मृगौला, मुटु तथा क्यान्सर रोगीको संख्या दोब्बर

बिर्तामोड । झापामा विगत पाँच बर्ष यता मृगौला, मुटु तथा क्यान्सर रोगीको संख्या दोब्बर भन्दा बढी देखिएपछि नसर्ने रोगले दैनिक महामारीको रुप लिन थालेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार गत आर्थिक बर्षमा मृगौला, मुटुरोगी तथा क्यान्सर रोगीको संख्या तीन सय १२ रहेको छ । आर्थिक बर्ष २०६९÷७० मा सोही किसिमका रोगीहरुको संख्या एकसय ८१ थियो । आर्थिक बर्ष २०६६÷६७ मा उक्त किसिमका रोगीहरुको संख्या झापामा एक सय ३९ थियो । सोही आर्थिक बर्षदेखि त्यस्ता किसिमका रोगीहरुका लागि सरकारले अनुदान दिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताको भनाई छ । आर्थिक बर्ष २०६७÷०६८ मा जिल्लामा त्यस्ता रोगीहरुको संख्या दुईसय रहेको थियो ।

त्यस्ता नसर्ने रोगीको संख्या बढनुमा खानपान र रहनसहन नै मुख्य कारण भएको चिकित्सक बताउँछन् । खासगरी खाद्य पदार्थमा रसायनिक मल तथा विषादीको प्रयोग अत्याधिक हुनु नसर्ने रोगीहरुको संख्या बढनका प्रमुख कारण भएको उनीहरुको भनाई छ । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा बरिष्ठ फिजिसियन डा. पिताम्बर ठाकुरका अनुुसार बढी उत्पादन गर्ने नाममा चाहिएको भन्दा बढी रसायनिक मल तथा विषादी प्रयोग गरिने गरेका कारण नसर्ने रोगको खतरा अझ बढेर गएको हो । उनका अनुसार केही मानिसलाई भने बंशानु गुणबाट पनि यस्ता रोगहरु लाग्ने गरेको छ ।

चालु आर्थिक बर्षमा गत आर्थिक बर्षको भन्दा त्यस्ता रोगीहरुको संख्या अझ बढन सक्ने संभावना देख्छन् अनुदानका लागि सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल । प्रजिअ नेपाल भन्छन्, ‘जनस्वास्थ्य कार्यालयले सम्पूर्ण प्रमाणसहित सातामा कम्तीमा ९ जना रोगीको सिफारिसका लागि लिएर आउने गरेको छ । यही हिसाबले हो भने चालु बर्षमा नसर्ने रोगीको संख्या अझ बढने संभावना छ ।’

मुटु तथा मृगौलाका रोग विशेषगरी मधुमेह अर्थात चिनी रोग तथा उच्च रक्तचाप मुख्य कारण भएको डा. ठाकुर बताउँछन् । खासगरी तराईका जिल्लाका मानिसहरुमा शारीरिक कसरत गर्ने बानी नभएका कारण पनि यि रोगहरुको जोखिम बढेर गएको मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ठाकुरको भनाई छ । उनले भने, ‘मानिसहरुले खानपिनको अभ्यासलाई स्वस्थ्यकर बनाउन जरुरी छ । मानिसले दैनिक शारीरिक कसरतको बानी बसाल्नुपर्छ ।’ उनका अनुसार समयमा रोग पत्ता लागे क्यान्सरको पनि उपचार संभव छ ।

सरकारले दिने अनुदानका कारण पनि मृगौला, मुटु तथा क्यान्सरका रोगीहरुको संख्या ह्वात्तै बढेको सरकारी अधिकारीहरुको भनाई छ । केही बर्षअघिदेखि त्यस्ता रोगीहरुले सरकारबाट १ देखि २ लाख रुपैयाँसम्म अनुदान पाउने गरेका छन् । जनस्वास्थ्य प्रमुख मेहेताका अनुसार सरकारले अनुदान दिन अघि पनि त्यस्ता रोगीहरु हुन्थे । सरकारी अनुदानको प्रचारका कारण पनि सुविधा लिन रोगीहरुको बढेको मेहेताको दाबी छ । उनले भने, ‘अचेल सरकारी अनुदान किन छाडने भनेर त्यस्ता रोगीहरुको संख्या बढेको देखिएको हो ।’

तर सरकारले दिएको अनुदान लिन नआउनेहरुको संख्या सरकारी निकायसंग नहुने भएका कारण उक्त गम्भीर किसिमका नसर्ने रोगीहरुको संख्या अझ धेरै हुन सक्ने चिकित्सकहरुको अनुमान छ । सरकारले गरीब तथा विपन्न समुदायका त्यस्ता रोगीहरुलाई अहिले १ देखि २ लाख रुपैयाँसम्म अनुदान दिने गरेको जनस्वास्थ्य प्रमुख मेहेताको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: