झापाको बाहुण्डाँगीमा रहेको वहुप्रतिक्षित सिद्धिनहर निर्माण कार्य अन्तिम चरणमा

बाहुण्डाँगी÷ झापा
झापाको बाहुण्डाँगीमा रहेको वहुप्रतिक्षित सिद्धिनहर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०६२ सालदेखि निर्माण शुरु गरिएको सिद्धि नहर आयोजनाको काम ८० प्रतिशत पूरा भइसकेको पूर्वाञ्चल सिचाइ विकास डिभिजन नम्बर १ झापाले जनाएको छ ।

इलामको जिर्मलेबाट बगेको सिद्धि खोलाको पानीले बाहुण्डाँगीको १७ सय हेक्टर सिचाई गर्ने उद्देश्यले यो योजना निर्माण शुरु गरिएको थियो । आयोजना शुरु गरिएको १० बर्षपछि निर्माण सम्पन्न हुन लागेको डिभिजनका प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए । आर्थिक वर्ष ०६५÷०६६ मै सम्पन्न गर्ने लक्ष्य भएपनि कमजोर भू–बनोटका कारण निर्माण कार्यमा ढिलाई भएको उनले बताए । निर्माण शुरु हुँदा बिनियोजन भएको २५ करोड २१ लाख बजेटले सम्पन्न भएको कतिपय स्थानमा भू–स्खलनका कारण क्षती भएपछि निर्माण लम्बिएको हो । आर्थिक बर्ष २०७१ सम्ममा प्राप्त १७ करोड ४९ लाखले आयोजना निर्माण सम्पन्न हुन लागेको छ । कार्यालय प्रमुख श्रेष्ठले अब २ करोड ५० लाख रुपैया प्राप्त भए आयोजना पुरा हुने बताए ।

चार बर्षमा सम्पन्न हुनूपर्ने योजना कमजोर भू बनोटका कारण १० बर्षसम्म लागेको हो । नहर ल्याइएको घना जंगल क्षेत्रमा ठुला ठुला भिर पर्ने हुनाले आयोजनाको लागत बढेको श्रेष्ठले बताए । ‘सिद्विबाट पानी आउने कुरा धेरै सरोकारवालाले पत्याएका थिएनन, उनले भने–‘अहिले यहाँका स्थानीय पानी आउने कुरामा ढुक्क छन् ।’ उनले यसै बर्षको फागुनदेखि बाहुण्डाँगीका वडा नम्बर ५ को केही भाग बाहेक सबै क्षेत्रमा पानी आउने जानकारी दिए । बाहुण्डाँगीको माटो तकारी उत्पादनका लागि उर्वर मानिन्छ । पानी अभावमा यस ठाँऊका किसानले जमिन बाँझो राख्दै आएका छन् ।

आयोजनामा प्रतिहेक्टर गर्नुपर्ने भन्दा धेरै लगानी भएको छ । भौगोलिक बिकटता र भू स्खलनका कारण लगानी खर्च बढेको आयोजनाका इन्जिनीयर दुर्गा कडरियाले बताए । उनले एउटै स्थानमा चार पटक सम्म ठेक्का लगाएर निर्माण गर्नु परेको जानकारी दिए । आयोजना २०६२ सालमा शुरु भएको भएपछि यो पञ्चायतकालमै सर्भे भएको उनको भनाइ छ ।

सिद्वि नहरबाट पानी आउने एवं आधुनिक तरिकाले खेती गरि जीवनस्तर उकास्ने आशाले बाहुण्डाँगीवासी हर्षित छन् । तर, आयोजनाको दिर्घकालीन स्थायीत्वको बारेमा भने सम्बन्धित निकाय समेत बेखबर छ । आयोजनाको शुरुमै गरिने स्थलगत भौगर्भिक अध्ययन त्रुटीपुर्ण रहेको बुझिएको छ । अध्ययनले सो स्थानको माटो परिक्षण नगरी लगानी गर्न शुरु गरेको थियो । त्याँहाको माटो हरेक बर्षको बर्षातको समयमा २ देखि ३ सेन्टीमिटर बग्ने भएकाले निर्माण भएको नहर पनि बगाउन सक्ने खतरा सम्बन्धित क्षेत्रका बिज्ञले औंल्याएका छन् । यसको संरक्षणको लागि सरकारी र स्थानीय उपभोक्ताको संयूक्त टोली बनाई बर्षातको चार महिना नियमित रुपमा रेखदेख गर्नुपर्ने प्रमुख श्रेष्ठले बताए ।

मेची नदीमा बगेर खेर जाने पानीलाई खेतमा पुर्याउने यस कार्यलाई स्थानीयबासीले सकारात्मक रुपमा लिएका छन् । स्थानीय युवा पुष्कर तामांगले भने–‘यो धेरै राम्रो योजना हो, नहर निर्माण कार्य पूरा नभएसम्म यहाँ हिउँदमा कुनै खेती हुँदैन, यो योजना पूरा हुनु नै हाम्रो लागि ठूलो उपलब्धी हो ।’ निमार्ण कार्य पूरा भएपछि यस नहरको संरक्षणमा सरकारको पनि संलग्नता नभए उपभोक्ता समितिले मात्र संरक्षण गर्न नसक्ने उनले बताए । सरकारको मझौला सिचाइ कार्यक्रम अन्तरगत निर्माण सुरु गरिएको योजना अन्तरगत सिद्धि खोलाको पानी बाहुण्डाँगीसम्म पुर्याउन २२ किलोमिटर मध्ये ११.५ किलोमिटर पक्की नहर हुने छ । यो मध्ये ९.५ किलोमिटर पक्की नहर निर्माण भइसकेको छ । खेर गएको पानीलाई घुमाएर १७ सय हेक्टर जमिन सिचाई गर्नु ठूलो कार्य भएको प्रमुख श्रेष्ठले बताए । यहाँ पहिरो आएपछि योजना पूरा नहुनेमा स्थानीय सशंकित थिए, श्रेष्ठले भने तर हामलिे पहिरो पन्छाएर पनि कार्य सुचारु गरेपछि स्थानीय हर्षित छन् ।

प्रतिक्रिया दिनुहोस्: