नेपालमा उपेक्षित छ प्रेम

शिवराज योगी

केही दिनअघिमात्रै ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइएको छ। प्रेमलाई बुझ्ने हरेकको आ–आफ्नै परिभाषा होला। तैपनि प्रेम अमूर्त हुन्छ। यो कुनै परिधि र आकारमा ढाल्न सकिँदैन। आफ्नो प्रेमलाई ‘उच्च कोटीको’ सावित गर्न केही अतुलनीय प्रयासहरू भएका छन्। यसको उदाहरण भारतको उत्तरप्रदेशमा रहेको आग्रास्थित ताज महल संसारभरमै प्रसिद्ध छ । तर, त्यस्तै कारिगरी, लगाव, मिहिनेत, शीप, शिल्प, भावनात्मक समर्पण र उद्देश्यले निर्मित पाल्पाको तानसेनस्थित रानीमहल भने नेपालकै कुना कन्दरामा परिचित हुन सकेको छैन ।

डिसेम्बरको अन्त्यतिर नेपालबाट आग्रा पुगेको हामी नेपाली पत्रकारहरूको टोली बाक्लो हुस्सु र कुहिरो चिर्दै विहान नौ बजे ताजमहलमा पाइला राख्न पुगेका थियौँ । संसारकै सातौँ आश्चर्यमा पर्ने ऐतिहासिक स्थल त्यो पनि ‘प्रेमको प्रतिक’ आँखैले देख्न र हातैले छुन पाउनु अवसर नै थियो । त्यो भन्दा अनौठो र ईर्ष्यालाग्दो विषय थियो त्यहाँ उर्लिएको मानव भेल ! हामीलाई मार्ग निर्देश गरिरहेका सनीले भने ‘यहाँ त सँधै यस्तै हो ।’ सनीले यस्तो भनिरहँदा पुलुक्क पाल्पाको रानीमहलको झझल्को आयो । अनि सँगै अनेकथरी प्रश्न मनमा खेलिरहे ।
विश्व धरोहर भनेर चिनिने ताजमहलको निर्माण मुगल सम्राट शाहजहाँले आफ्नी धर्मपत्नी मुमताज महलको सम्झनामा बनाएका थिए । सन १६१२ मा विवाह गरेकी मुमताजले शाहजहाँसँग जिन्दगीको साथ छोडेर गइन । त्यसैको सम्झनामा शाहजहाँले सन १६३१ मा सुरु गरेर २२ वर्षपछि सन १६५३ मा ताजमहल खडा गरेका थिए । यो कुरा ताजमहल प्रवेश गर्दा मूलद्वारमै ‘सिम्बोलिक’ रूपमा उल्लेख गरिएको छ । शाहजहाँले मुमताजको अवशान पछि दोस्रो विवाह नगर्ने र उनैको यादमा जिन्दगी गुजार्ने प्रण गरे अनुरूप संसारलाई ताजमहलजस्तो अनुपम कृति दिएका थिए । १६ वटा वगैचा मकबरा, मस्जिद सहितको ताजमहल परिसर अत्यत्तै कलात्मक छ । यसलाई मुगल वास्तुकलाको उत्कृष्ट नमूना भन्ने गरिन्छ ।
यसको वास्तु शैलीमा तुर्क, फारसी र इस्लामीको समिश्रण पाइने गरेको जानकारहरू बताउँछन् । मार्बल डिजाइनका सिद्धहस्त कालीगढ उस्ताद अहमद लाहोरीको नेतृत्वमा तीन देशका कालिगढले २० हजार मजदूरलाई २२ वर्षसम्म ताजमहलको निर्माणमा खटाएका थिए । निर्माणमा प्रयोग गरिएको सामग्री संगमरमर पत्थर राजस्थान, अन्य बहुमूल्य पत्थर तथा रत्न बगदाद, अफगानिस्तान, तिब्बत, इजिप्ट, रूस, ईरान आदि देशबाट ल्याइएको ताजहलको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक एसबी दोहरी जानकारी राख्छन् । यसलाई सन १९८३ मा विश्व धरोहर स्थलका रूपमा घोषणा गरियो ।
वर्षले कान्छो भए पनि पाल्पाको तानसेनमा रहेको रानीमहल निर्माणको उद्देश्य र तौरतरिका पनि ताजमहल निर्माणको भन्दा इन्ची फरक छैन । विक्रम संवत १९४५ तिर निर्वासित जीवनबाट पाल्पा बस्ने अनुमति पाएका खडक शमशेर पछि पाल्पा गौंडाका तैनाथवाला र पश्चिमतर्फका सैनिक कमाण्डर बने । उनलाई पाल्पा समेत भैरहवा, तौलिहवा, वाग्लुङ र पर्वतसम्मको अख्तियारी दिइयो । त्यही रहेका वेला सम्बत १९४९ मा उनकी रानी तेजकुमारीको पाल्मामै निधन भयो ।
अत्यन्त प्रिय पत्नीको निधनले मर्माहत भएका खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा पाटी, पौवा धारा र मन्दिर सहितको दरबार निर्माण गर्ने योजना बनाए । जुन बचन उनले रानी जिवितै छँदा दिएका थिए भनिन्छ । जानकारहरूले त आग्राको ताजमहल र रानीमहलको निर्माणको कारण उस्तै हो भन्ने गरेका छन् । खडक शमशेरले यो महल सम्बत १९५० मा सुरु गरेर १९५४ मा निर्माण सम्पन्न गराएको इतिहास छ । तानसेनबाट उत्तरपट्टि काली गण्डकी र बराङ्गदी खोलाको मिलनबिन्दुमा निर्मित रानीमहल प्रेमका दृष्टिले जति प्रसिद्ध छ धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । ताजमहलजस्तै सच्चा प्रेमको प्रतीक ठानिने रानी महल काली गण्डकी नदी तटमा बिशाल चट्टानमाथि पश्चिमी कला शैलीको अद्वितीय मूनाले सिंगारिएर जगधम्म बसेको छ । यसको महत्व राज्यले बुझि नदिनु  सम्पदाको उपहास नै भएको स्थानीयहरूको गुनासो निरन्तर सुनिने गर्छ । महलको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुन्दर खुड्किला तल नदीसम्म जोडिएका छन् । जुन बाटो भएर त्यहाँ पुग्ने पर्यटकले कञ्चन काली गण्डकीको पानीसंग साउती खेल्न सक्छन् ।
दिल्लीदेखि झण्डै २ सय किलोमिटरको दुरीमा रहेको आग्रा पुग्न आठ लेनको बाटोमा हुइँकिन पाइन्छ । ‘स्ट्रीट फुड’देखि पाँचतारे होटेलसम्मको स्वाद चाख्न पाइने सुविधा उपलब्ध छ । विडम्बना रानीमहल जाँदा नागवेली परेको डरलाग्दो र साँघुरो सडक अनि अव्यवस्थित आवास, भोजन पनि विकर्षणको कारण ठान्नुपर्छ । यति भनिरहँदा पनि हामी प्रणयदिवसको सेरोफेरोमै छौँ । आग्रामा रहेको प्रेमको प्रतिक ताजमहलले विश्वभरको प्रेम र समर्पण पाइरहँदा पाल्पामा रहेको त्यस्तै प्रेमको अर्को भौतिक नमुनाले यति ठूलो उपेक्षा र अनास्था पाउनु स्वभनीय होइन । आउँदा प्रेम दिवसहरूमा मुलुकभरका युवा मनहरू हातमा गुलाव बोकेर रानीमहलको छेउछाउमै प्रेम साँटिरहेका देखिउन, नेपाली पत्रकार टोली कुहिरो छिचोल्दै ताजमहल पुगेझैँ विश्व जगत रानीमहल पुग्ने दिनको कामना गरौँ ।
source : setopati.com
प्रतिक्रिया दिनुहोस्: