धुम्रपान तथा सूर्तिमुक्त बनाउन पहल गर्ने प्रतिवद्धता

बिर्तामोड । झापाको दुहागढी गाविसका पाँच विद्यालयका विद्यार्थीले सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने र आफ्नो घर र छिमेकलाई धुम्रपान तथा सूर्तिमुक्त बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दुहागढी र बाल सुबोधिनी निमाविको संयुक्त आयोजना तथा दुहागढी गाविसको सहयोगमा आज मंगलबार भएको ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थ विरुद्ध सचेतना कार्यक्रम’ का सहभागी विद्यार्थीले सामुहिक रुपमा त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले उद्घाटन गरेको कार्यक्रममा सहभागी पाँच विद्यालयका ६० विद्यार्थीलाई सूर्ति नियन्त्रण सञ्जाल झापाका सदस्य एवम् पत्रकार महासंघका जिल्ला सचिव एकराज गिरी र सूर्ति नियन्त्रण सञ्जालका अध्यक्ष सन्तोष न्यौपानेले प्रशिक्षण प्रदान गरेका थिए ।

धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनको अवस्था, यसको असर, सूर्ति त्याग्दा हुने फाइदा तथा सूर्ति नियन्त्रण सम्बन्धी कानुन बारे सहभागीलाई प्रशिक्षण दिइएको थियो । बालसुबोधिनीका प्रधानाध्यापक तथा नेरेसो दुहागढीका सभापति विश्व थापाको अध्यक्षतामा भएको सचेतना कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथि ढकाल, विशेष अतिथि गाविसका सचिव कविन्द्रविक्रम नेम्वाङ, शहीद दशरथचन्द्र उच्च माविका शिक्षक तेजप्रसाद खनाल, विद्यालयका अध्यक्ष प्रेमप्रसाद मिश्रले मन्तव्य राखेका थिए । शिक्षक गोपीराज मैनालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बालक्लवका अध्यक्ष सन्तोष दियालीले गरेका थिए ।

कार्यक्रममा दुहागढीको बालसुबोधिनी निमावि, शहीद दशरथचन्द्र उच्च मावि, कृष्ण प्रावि, शान्ति प्रावि र सीताराम सामुदायिक अंग्रेजी विद्यालयका विद्यार्थी सहभागी रहेको शिक्षक तथा रेडक्रसकर्मी डिल्लीराम भण्डारीले जानकारी दिए । कार्यक्रममा सहभागी केही विद्यार्थीले आफूहरुले सेवन गर्दै आएको मधु गुट्खा मंगलबारबाट नै त्यागेको घोषणा गरेका थिए । उनीहरुले धुम्रपान तथा सूर्ति सेवन विरुद्ध समाजमा जनचेतना अभियान सञ्चालन गर्ने समेत प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्: