मेदान्त अस्पतालसँग नेपालको संबन्ध

डा. रविरतन कासलीवाल (अध्यक्ष) हृदयरोग रोकथाम तथा चिकित्सा, सामुदायिक सेवा र हृदयरोग जागरण शिक्षा कार्यक्रम, मेदान्ता हार्ट इन्स्टिच्युट, मेदान्ता, दि मेडिसिटीसमेतको नेतृत्व गरिरहनुभएका व्यक्तित्व हुनुहुन्छ । उहाँले झन्डै चार दशक पहिले जयपुर (भारत) बाट चिकित्सा शास्त्रमा स्नातक गर्नुभएको थियो । डा. कासलीवालले सन् १९७६ मा सोही मेडिकल कलेजबाट एम.डी. (इन्टरनल मेडिसिन) को उपाधि पाउनुभएको थियो । यसै गरी उहाँले भारतको प्रसिद्ध अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट सन् १९८२ मा हृदयरोगको उपचारका लागि विशिष्ट उपाधि डि.एम. (डि.एम.इन कार्डियालोजी) प्राप्त गरे लगत्तै नयाँ दिल्लीस्थित ‘नेसनल हार्ट इन्स्टिच्युट’ मा वरिष्ठ हृदयरोग विशेषज्ञका रूपमा सेवारम्भ गर्नुभयो । डा. कासलीवाल भारत वर्षका प्रसिद्ध चिकित्सक डा. आर.एम. कासलीवालका सुपुत्र हुनुहुन्छ । भारतका प्रसिद्ध नेता सुभासचन्द्र बोसका निजी चिकित्सकसमेत रहिसक्नुभएका डा.आर.एम. कासलीवाल चिकित्सक गुरुहरूका पनि गुरु, उहाँले २ सय ७५ भन्दा बढी चिकित्सकीय जर्नलहरू प्रकाशन गराइसक्नुभएको छ । डा. रविरतन कासलीवालले सन् १९८७ देखि २००७ सम्म एस्कर्टस् हार्ट इन्स्टिच्युटस्थित हृदयरोग विभागको संस्थापक निर्देशक रही कार्य गर्दै सो संस्थामा उहाँले हृदयरोगसम्बन्धी ‘डिप्लोम्याट नेसनल बोर्ड’ को समेत स्थापना गराउनुभएको थियो । डा. कासलीवाललले नेपालमा नर्भिक अस्पतालमा पटक–पटक आएर पनि सेवा प्रदान गरिरहनुभएको छ । यहि सिलशिलामा नर्भिक इन्टरनेसनल हस्पिटलद्वारा नेपाली चिकित्सा इतिहासमै प्रथमपटक औषधि सुरक्षासम्बन्धी एक बृहत् चिकित्सा गोष्ठीमा भाग लिन नेपाल आउनुभएका डा. कासलीवालसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिना र रामकृष्ण चापागाईंले गरेको कुराकानीको सारसंक्षेपः

 यस पटकको तपाईंको नेपाल भ्रमणको उद्देश्य ? 
म २० वर्षदेखि नियमित नेपाल आउने गरेको छु । मेरो मुख्य उद्देश्य नेपालमा हृदयरोगीको संख्या न्यूनीकरण गर्नु हो । नेपालका दुर्गम गाउँमा पनि मैले पहिलेदेखि नै समुदायमा गएर बिरामी हेर्ने गर्थें । पहिला यो रोगको बारेमा समुदायमा धेरै कम जानकारी थियो । बिरामीहरू यो रोगको उपचार नै नगर्ने तथा अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका पाइन्थ्यो । अहिले धेरै परिवर्तन भइसकेको छ । म यो रोग न्यूनीकरणका लागि नेपालमा केही योगदान दिन चाहन्छु । साथै विगत २० वर्षदेखि हृदयरोग न्यूनीकरणका लागि मैले नियमित रूपमा नेपालमा पनि योगदान दिइरहेको छु । मलाई लाग्छ, नेपाल मेरो दोस्रो घर हो ।

 यो रोग न्यूनीकरणको मुख्य चुनौती के देख्नुभएको छ ?
यो रोग न्यूनीकरणका लागि धेरै चुनौतीहरू छन् । प्रमुख चुनौती त जनचेतनाको कमी छ । मेरो विचारमा जनचेतना जगाउन सञ्चारमाध्यमको प्रमुख भूमिका रहन्छ । विगत केही वर्षदेखि सञ्चारमाध्यमले यो काम प्रमुखताका साथ गर्दै आएको मैले पाएको छु । जनचेताना जगाउन सञ्चारमाध्यम अझ सशक्त रूपमा लाग्नुपर्छ । अर्को चुनौती विरामीलाई समयमै अस्पातलमा ल्याउन नसक्नु हो । यो रोगको उपचार छिटोभन्दा छिटो गर्नुपर्छ । कतिपय बिरामी अस्पतालमा त आइपुग्छन् तर ढिला हुन्छ । यो रोगका लागि मिनेट–मिनेटको महत्त्व हुन्छ । कुनै बिरामीलाई यदि हृदयघात भइहाल्यो भने उसलाई १ घन्टाभित्रै अस्पताल पुर्याइ उसको उपचार गरिहाल्नुपर्ने हुन्छ ।

 हृदयाघात भएको कति समयभित्र उपचार गराइ सक्नुपर्छ ? 
हृदयाघात भएको शुरूको एक घन्टालाई ‘गोल्डेन आवर’ भनिन्छ । बिरामीको सफल उपचारमा ‘गोल्डेन आवर’को अति नै ठूलो महत्त्व हुन्छ । उक्त गोल्डेन आवरभित्र हृदयाघात भएका बिरामीको मुटुमा भएका अवरोध (रोकावट) खोली उपचार गर्ने हो भने बिरामीको पूर्ण उपचार हुनसक्छ र ऊ पहिले जस्तै आफ्नो सहज जीवन जीउन सक्छ । ‘गोल्डेन आवर’ पछि उपचार गरिँदा भने बिरामी बाँचे पनि उसका मुटुका कोषिकाहरू मरिसक्ने हुँदा उपचारपछि बिरामीको जीवन त्यति सहज नहुनसक्छ । तसर्थ गोल्डेन आवरको ज्यादै ठूलो महत्त्व हुन्छ भनिएको हो ।

 मुटुमा कति समयसम्म कोषिकाहरू बाँच्छन् त ? 
मुटुमा एक घन्टाभन्दा बढी समयसम्म रक्त सञ्चार अवरुद्ध भयो भने मुटुका कोषिकाहरू मर्न थाल्छन् । मुटुका कोषिकाहरू मरिसकेपछि अवरुद्ध भएको भागमा रक्तसञ्चार सुचारू गराउँदा पनि मृत कोषिकाहरूले काम गर्न नसक्ने हुँदा मुटुले शरीरमा राम्रोसँग रक्तप्रवाह गराउन सक्दैन र मानिसको जीवन उसलाई हृदयाघात हुनुपूर्वको जस्तो सहज र सवल नहुन सक्छ । त्यसैले नै नर्भिकले हृदयाघात⁄मस्तिष्कघात भएका वा गम्भीर प्रकृतिका घाउचोट लागेका बिरामीका लागि साधन सम्पन्न ‘मोबाइल सीसीयू’ (एक विशेष प्रकारको एम्बुलेन्स) उक्त एम्बुलेन्समा बिरामी राख्ने बित्तिकै बिरामीको उपचार शुरू गरिने प्रावधान छ ।

 यो रोगको उपचार महँगो हुन्छ भन्छन् नि ?
गुणस्तरीय उपचार पद्धति महँगो नै हुन्छ । तर महँगो सस्तो भन्ने कुरा रोगको लक्षण र अवस्थाअनुसार पनि हुन्छ । कतिपय अवस्थामा अस्पतालमा ज्यादै कम खर्च गरेर आफैंले पनि सावधानी अपनाएर यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । रोगको अवस्था हेरेर खानपान र मानिसको दैनिक रहनसहनले पनि यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । जहाँसम्म तपार्इंले नर्भिक अस्पतालको कुरा गर्नुहुन्छ, यहाँ गुणस्तरीय र चौबीसै घन्टा विशेषज्ञ सेवा छ । जसको कारण सरकारी अस्पतालभन्दा अलि महँगो पर्न सक्छ । यस अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार पद्धति छ ।

 नेपालमा नै सुविधा सम्पन्न अस्पताल हुँदाहुँदै पनि कतिपय राजनीतिक दलका शीर्ष नेताहरू विदेशमा उपचार गर्न जान्छन् नि, किन होला जस्तो लाग्छ ?
यस्तो नेपालमा मात्र हैन भारतमा पनि हुन्थ्यो । पहिला भारतका ठूला नेताहरू अमेरिका र बेलायतमा उपचार गर्न जान्थे । अहिले भारतमै गर्छन् । नेपालका पनि कतिपय ठूला नेताहरू भारतमा उपचार गर्न आउँछन् ।
अहिले यो क्रम घटेर नेपालमा उपचार गर्न थालेका छन् । यसको मतलव के हो भने पहिला भारतमा सुविधासम्पन्न र गुणस्तरीय, विशेषज्ञ सेवासहितको उपचार पद्धति कम थियो । अहिले भारतमा मात्रै होइन नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार हुने प्रसस्त अस्पताल खुलेका छन् । अर्को कुरा हृदयरोगको सन्दर्भमा स्थानीय स्तरमै उपचार गर्नुपर्ने पनि हुन्छ । उदाहरणका लागि हृदयाघात भएको छ भने बिरामीलाई २०⁄२५ मिनेटभित्र उपचार गरिसक्नुपर्ने हुन्छ । दुई मिनेटमात्र ढिलाइ हुँदा पनि उपचारको नतिजा अपेक्षाकृत नहुन सक्छ ।

 नर्भिक अस्पताल र मेदान्त अस्पतालको सम्बन्ध के हो ?
मेदान्त अस्पताल सरहको सेवा सुविधा नर्भिक अस्पतालले दिएको छ । जहाँसम्म सम्बन्धको कुरा छ नर्भिक अस्पतालको सिफारिसमा मेदान्त अस्पताल आउने नेपालीहरूलाई त्यहाँ भारतीयलाई लाग्ने शूल्कमा पनि १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । हृदयरोगको सन्दर्भमा मेदान्त अस्पतालमा हुने उपचार यहिं नर्भिकमा हुन्छ भनेपछि यहाँका बिरामीहरू भारत जानु पनि परेन । त्यसको कारण यहाँ उपचार गर्दा खर्च पनि धेरै कम हुन्छ ।

 सरकारीभन्दा प्राइभेट अस्पतालमा उपचार राम्रो हुन्छ भन्छन् किन ?
मेरो विचारमा सरकारी अस्पतालमा बिरामी धेरै हुन्छन् । सीमित जनशक्तिले धेरै बिरामीलाई चौबीसै घन्टा गुणस्तरीय सेवा पुर्याउन असम्भव पनि हुन्छ । प्राइभेट अस्पतालमा बिरामी अलि कम हुने र जनशक्ति बढी हुने भएकोले पनि बिरामीहरूले यस्तो महसुस गरेका होलान् । सरकारले एउटा कुरा के बुझ्नुपर्छ भने हृदयरोगीहरू बढी छन्, उनीहरूको उपचारका लागि आवश्यक जनशक्ति, अस्पताल तथा उपकरण २४ घन्टा उपलब्ध हुने व्यवस्था मिलाउनुपर्छ । यसो भएमा सरकारी अस्पतालमा तपाईंले भनेको जस्तो गुनासो आउँदैन होला । प्राइभेट अस्पतालमा २४सै घन्टा विशेषज्ञ चिकित्सकले सेवा दिन सक्ने गरी व्यवस्था मिलाइएको कारणले पनि बिरामीले सरकारीभन्दा प्राइभेट अस्पताल राम्रो भनेका होलान् ।

 नर्भिक अस्पतालमा उपचार गर्न बिरामी आकर्षित हुनुको कारण यहाँले के औल्याउनुभएको छ ?
यो अस्पतालको समग्र कर्मचारीमा लगनशीलता छ । गुणस्तरीय उपकरण छ । अनि गुणस्तरीय विशेषज्ञ सेवा २४ सै घन्टा उपलब्ध छ । साथै उपचारका लागि सुविधा सम्पन्न एम्बुलेन्स पनि छ । चिकित्सकहरू नियमित अपडेट हुनु जरुरी छ । यहाँका चिकित्सकहरू हमेसा अपडेट भइरहन्छन् । समग्रमा भन्नुपर्दा गुणस्तरीय स्वास्थ्य सेवा दिएको कारण यहाँ बिरामी उपचारका लागि आउन आकर्षित भएका होलान् । हृदयरोगको उपचारको सन्दर्भमा भन्ने हो भने यहाँ ‘गोल्डन आवर’ भित्र सम्पूर्ण उपचार हुने गर्छ । यस अस्पतालको एम्बुलेन्स मा बिरामी राखेदेखि नै उपचार शुरू हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको यहाँको एम्बुलेन्समा बिरामीलाई अस्पताल ल्याउँदै गर्दादेखि नै उपचार गर्नको लागि सबै सुविधा छ ।
त्यसो त नर्भिकमा २४ सै घन्टा सिद्धहस्त इन्टरभेन्सनल कार्डियोलोजिस्ट र आवश्यक सम्पूर्ण मानव संशाधन तम्तयार रहने हुँदा कुनै बिरामीलाई मध्यरातमा हृदयघात भएर ल्याउँदा पनि निजको उपचार तुरुन्तै सम्भव हुन्छ । हृदयाघातपछि तुरुन्तै गरिने इमर्जेन्सी एन्जियोप्लास्टिको सफलतामा त नर्भिकले अन्तर्राष्ट्रिय रूपमा प्रशंसासमेत पाएको छ । मलाई देखाइएको तथ्यांकमा हृदयघात भई आउने बिरामीहरूमध्ये पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतका ९६.६३ प्रतिशतले पूनर्जीवन पाउनुभनेको अन्तर्राष्ट्रियस्तरको भन्दा पनि उत्कृष्ट नतिजा हो ।

 भावी योजना ?
नर्भिक अस्पतालमा हृदयघातबाट मानिसलाई कसरी बचाउने भन्ने बारेमा पूर्वरोग पहिचान केन्द्र स्थापना गर्दैछौं । चार महिनाभित्रमा यो केन्द्रको उद्घाटन गर्ने लक्ष्य छ । यो केन्द्र स्थापनापछि नर्भिकका लागि सन् २०१४ विशेष वर्ष हुनेछ । साथै नेपालको लुक्लामा स्थानीय समुदायको स्वास्थ्य परीक्षणका लागि पहिलो चोटी हृदयरोग विशेषज्ञको टोलीसहित बैशाखमा त्यहाँ जाने योजना बनाएका छौं । साथै हृदयरोगको बारेमा जनचेतना जगाउन सञ्चारमाध्यमको भूमिका अझ सशक्त बनाउनेतर्फ पनि सोचिरहेका छौं ।

Source: newsofnepal.com

प्रतिक्रिया दिनुहोस्: