आर्थिक क्रान्तिका लागि कृषिको बिकास

विर्तामोड १४ चैत्र । सिंचाईमन्त्री नारायणप्रसाद साउदले कृषि क्षेत्रको विकासले मात्र देशमा आर्थिक क्रान्ति हुने बताएका छन् । कृषकको जीनजस्तर उकास्न सकेमात्र देशको विकास सम्भव हुने उनको भनाई थियो ।
झापाको पाँचगाछीमा विश्व बैंकको लगानीमा निर्माण भएको कन्काई नहर जल उपभोक्ता संस्थाक भवन उद्घाटनपछि बोल्दै सिंचाइमन्त्री साउदले उक्त कुरा बताएका हुन् । विश्व बैंकको ५७ लाख ७४ हजार ४ सय ४९ रुपैयाँमा निर्माण भएको भवन उद्घाटन भएको छ । नवनिर्मित २ तले कार्यालय भवन २ कोठे कृषि सामाग्री वितरण केन्द्र र शौचालय रहेको छ ।
उनले कृषकको हितका लागि उनिहरुलाई कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउन सरकारले सिंचाइ ऐन ल्याउने तयारी गरेको जानकारी दिए । सिंचाईका लागि सरकारले गरेको लगानीबाट सिंगो समुदायले सदूपयोग गर्न उनले आग्रह गरेका थिए । उनले नहर अतिक्रमण गरी बनाएका शौचालय तथा अन्य टहराहरु भत्काउन झापाका प्रजिअ तेजप्रसाद पौड्ललाई निर्देशन दिए ।
कृषकको जीवनस्तर उकास्ने उद्देश्यले २१ वर्षअघि झापाको पाँचगाछीमा गठन भएको कन्काई नहर जल उपभोक्ता संस्थाले नयाँ भवनबाट व्यवस्थापन गर्न सुरु गरेको छ । तोपगाछी, बैगुनधुरा, पाँचगाछी, महाभारा, धरमपूर गाविस र शिव–सतासी नगरपालिकाका ९ हजार घरधुरीको ७ हजार हेक्टर क्षेत्रफलमा सिंचाई गर्न उक्त नहर निर्माण गरिएपछि त्यसको उचित व्यवस्थापन नहुँदा समस्या हुँदै आएको थियो ।
३६ किलोमिटर प्रमुख नहर, ७४ किमी शाखा तथा प्रशाखा नहर ११० किमी रहेको नहरबाट कृषि उत्पादनलाई बृद्धि गर्नु, सिंचाईका लागि उपयुक्त तथा भरपर्दौ रुपमा सञ्चालन गर्नु, मर्मत–संभार, सुरक्षा एवं विस्तार, श्रोत जुटाउने लगायतका काम गर्दै आएको छ ।

नेपाल सरकार सिंचाई विभागको सिंचाई तथा जलश्रोत व्यवस्थापन आयोजनाले व्यवस्थापन गर्दै आएको उक्त नहर गत २०६६ साल मंसिर २२ गतेदेखि स्थानीय उपभोक्तालाई हस्तान्तरण गरेपछि नहरको रेखदेख तथा व्यवस्थापनमा सुधार आएको थियो । साथै आधुनिक तरिकाबाट कृषि उत्पादन गर्न कृषकलाई प्रोत्साहन मिलेको छ ।
नहरको पानी प्रयोग गरेबापत प्रतिबाली २ सय रुपैयाँ लिइदै आएको उक्त कन्काई नहर जल उपभोक्ता संस्थाले गत आर्थिक वर्ष २०७०÷०७१ मा १८ लाख ७१ हजार, ३ सय रुपैया आम्दानी गर्न सफल भएको संस्थाका अध्यक्ष सूर्यनारायण सिंह ताजपुरीले बताए । उनले स्ािंचाई पुगेपछि उत्पादित कृषिबस्तुलाई भण्डारण गरी बेमौसममा बजार भर्न सितगृह कोल्ड स्टोर्स निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए ।
त्यसैगरी कृषकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन उन्नत जातको विउ–विजन उत्पादन गर्ने, ड्राइसेल मिल सञ्चालन गर्नका लागि थप लगानी आवश्यक भएकाले सरकारको ध्यान जान आग्रह गरेका थिए । १÷ १ वर्ष गरी आधा भागतर्फ र अर्को वर्ष एसओ देखि एस १२ सम्म आलोपालो गरी पानी दिने व्यवस्था गरिएकोमा आगामी दिनमा लाफादी बाध, ढ्यांग्री खोला र माहुरमारालाई नहरको लागि अध्यायन गरी आवश्यक रकम विनियोजनका लागि सिंचाईमन्त्रीसमक्ष आग्रह गरे । कार्यक्रममा पूर्व क्षेत्रीय सिंचाई निर्देशनालयका निर्देशक विनोदकुमार झाले हरितक्रान्तिमार्फत कृषि उत्पादन बढाउन कृषक लागिरहनुपर्ने बताए । उनले कृषि क्षेत्रको रुपान्तरण नगरे देशमा आर्थिक क्रान्ति नहुँने धारणा राखेका थिए ।
कार्यक्रममा पूर्वाञ्चल सिंचाई विकास डिभिजन नं १ का कुञ्जनभक्त श्रेष्ठले कृषकको समस्या समधान गर्ने उद्देश्यले कन्काई सिंचाई आयोजना सम्पन्न भएको जनाउँदै धेरै संर्घषपछि मात्रै उक्त आयोजना निर्माण गर्न सफल भएको बताए । कार्यक्रममा विशिष्ठ अतिथि सभाषद्द्धय दीपक कार्की, महेन्द्रा सुब्बा, झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले कृषकलाई आत्कनिर्भर बनाउन सरकारले दीर्घकालिन योजना ल्याउनुपर्ने आवश्यकता औल्याएका थिए । सूर्यनारायण सिंह ताजपूरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टंकनाथ ढुंगेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: