सुर्तिजन्य पदार्थको बिक्री ह्वात्तै घट्यो

झापा । सरकारले सुर्तिजन्य पदार्थको खोलमा अनिवार्य रुपमा क्यान्सर रोगको चित्र प्रकाशन गरेर बिक्री गर्नुपर्ने नियम बनाएपछि यसको व्यापार ह्वात्तै घटेको छ । सुर्तिजन्य पदार्थका प्याकेटमा क्यान्सर रोगका डरलाग्दा तस्वीर सार्वजनिक हुन थालेपछि पछिल्लो समय खैनी, गुट्खा तथा चुरोट जस्ता सुर्तिजन्य पदार्थको बिक्री घटेको हो ।

केहीदिनयता घडी छाप खैनी, निधि गुट्खाको खोलमा गालामा क्यान्सर भएको र सूर्य चुरोटमा मुटुको क्यान्सर भएको तस्वीर छापिन थालेपछि यसका सेवनकर्ता घटेका हुन् । पहिले–पहिले खैनीको प्याकेटमा ‘सुर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तिजन्य पदार्थको सेवनले ज्यान लिन्छ’ भन्ने सन्देश लेखिएको हुन्थ्यो । तत्कालका लागि यो कानुनी प्रावधान पनि थियो । तर, यतिबेला सरकारले ‘निकोटिन’ मिश्रित सुर्तिजन्य पदार्थमा अनिवार्य रुपमा क्यान्सर रोगको तस्वीर प्रकाशन गर्न निर्देशन दिएसँगै यसको व्यापारमा ठूलो असर पुगेको हो ।

यतिबेला डरलाग्दा रोगका तस्वीरमात्र नभई ‘सुर्तिजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्ति सेवन गर्न छोडौं’ जस्ता कुरा लेखिन थालेपछि सुर्तिजन्य पदार्थ सेवन गर्नेहरु डराउन थालेका छन् । सुर्तिजन्य पदार्थको सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक छ भन्ने जान्दा–जान्दै पनि सेवन गरिरहेकाहरु यतिबेला यसको बिकल्पको खोजीमा छन् ।

‘केहीदिन पहिले म निधि गुट्खा दिनको ६ प्याकेट बेच्थें’ बिर्तामोडका नेत्र थापाले भने– ‘अहिले २ प्याकेट बिक्न पनि मुस्किल छ । खोल देख्ने बित्तिकै धेरैजना तर्सिन्छन् ।’ केही सुर्तिजन्य पदार्थका प्याकेटमा यसअघि बिच्छीको तस्वीर प्रकाशित गरिएपनि यसले खासै डर नलागेको यसका सेवनकर्ता बताउँछन् । तर, मुटु, गाला र घाँटीको क्यान्सरको तस्वीर देखेपछि किन्न पनि आँट नआउने उनीहरुको भनाइ छ ।

यता ‘निधि’ गुट्खा उत्पादन गरिरहेको भद्रपुरको नारायणराज प्रोडक्टले क्यान्सरको तस्वीर छाप्न थालेपछि २५ प्रतिशत व्यापार घटेको बताएको छ । नारायणराज प्रोडक्टका सञ्चालक पर्शुराम अग्रवालले भने– ‘लोगो नछापिएको पुरानो सामान मात्र बिक्दैछ । लोगो देखेपछि डरैले किन्दैनन् । एक तीहाई नै ब्यापार घटेको छ ।’ तर, अन्य व्यापारीहरुले भने ८० प्रतिशत व्यापार घटेको बताए ।

नारायणराज प्रोडक्टले अन्य कम्पनीले सरकारले लगाएको यो नियम कार्यान्वयन गर्न अटेर गरेको जनाएको छ । ‘निकोटिन मिश्रित उत्पादनको ७५ प्रतिशत प्याकेटको भागमा क्यान्सरको चित्र समावेश हुनुपर्ने नियम बैशाखबाट लागु भएको छ,’ अग्रवालले भने– ‘तर, बिराटनगर, धरान, काठ्माडौं र पश्चिमका उद्योगहरुले अझै त्यस्ता तस्वीर प्रकाशन गरेका छैनन् ।’ शाही शिखर, राधे–राधे शिखरलगायतले अझै पनि क्यान्सरका तस्वीर प्रकाशन नगरेको अग्रवालले बताए ।

ती उद्योगहरुले अझै पनि पूरानो ‘स्टक’ सामान हो भन्दै त्यस्ता तस्वीर प्रकाशन नगरेको बुझिएको छ । सरकारले नै नियम बनाएपछि सबैले मान्नुपर्ने अग्रवालको बुझाई छ । ‘ग्राहकले लोगो देखेपछि डराएर, तर्सिएर किनेनन् भने उनीहरुको स्वास्थ्यलाई नै फाईदा हुन्छ,’ अग्रवालले भने– ‘ग्राहकको स्वास्थ्य महत्वपूर्ण कुरा हो । हामीले त्यस्तो लोगो छापेर सचेत त गराउनै पर्छ । व्यापार त अरु पनि गर्न सकिन्छ । तर लोगो प्रकाशनको कुरामा भने सरकारले एकरुपता ल्याउनैपर्छ ।’ यसको अनुगमन गर्ने जिम्मा आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासन कार्यालयले पाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्: