श्यामकुमार प्रधानको दैनिकी बिशालु सर्प समाउदैमा बित्ने गरेको

झापा । झापाको शनिअर्जुन नगरपालिका ४ का श्यामकुमार प्रधान ६२ को दैनिकी बिशालु सर्प समाउदैमा बित्ने गरेको छ । यिनी व्यवसायिक सपेरा होइनन् तर सजिलैसंग सर्प समाउँछन् । टोक्छ भन्ने थाहा छ तर मायाँ गरेर पाल्छन् । यिनै प्रधानको १५ बर्ष यताको दिनचर्या सर्प समाएर सुरक्षित स्थानमा छोड्दैमा बित्ने गरेको छ ।

प्रधानले झापामा पाईने गोमन, करेत, राजासाप लगायत बिशालु सर्प समाएर नजिकैको दहिझोडा सामुदायिक बsnake photoनमा छोड्न थालेको १५ बर्ष बितेछ । यसबीचमा उनले लगभग एकसय भन्दा धेरै बिशालु सर्प जंगलमा छोडेको सुनाए । अहिले पनि तीनवटा गोमन र दुइवटा राजासाप घरमै राखेका छन् । ति मध्ये एउटा त भर्खरै अर्जुनधारा नजिकैको एउटा घरबाट ल्याएको उनले बताए । कतै सर्प देखापरे तुरुन्त आफूलाई खबर गर्न आग्रह गर्दै उनले भने– ‘फोन आउने बित्तिकै म जति नै व्यस्त भएपनि गएर समाउने गरेको छु ।’ उनले सर्प नमार्न सबैसँग आग्रह पनि गरेका छन् ।

‘प्रकृतीले सबैको साझा पृथ्वी हामीलाई प्रदान गरेको हो, उनले भने– ‘हामीलाई असर पार्छ भन्दैमा किन मारिहाल्ने ? उनले प्रश्न गर्दै भने– ‘सम्पुर्ण जनावारको बाँच्न पाउने हकको सबैले सम्मान गर्नुपर्छ, अर्काे कुरा पर्याबरणीय सन्तुलनको लागि बिशालु सर्पको भूमिका महत्वपुर्ण हुन्छ ।’ उनले बालीनालीमा पाइने हानीकारक किटाणु बिशालु सर्पले खाएर वातावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउने दावी समेत गरे । गोमन मध्येपनि कालो गोमन धेरै आक्रामक हुने उनको अनुभव छ । ‘आक्रामक हुने भएकाले मान्छेले मार्ने भएका कारण पनि यो लोप हुदैछ , उनले भने– ‘ २० वटा भन्दा बढी सेतो गोमन समातेपछि मात्र एउटा कालो गोमन फेला पर्छ ।’
सकेसम्म थाहा भएको र खबर गरेको ठाँउमा सर्प फेला परे उनी गएर समाउने गरेका छन् । उनको घरदेखि १५ किलोमिटर टाढासम्म गएर सर्प समाएको अनुभव उनीसँग छ । भने– ‘यहाँदेखि सुरुङ्गासम्म गएर सर्प समाएर ल्याएको छु , कहिले काँही राती १२ बजे फोन आउछ म निन्द्रा पनि नभनी गएर समाएर ल्याउने गरेको छु ।’ अहिले त धेरैले उनलाई ‘सर्पवाजे’ समेत भन्न थालेको उनी सुनाउछन् ।
सर्प राख्न उनले घरमै दुइवटा खोर बनाएका छन् । दुइवटामा नअटेपछि एउटा ड्रम काटेर प्वाल पारी त्यसमा समेत एउटा सर्प उनले राखेका छन् । भने– ‘दुइचार दिनमा लगेर पाँचवटै सर्प जंगलमा छोड्छु ।’ घरमा राखेका गोमनलाई भ्यागुता र राजासापलाई हरहरे (एक प्रजातीको सर्प) खानका लागि दिने गरेको उनले सुनाए । सर्प समाउनु र जंगलमा लगेर छोड्नु आफ्नो शोख भएको बताउदै उनले भने– ‘ मान्छेले लाखौं रुपैयाँमा कुकुर, खरायो किनेर पाल्छन् त्यो पनि त शोख नै हो, मैले सर्प समाएर उद्धार गरेको छु यो धर्म पनि त हो ।’ खोर बनाउन बाहेक सर्प समाएर कुनै आर्थिक व्यवभार व्यहोर्नु नपरेको उनले सुनाए । एउटा सर्प समाएर ल्याएको दिन उनलाई सबैभन्दा धेरै आनन्द आउने उनले बताए ।
‘अपवाद बाहेक हरेक सपेराको मृत्यू सर्पले टोकेको कारणबाट हुन्छ्’ उखान सुनाउदै उनलाई प्रश्न गरियो सर्पले तपाँइलाई टोक्दैन ? प्रश्न भुईमा खस्न नपाउदै उनले भने– ‘म २००९ साल नागपञ्चमीको दिन जन्मेको, मलाई देख्ने बित्तिकै सर्प आँफै लाटो हुन्छ , म सँग डराउछ सर्प अनि लौरोले थिचेर घाँटीमा समाउछु ।’ प्रायः सर्पसँग खेल्ने गरेको भएपनि उनलाई अहिलेसम्म सर्पले टोकेको छैन । उनले अहिलेसम्म आफूले देखेजति सर्प मार्न नदिएर झोलामा हालेर घर ल्याएको बताए ।

घर परिवारका सदस्यले पटक–पटक सर्प समाउने काम नगर्न आग्रह गरे । श्रीमती, दुई छोरा बुहारी र दुई नाती नातीनाका धनी प्रधानले उनीहरुको आग्रह अस्विकार मात्र गरेनन् , सर्प समाउने कामलाई झन् तिब्रता दिए । ‘कतिपटक त मैले नै फोन आउदा पनि उहाँलाई सुनाइन, श्रीमती मिराले भनिन्–‘ मोबाइल नम्बर पत्ता लगाएर मानछेले फोन गर्छन अनि कुदिहाल्नु हुन्छ ।’ उनले आफूलाई सर्पसँग धेरै डर लाग्ने गरेकाले पक्रेर घरमा नल्याउन आग्रह गर्दा समेत प्रधानले नमानेको बताइन् । भनिन्– ‘अब त मलाई पनि बानी लागिसक्यो तर सर्पको छेउमा भने जान सक्दिन ।’

सर्प उद्धार गर्न उनलाई औजार आवश्यक भएको भएपनि हालसम्म फेला नपरेको बताए । उनले बाँसको अखने (एक प्रकारको पराल सार्ने लौरो) को सहायताले सर्प समाउँदै आएको बताए । डिस्कोभरी, एनिमल प्लानेट जस्ता च्यानलमा सर्प समातेको देखपछि त झन् आफूलाई यसमै केन्द्रित गर्न मन लागेको उनले बताए । वातावरणीय सन्तुलन जोगाउन आफू लागिपरेको बताउदै प्रधानले अहिलेसम्म यो अभियानमा कतैबाट सहयोग नपाएको बताए । उनले भने–‘ सहयोग नपाएपनि यो अभियानलाई निरन्तरता दिन्छु ।’ उनले स्कुल पढ्दैदेखि आफ्नो सर्प समाउने शोख भएको बताए ।

प्रतिक्रिया दिनुहोस्: