गोवर नफालेको विषयको विवादले श्रीमति वेपत्ता

विर्तामोड । गोठको भकारो नसोरेको विषयमा झापाको शान्तिनगर गाविसका लयप्रसाद अधिकारीले दुई दिनअधि श्रीमति डम्बरकुमारीलाई गोवर किन नसोरेको भनी जवाफ खोजेका थिए । विहान उठ्दा श्रीमति घरमै नभएपछि छिमेकीकहाँ पुगे । ३ सय मिटरमा पर्ने छिमेकीकी छोरी योगिता बस्नेतले म कहिले आउँदिन नानीको हेरविचार गर्नु है भन्ने खबर छोडेर राति ९ बजे बाटो लागेको सुनाएपछि लयप्रसाद छागाबाट खसे । अधिकारी दम्पतिका १४ वर्षीया छोरी दूर्गा र १७ वर्षीय छोरा जीवन छन् । पेशाले किसान रहेका उनीहरुले दुईवटा गाई ४ वटा बाख्रा पाल्दै आएका भएपनि श्रीमतिसँग गोवर नफालेको विषयको विवादले ठूलो रुप लिन पुग्यो । घरबाटै वेपत्ता भएपछि यतिवेला लयप्रसाद आफ्नी श्रीमतिको खोजीमा कहिले प्रहरी कार्यालय त कहिले माइति नेपाल हुँदै माघ ८ गते जिल्ला प्रशासन कार्यालय पुगेका छन् । श्रीमति वेपत्ता भएलगत्तै खोजी तिव्र गरेपनि फेला नपरेको उनको भनाई छ । डम्बरकुमारीले नागरिकता हातमा बोकेर घर बाहिरिएकाले बैदेशिक रोजगारीका लागि कोसिस गरिन् की भनेर जिल्ला प्रशासन कार्यालय झापामा समेत बुझे । तर, उनको नागरिकताको नामबाट ‘एमआरपी’ पासपोर्ट झिकिएको नपाइएको लयप्रसादले बताए ।

२०५० सालमा खुदुनावारी–८ कर्णखार शिवाकोटीकी माइली छोरी डम्बरकुमारीसँग मागी विवाह गरेका हुन् । हाल दुई छोरा छोरीमध्ये नजिकैको वर्ने स्कूलमा छोरी कक्षा ८ मा र छारो कक्षा ९ मा पठनपाठन गर्दै आएका छन् । यो त महिला वेपत्ता भएकामध्ये एउटा उदाहरण मात्रै हो । डम्बरकुमारी जस्तै झापा शनिअर्जुन–१ का सुजन राजवंशीले श्रीमति सुमित्रा हराएको भनी १३ दिनपछि २०७१ साल असोज ३ महिनामा इलाका प्रहरी कार्यालय विर्तामोडमा खोजी गरिदिन निवेदन दिएका थिए । सुमित्रा राजवंशी हालसम्म फेला परेकी छैनन् । त्यसैगरी खुदुनावारी–८ का ओमबहादूर घतानीले उनकी बुहारी पवित्रा सम्पर्क्विहिन भएकोले खोजी गरिदिन भन्दै तीनदिनपछि गत असोज ३ गते निवेदन दिएका थिए । शनि–अर्जुन–२ कै रेस्मा विक, ३ की दीक्षा दुलाल सार्की, ९ की सविता चौधरी, विर्तामोड–५ की वर्षा राई वेपत्ता भएकाले खोजी गर्न इलाका प्रहरी कार्यालयमा निवेदन परेको छ ।

२०७१ असोज, कार्तिक र मंसिर महिनामा मात्रै ९ जना बालबालिकासहित ३३ जना बेपत्ता भएको निवेदन परेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सञ्जय राउतले बताए । विषेश गरेर वैदेशिक रोजगारीमा विदेश भएका युवाको परिवार वा श्रीमति बेपत्ता भएको भन्दै खोजीको निवेदन आउने गरेको डिएसपी राउतको भनाई छ ।
वेपत्ता भएका बालबालिकामध्ये केही फेला परेको, फेला नपरेकाको खोजी गरिरहेको र हराएका महिला भने फेला नपरेका प्रहरीको भनाई छ । प्रहरीका अनुसार दैनिक ५ देखि १० जनाको संख्यामा हराएको भनी निवेदन आउने गरेको छ । त्यसमा विवाहित महिलाको सख्या धेरै रहेको छ । उता काँकरभिट्टास्थित माइती नेपाल कार्यालयका अनुसार सन् २०१५ मा वैदेशिक रोजगार, घरेलु हिंसा र परपुरुषसँग गएर सम्पर्क्विहीन भएका १ सय ७६ जना महिला बेपत्ता भएका छन् ।

वेपत्ता भएकाका अभिभावकले खोजी गरिदिन आग्रह गर्दै निवेदन परेको कार्यालयले जनाएको छ । दलालको प्रलोभनमा परेर खाडी मुलुकका लागि भारतीय बाटो प्रयोग गर्ने महिलाको संख्या बढेको पाइएको समेत कार्यालयले जनाएको छ । कार्यालयमा निवेदन पर्ने वित्तिकै चेलिबेटी बेचविखन विरुद्ध काम गर्दै आएका नेपाल र भारतको सबै सम्पर्क केन्द्रमा जानकारी गराउँने गरेका छौ, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरेले भने–‘हराएकामध्ये धेरै जसो रोजगारीका लागि जाने र दलालले कोठीमा विक्री गर्ने गरेको धेरै उदाहरण छन् । तर, खाँडी मुलुक जाने क्रममा ३१ जनालाई काँकरभिट्टाबाट नियन्त्रणमा लिएका छौं ।’ उनीहरुलाई सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको घिमिरेको भनाई छ ।

माइती नेपालले सन् २०१५ मा २ सय ५० जनालाई रोकथाम गरेको, घरेलु हिंसाका ७ जना, २ जना बलत्कारपछि बरालिएकालाई उद्दार गरेको छ । त्यसैगरी कार्यालयले २१ हजार ९ सय ८० जनालाई परामर्श दिएको प्रमुख घिमिरेको भनाई छ । यता माइती नेपालले बैदेशिक रोजगारीका लागि ‘एमआरपी’ पासपोर्ट बनाउने ठाउँ जिल्ला प्रशासन कार्यालय परिसरमै परामर्शका लागि डेक्स स्थापना गरेको छ । तर, डेक्सले खासै चासो दिने गरेको नपाइएको सर्वसाधारणको भनाई छ । बैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुरा, विदेशमा महिला हिंसाको स्थिति, यौन व्यवहारको विषयमा सचेत गराएपछि मात्रै पासपोर्टको लागि निवेदन गर्नुपर्ने आवश्यकता हुन्छ । तर, डेक्सले पासपोर्ट बनाएपछि पनि सोधखोज नगरेको भनाई छ । माइती नेपालले काँकरभिट्टामा चेकपोइट मार्फत सेवा दिंदै आएको छ ।
प्रहरी कार्यालयदेखि जिल्ला प्रसाशन कार्यालय सम्म हराएका आफन्त खोजीका लागि धाएपनि फेला पर्न सकेका छैनन् । प्रहरी कार्यालयका प्रमुखहरु डिएसपीले ‘खोजी हुँदैछ’ भन्ने मात्र जवाफ पाउने गरेको पिडितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्: