ने चिकित्सकहरुको सल्लाह थियो तर उहाँले त्यसलाई सुन्नुभएन। उहाँ मृत्युको नितान्त छेवैमा पुगिसक्नुभएको थियो। त्यसैले २४ औं दिनमा पुस १२ गते उहाँलाई रिहा गरियो। आमा दिव्याको हातबाट जुस पिएर त्यसै दिन उहाँले अनशन भंग गर्नुभयो।
यसरी राणा र शाह दुवैको निरंकुशतालाई हाँक दिएर कहिल्यै पनि कुनै कागजमा सही नगरी जेलको अग्ला पर्खाल र सेनाको कडा घेरालाई चुनौती दिएर गिरिजाबाबु बाहिर आउनुभयो। उहाँका यी कदम साहस, स्वाभिमान र नेपाली जनसंघर्षको इतिहासमा महत्वपूर्ण अध्याय थिए।

Source : nagariknews.com

प्रतिक्रिया दिनुहोस्: