मोदीको प्रचारमा विकिलिक्सको पोस्टर विवादमा

नयाँदिल्ली, (एजेन्सी) भारतको आम निर्वाचन नजिकिँदै जाने क्रमसँगै प्रचारप्रसारलाई लिएर नयाँ विवादहरूले चर्चा पाउने क्रम पनि जारी नै छ। प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीले उसको प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीको समर्थन गरेको विकिलिक्स संस्थापक जुलियन असान्जको कथित पोस्टरका विषयमा जाँच गराउन तयार रहेको जनाएको छ। सोमबार विकिलिक्सले भारतीय जनता पार्टीले असान्जसँग भेटेको झुठो हल्ला कोष संकलनका लागि फैलाएको बताएको थियो। विकिलिक्सले कुनै पनि अमेरिकी अधिकारीले मोदीलाई भ्रष्ट बनाउन नसकिने नेता भनी टिप्पणी गरेको कुरालाई पनि गलत भएको जनाएको थियो।

विकिलिक्सको पछिल्लो बयानपछि भाजपाका राष्ट्रिय सचिव रामेश्वर चौरासियाले एबीपी न्युज च्यानललाई भने– ‘यदि विकिलिक्सले प्रमाण दिन्छ भने हामी चन्दा मागेको आरोपका विषयमा जाँच गर्न तयार छौं।’

विकिलिक्ससँग जोडिएको यो विवादास्पद प्रचारबाजीले राजनीतिक वृत्तमा हलचल मच्चाइरहेको छ। यसैबीच आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले सञ्चारमाध्यमसँग भने– ‘हामीले त पहिलेदेखि नै भन्दै आइरहेका थियौं, सोसल मिडियामा मोदीको छविका विषयमा जुन प्रचार भइरहेको छ त्यो गलत छ। यो एउटा ठूलो षड्यन्त्र हो। उनको भाषणहरूमा पहिला पनि कयौं पटक गलत कुराहरू बाहिर आए।

विकिलिक्सले सोमबार ट्विटरको माध्यमबाट केही भाजपा समर्थकद्वारा सोसल मिडियामा प्रकाशित एक पोस्टरका बारेमा स्पष्टीकरण दिएको छ। उक्त पोस्टरमा असान्जलाई ‘अमेरिका मोदीसँग डराएको छ किनभने उनलाई भ्रष्ट बनाउन सकिँदैन’ भन्न लगाइएको छ। असान्जसँग भारतीय जनता पार्टीको सम्झौता भएको हल्ला ट्विटरमा भाजपाका प्रिति गान्धीले फैलाएको पनि विकिलिक्सले जनाएको छ। विकिलिक्सका तर्फबाट भनेएको छ– ‘विकिलिक्सको कुनै पनि केबुलमा नरेन्द्र मोदीलाई भ्रष्टाचार नगर्ने भनेको छैन।’

यो मामिला सन् २०११ मा विकिलिक्सले सार्वजनिक गरेको अमेरिकी कुटनीतिक दस्तावेजहरूसँग सम्बन्धित छ। विकिलिक्सले उसको तर्फबाट सार्वजनिक गोप्य दस्तावेजमा ‘भाजपाको प्रधानमन्त्री पदका उम्मेदवार लोकप्रिय छन् र भारतीय नागरिक उनलाई भ्रष्टाचारमुक्त मान्छन्’ मात्र उल्लेख भएको जनाएको छ। विकिलिक्सले उसको केबुलमा राजकोट कांग्रेस पार्टीका नेता मनोहरसिंह जडेजाले उनलाई भ्रष्टाचारमुक्त भनेको बताएको स्पष्ट गरेको छ। उक्त केबुलमा जेडेजाले भनेका थिए– ‘मोदी अत्यन्तै लोकप्रिय छन् र अहिले केही हदसम्म मुसलमानले पनि उनलाई समर्थन गरिरहेका छन्।

 

Source: newsofnepal.com

प्रतिक्रिया दिनुहोस्: