सीमा नाकाहरुमा अत्यधिक रुपमा सुपारी तस्करी

झापा । सुपारी खेतीले झापाको कृषि क्षेत्रमा एउटा गौरव कायम राखेको छ । तर, सुपारी निकासी गर्ने उचित व्यवस्था नहुँदा झापाका सीमा नाकाहरुमा अत्यधिक रुपमा सुपारी तस्करी हुने गरेको छ ।

नेपाल सुपारी खेती विकास संस्थाले बिराटनगरको जोगवनी नाकाबाट बाहिरीने सुपारी मात्र नेपालको सुपारी भएको प्रष्ट पारेको छ । झापा सहित नेपालको १८ वटा जिल्लामा सुपारी उत्पादन हुन्छ । नेपालमा ११ हजार ५ सय ७६ मेट्रिक टन सुपारी उत्पादन हुने गरेकोमा झापामा मात्र ९ हजार ७ सय १४ मेट्रिक टन सुपारी उत्पादन हुने संस्थाको तथ्यांक छ ।images supari२२ हजार ७ सय ३९ मेट्रिक टन मात्र सुपारी निर्यात भएको छ । नेपालमा जम्मा ३५ हजार मेट्रिक टन मात्र सुपारी खपत हुने संस्थाको अनुमान छ । बाँकी ४५ हजार ४ सय ४० मेट्रिक टन सुपारी कहाँ जान्छ त ? नेपाल सुपारी खेती विकास संस्थाले विराटनगरको जोगवनी नाकाबाट मात्र सुपारी निर्यात गर्न सिफारिस गरेको संस्थाका अध्यक्ष देवी खतिवडा बताउँछन् ।

आयातित सुपारी अन्य नाकाबाट लुकाईछिपाई अनि मिलेमतोमा निर्यात हुने गरेको छ । तर, सुपारी खपत हुने मुख्य देश भारत भएकाले राज्यले यस विषयमा निकास खतिवडाको धारणा छ ।

सुपारीबाट आर्थिक लाभ लिने थुप्रै व्यापारी छन् झापामा । वैधानिक तरिकाले भन्दा पनि अवैधानिक तरिकाले लाभ लिने बढी छन् । भारतसँग सीमा जोडिएको पूर्वी नाका काँकरभिट्टा र आसपासका क्षेत्रबाट सुपारीको तस्करी हुने कुरा नौलो होइन । सबैभन्दा बढी सुपारी झापामै उत्पादन हुने भएकाले चलखेल पनि झापामै हुन्छ । तर त्यो चलखेलको लाभ भने केन्द्रकाले पनि लिने गर्छन् । सुरक्षाकर्मीको काम तस्करी रोक्नु पनि हो । तर, सुरक्षाकर्मीको मिलेमतोमा हुने तस्करीले धेरैलाई आश्चर्यमा पारेको छ । नियन्त्रण गर्ने निकाय नै तस्करीमा संलग्नको सहयोगी बन्नु झापामा लाजमर्दो विषय बनेको छ । केही मिहिना अघिमात्र सुपारी तस्करसँग मिलेको भन्दै काँकरभिट्टाका केही प्रहरीले कारवाही खेप्नु पर्यो । काँकरभिट्टा नाकामा पछिल्लो तस्करसँग साँठगाँठ गरेकै कारण पछिल्लो पाँच महिनाको अवधिमा ३५ प्रहरीलाई कारवाही गरेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी अर्जुनप्रसाद तिमिल्सिना बताउँछन् ।

तर पछिल्लो समय झापामा खुलेआम सुपारी तस्करी भईरहँदा पनि प्रहरी भने मौन छन् । सुपारी तस्करीका मुख्य नायिकेहरुमा भारतको नक्सलमा नारायण अग्रवाल नामका व्यापारी छन् । काठ्माण्डौमा भने तायल थरीका माडवारी तस्करीको चाँजोपाँजो मिलाउँछन् तस्करीमा संलग्नहरुले उद्योग वाणिज्य संघमार्फत उत्पतिको प्रमाणपत्र लिएर सुपारी झापा र मोरङमा उत्पादन भएको भनी तस्करी गर्ने गरेका छन् ।

नेपालमा ११ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । डेढ लाख मेट्रिक टन सुपारी तेस्रो मुलुकबाट नेपाल भित्रिन्छ । पूर्वि तराईको बोर्डरबाट अवैध तरिकाबाट सुपारी निकासा गर्न भारतले रोकेको छ । तर पनि तस्करीको गिरोह नै लागेर दिनहुँ सुपारी तस्करी भईरहेको छ । तस्करीमा संलग्नहरुले साँझ वा राती मौका छोपेर निकासी गर्ने गरेका छन् ।
सीमामा हुने तस्करी नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टामा डीएसपी राखिएको छ । डीएसपी तिमिल्सिना आफू नाकामा आएयता तस्करी रोकिएको दावी गर्छन् । तर, डीएसपीको आगमनपछि पनि नाकामा सुपारी तस्करी झन बढेको स्रोतले जनाएको छ । केही महिना अघिसम्म लुकाई छिपाई हुने सुपारी तस्करी अहिले खुलेआम हुने गरेको छ । पहिले पहिले प्रहरीले सुपारी तस्करीमा बिशेष ध्यान दिएर नियन्त्रण गरेको थियो । तर, अहिले तस्करी नियन्त्रण गर्न नाकामा खटिएका शसस्त्र र नेपाल प्रहरीकै सहयोगमा सुपारी भारत जाने गरेको तथ्य फेला परेको हो । सयौंका संख्यामा खटिएका प्रहरीले नै लाइन दिएर सुपारी सीमा पार गराउने गरेका छन् । उनीहरुले तस्करीमा संलग्नसँग आर्थिक लाभ लिएर सुपारी सीमा कटाउने गरेका हुन् । कानुनत आयातित बिदेशी सुपारी तेस्रो मुलुक निर्यात गर्न पाइदैन ।

बर्दीयाबाट सरुवा भएर भर्खरै झापा आउका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल भन्छन्– ‘खुला सीमानाको कारणले सानोतिनो तस्करीहरु झोलामा, ईत्यादीमा लैजाने क्रमहरु छ भन्ने कुरा सुन्नमा आएको छ । ती कुराहरुलाई पनि हामीले नियन्त्रण गर्नुपर्ने हुन्छ । तर, मास स्केलमा लाईन मिलाएरै चाहिँ तसकरी भएको छैन भननुभएको छ मलाई । र म हुन पनि दिन्नँ ।’

यसरी हुन्छ तस्करी…
सरकारले काँकरभिट्टाको भन्सार गेट, आसपासका चोकचोक र सीमावर्ती मेची नदी किनारामा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई सुपारी तस्करी नियन्त्रण गर्न खटाएको छ । तर, तिनै प्रहरीले तस्करसँग पैसा लिई सुरक्षित तवरले सुपारी निकासी गर्न सहयोग गरिरहेको स्रोत बताउँछ । ठूला तस्करले मूल सडकबाट भारत निकासी गर्छन् भने पोके व्यपारीले साइकल, रिक्सामा लोड गरेर सीमा कटाउने गर्दछन् । भन्सार नाकामा चेक प्वाइन्ट खडा गरेर बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले नजिकैको घुम्तीमा पैसा जम्मा गर्न लगाउने गरेको स्रोतले जनाएको छ । भन्सार गेटमा रहेको पानपसलमा पैसा जम्मा गरेपछि सुपारी लान प्रहरीले सिग्नल दिने र प्रहरीको सिग्नल पाएपछि सुपारी सीमा कट्ने गरेको छ । पैसा जम्मा गरेपछि व्यापारीले एक पटकमा १० रिक्सासम्मे सुपारी सीमा कटाउने गरेका छन् । अचम्मको कुरा त के छ भने महिलाले सुरुवालमा हालेर सुपारी सीमा कटाउने गरेका छन् । मेची नदी किनारमा उनीहरुले सुरुवालको सुपारी बोरामा खन्याउने गरेका छन् । पुल तर्ने महिला पोके व्यपारीको सुरुवाल, पेट अस्वभाविक हुन्छ । जो कोहीले सुपारी बोकेको थाहा पाउँछन् । उनीहरु प्रहरी कै अघिबाट पुल र खोला किनार तर्छन् तापनि प्रहरी देखेको नदेख्यै गरिदिन्छ ।
त्यसैगरी काँकरभिट्टा मेची नदी किनारमा रहेका सशस्त्र प्रहरीले पोके ब्यापारीबाट पैसा लिएर सुपारी निकासी गर्न दिने गरेका छन् । उनीहरुले एक पटकमा १० जना पोकेलाई सुपारी तार्न दिने गरेका छन् । डिउटी गर्न बगरतिर गएका सशस्त्र र नेपाल प्रहरीका जवानले तस्करसँग लाइन मिलाउँदै दिनभर तास खेलेको हेरेर बस्ने गरेका छन् । तस्करले खुलेआम प्रहरीसँगको साँठगाँठ गर्ने गरेको दृष्य जो कोहीले देख्न सक्दछ । सुपारी तस्करले नेपाल प्रहरीलाई मात्र पैसा दिए सशस्त्रले र सशस्त्रलाई मात्र दिए नेपाल प्रहरीले पक्रिने गरेको भारतका एक पोके ब्यापारीले बताए । उनले प्रहरीलाई पैसा नदिइ उपाय नै नभएको बताए ।

निरिह सुरक्षा अधिकारी
सीमा क्षेत्रमा तस्करी नियनत्रण गर्न भन्दै सयौंको संख्यामा खटेका प्रहरीको बिषयमा जिल्लाका कुनै पनि उच्चपदस्त सुरक्षा अधिकारी मुख खोल्न चाहँदैनन् । उनीहरु भन्छन् ‘सुपारीको बिषयमा कुरै नगरौ ।’ झापाका प्रहरी प्रमुख एसपी मुकुन्द आचार्यले सुपारी तस्करलाई छुट नदिएको बताए । उनले भने ‘हामी पक्राउ गरिरहेका छौं । यसले पुष्टि गर्छ कि हामी तस्करी नियन्त्रण गर्न कतिसम्म लागिपरेका छौं । हामीले भेटेसम्म पक्राउ गरेका छौं ।’

इलाका प्रहरी काँकरभिट्टाका डिएसपी अर्जुनप्रसाद तिम्ल्सिनाले केही प्रहरीलाई कारवाही गरेपछि हाल जवानले सुपारी तस्करलाई साथ नदिएको दावी गरे । उनले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई कारवाही गर्ने गरेको प्रष्ट पारे ।

हरेक प्रमुख जिल्ला अधिकारले झापामा आउँदा तस्करी रोक्ने प्रतिबद्धता जनाउँछन् तर फर्कदासम्म कुनै प्रगति हुँदैन । सुरक्षा निकायले सुपारी तस्करी नियन्त्रणको प्रयास गरे दलदेखि व्यापारीका नेताको दवाव र धम्की व्यहोर्नु पर्छ । नेपाल प्रहरीका एक अधिकृतले भने ‘सुपारी आउने र जाने कुरा सबैलाई थाहा छ, फाईदा सबैले लिएका छन् तर प्रहरीलाई मात्र दोस् दिइन्छ ।’ उनले भने ‘नियन्त्रण गर्न खोज्यो अनावश्यक दवाव झेल्नु पर्छ ।’

सुपारी तस्करीमा पोका बोक्ने व्यक्ति मात्र होइन दलका नेता र ठूल्ठूला व्यापारी समेत संलग्न छन् । तेस्रो मुलुकबाट आयातित सुपारी भारत निर्यात हुने गरेको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यातका लागि तोकिएको कोटामा निर्यात हुने हो । तर, नदी किनारबाट जाने सुपारी बिगतदेखि नै बिवादस्पद बन्दै आएको छ । हुन त सुपारी तस्करीले आर्थिक रुपले कसैलाई पनि घाटा छैन । यसमा संलग्न ब्यापारी, प्रहरी, नेता, कर्मचारी र पोकेसम्म सबैलाई लाभ नै मिलेको छ । तर, सुपारी तस्करीले राष्ट्र सेवक कर्मचारी र नेताको नैतिकता रुपैयाँमा साटिदिएको छ ।

पछिल्लो समय झापा जिल्ला सुपारी तस्करीको जिल्ला भनेर चिनिन थालेको छ । प्रहरीले नियन्त्रण गर्न खोज्यो भने त्यस्ता प्रहरीले सरुवा र घटुवाको धम्की व्यहोर्नु पर्छ । व्यापारीका नेताले दलका नेता मार्फत प्रहरीलाई दवाव दिने गरेका छन् । लाइन खुलाउन नमान्ने र स्थानीय नेताले भनेको नटेर्ने प्रहरी बिरुद्ध माथिल्लो निकायसम्म उजुरी हुने गरेको छ । जसले प्रसाशन र सुरक्षा निकाय निरिह बनाएको छ । तस्करी रोक्न खोज्ने सुरक्षा प्रमुखलाई तुरुन्तै सरुवा र घटुवाको धम्की आउने हुनाले तसकरी नरोकिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्: