क्षमता भन्दा लगभग तेब्बर कैदी–बन्दीले भरिएपछि कारागारको अवस्था अस्तव्यस्त

बिर्तामोड । झापा कारागारमा क्षमता भन्दा लगभग तेब्बर कैदी–बन्दीले भरिएपछि कारागारको अवस्था अस्तव्यस्त बनेको छ । कारागार प्रसाशनलाई पटक पटक समस्या समाधानका लागि आग्रह गरेपनि सुनुवाई हुन नसकेको कैदी–बन्दीले गुनासो गरेका छन् ।

कारागार भित्रका समस्या त छदैछन्, नीतिगत रुपमा पनि आफुहरु समस्यामा परेको गुनासो कैदीबन्दीले गरेका छन् । कैदी–बन्दीले आफ्ना समस्या समाधान नभएपछि नीतिगत सूधारका लागि सोमबार प्रधानन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । कारागारका ५ सय २२ जना कैदी–बन्दीले हस्ताक्षर गरी जिल्ला प्रसाशन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । कैदी–बन्दीले सभामुख, गृहमन्त्री र कारागार व्यवस्थापन बिभागलाई बोधार्थ दिएका छन् । संविधानमा बिना बिभेद सबै प्रकृतिका मुद्धामा चालचलनका आधारमा दिन र रात गणना गरी ५० प्रतिशत छुट दिइनु पर्ने माग उनीहरुले गरेका छन् ।

त्यसैगरी नियतवस हत्या गरिएकालाई माफी र छुट नदिने प्रावधान तत्काल खारेज गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । ऐनमा गम्भिर नौ प्रकृतिका मुद्दा बाहेक अन्य कैदीलाई पचास प्रतिशत माफी दिने प्रावधान भएकोमा हाल २५ प्रकृतिका मुद्दाका कैदीलाई माफी मिनाहा नदिने प्रावधान छ । कैदी–बन्दीले यो प्रावधान खारेजीको माग गरेका छन् । उनीहरुले सबै कैदीलाई पचास प्रतिशत छुटको व्यवस्था गर्न माग समेत गरेका छन् । त्यसैगरी गम्भिर प्रकृतिका मुद्धा लागेका कैदी चौकीदार, शिक्षक, नाइके, सह–नाइके भइ काम गर्ने सबैले सुबिधा नपाएकाले त्यस्तो सुबिधा सबैलाई दिनु पर्ने माग गरेका छन् ।

भारत लगायतका देशमा सार्वजनिक विदामा कैदी–बन्दीको पनि विदा काटिने प्रावधान छ । तर, नेपालमा कैदी–बन्दीले सार्वजनिक विदा पाउँदैनन् । उनिहरुले सार्वजनिक विदाको अन्तर्राष्ट्रिय प्रावधानलाई कार्यान्वयन गर्न माग गरेका छन् । कारागारका कैदी–बन्दीले पाउँदै आएको सिदा र चामल अत्यन्तै न्यून रहेको उनीहरुको भनाई छ । कैदी–बन्दीले दैनिक सिदा वापत खर्च ४५ रुपैयाँ र ७०० ग्राम चामल पाउँदै आएका छन् । बर्षौ पुरोनो सिदा–चामलको सुविधा न्यून हुँदा कैदी–बन्दीलाई इन्धन, दाल, सब्जी लगायत व्यवस्थापन गर्न समस्या पर्दै आएको छ । माछा–मासु र खाजा खर्च पुर्याउन कैदी–बन्दीलाई झन कठिन हुने गरेको चौकिदार सुनिल बस्यालले बताए । कैदी–बन्दीले पाउने सिदा खर्च न्यून भएकाले दैनिक १०० रुपैयाँ बनाउन माग गरेका छन् ।

नेपाल सरकारले कारागारलाई सुधार गृह घोषणा गरेको बर्षौ भइसकेको छ । तर, त्यस अनुसार काम हुन नसक्दा कैदी–बन्दीले शास्ती व्यहोर्दै आएका छन् । झापा कारागारमा पुरुषको २ सय २५ जनाको क्षमता भएपनि तेब्बर ५ सय ९६ जना कैदी–बन्दी रहेका छन् । महिला कारागारको ५० जनको क्षमता रहेकोमा ५३ कैदी–बन्दी र तिनका १२ जना आश्रित बालपालिका रहेका छन् । झापा कारागारमा महिलाको नयाँ भवन भएकाले पुरुषको भन्दा तुलनात्मक रुपमा सुविधायुक्त छ । तर, पुरुष कैदी–बन्दीकालागि कुनै सुविधा छैन । खानेपानी, शौचालय, स्नानघर महिला कैदी–बन्दीको तुलनामा अत्यन्तै न्यून रहेको छ । शौचालय पालो गरेर जानु वर्ने बाध्यता रहेको कैदी–बन्दीले गनासो गरेको बर्षौ भएपनि नयाँ शौचालय निर्माण हुन सकेको छैन ।

कारागार बर्षौ पुरानो भई जिर्ण बनेको छ । बर्षाको समयमा छतबाट पानी चुहिएर कैदी–बन्दीले सुत्न पाउँदैनन् । छत हल्लिने भएकाले कैदी–बन्दीले जाडो याममा घाम ताप्न छतमा जान पाउँदैनन् । झापा कारागारको भवन कुनै दिन लडेमा धेरै कैदी–बन्दीले ज्यान गुमाउनु पर्ने उनिहरुले बताएका छन् । कारागार प्रमुख दिपेन्द्र खत्री अनुसार कारागार प्रसाशनले सक्ने सबै सुविधा कैदी–बन्दीलाई उपलब्ध गराउँदै आएको छ । उनले कैदी–बन्दीले प्रधानमन्त्रीलाई दिएको ज्ञापनपत्र पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्: