मृत्यु जोखिम घटाएकोमा नेपाल सम्मानित

काठमाडौं- नेपालमै उत्पादित सामान्य औषधिको प्रयोगबाट नवजात शिशुको मृत्यु जोखिमलाई २३ प्रतिशतले घटाउन सफल भएको भन्दै नेपाललाई अमेरिकी विकास नियोग (युएसएड) ले सम्मानित गरेको छ। करिब एक दशकदेखि विभिन्न जिल्ला र स्वास्थ्य संस्थामा गरिएका परीक्षणबाट नवजात मृत्युदरको जोखिम घटाउन सफल सावित भएपछि नियोगले ‘नवसिर्जन पुरस्कार’ सहित सम्मान गरेको हो।
नियोगका अन्तर्राष्ट्रिय प्रशासक राजीव शाहले नेपाल भ्रमणको अवसर पारेर मंगलबार स्वास्थ्य सचिव डा.प्रवीण मिश्रलाई सम्मान हस्तान्तरण गरे।
शाहका अनुसार नेपालको ‘क्लोरहेक्सिडाइन नाल हेरचाह’ कार्यक्रमसँगै संसारमा देखिएका विकास चुनौतीलाई सम्बोधन गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तनको उत्कृष्ट प्रयोग गरेका विश्वभरका अन्य ६ परियोजनाले पनि यो वर्ष नवसिर्जना पुरस्कार पाएका छन्।
नेपालले पहिलो पटक करिव १० वर्षअघि नाभीमा हुने संक्रमण रोक्ने विधिको खोजी स्वरुप सर्लाहीमा क्लोरहेक्सिडाइनको प्रयोग गरिएको थियो। त्यसको केही वर्षपछि सरकारले प्रसूतिगृहमा क्लोरहेक्सिडाइनको प्रयोग गरेका र नगरेका बच्चामा संक्रमणबारे तुलनात्मक अनुसन्धान गरेको थियो। नेपालमा जन्मिने बच्चाको दुईतिहाई घरमै जन्मिने भएको नवजात शिशु संक्रमण बालमृत्युको प्रमुख कारण हो।
अनुसन्धानले कम मूल्यको यस कीटाणुनाशक जेलको एकैपटकको प्रयोगले नवजात मृत्यु जोखिम २३ प्रतिशतले कमी ल्याएको तथ्य पत्ता लगाएको थियो। त्यसपछि नेपालले नेपालगन्जमा लोसन या जेल, कुन सहज हुन्छ भन्ने परीक्षण गरेको बाल स्वास्थ्य महाशाखा खोप शाखा प्रमुख डा.श्यामराज उप्रेतीले भने।
क्लोरहेक्सिडाइन जेल प्रभावकारी प्रमाणित भएपछि नेपाली कम्पनी लोमसले यसको उत्पादन र आपूर्ति सुरु गरेको थियो। हाल यो प्रविधि र औषधि अफ्रिकी देशहरूमा समेत निर्यात भइरहेको छ। केही दिनअघि अफ्रिकाका विभिन्न देशका प्रतिनिधि नेपालमा कार्यक्रम सञ्चालनको तरीका अवलोकनसमेत गर्न आएको डा.उप्रेतीले बताए। नेपालको नतिजाबाट प्रभावित भएर नाइजेरिया तथा मदागास्करले पनि आफ्नो कार्यक्रममा परीक्षण तथा विस्तार गर्न लागेका छन्। ‘यसको इभिडेन्स, पाइलटिङ र विस्तार सबै नेपालमै भएको हो,’ डा.उप्रेतीले भने, ‘रिसर्चका लागि सुरुदेखि नै युएसएडले नै सहयोग गरेको थियो।’
सस्तो मूल्यको यो औषधि बच्चामा हुने संक्रमण घटाउन प्रभावकारी हुने देखिएपछि नेपाल सरकारले पहिलोपटक सन् २०११ देखि समुदायमा आधारित नवजात शिशु कार्यक्रम प्याकेजका अन्य सामाग्री सूची यस्तो जेल राखेर वितरण सुरु गरेको थियो। हाल यो कार्यक्रम ३९ जिल्लामा विस्तार भइसकेको छ। सन् २०१५ सम्ममा यसलाई नेपालका तीन चौथाइ जिल्लामा पुर्यारउन युएसएडले सहयोग गर्ने नेपालकी मिसन निर्देशक वेथ डनफोर्डले बताइन्।

Source: nagariknews.com

प्रतिक्रिया दिनुहोस्: