राष्ट्रव्यापी बहस आवश्यक

नयाँदिल्ली १६ चैत । दार्जीलिङमा छुट्टै राज्य गोरखाल्याण्ड गठनको माग गर्दै संघर्षरत गोरखा जनमुक्ति मोर्चाका नेताहरुले नयाँ दिल्लीमा सामाजिक संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् ।

गोरखाल्याण्ड क्षेत्रीय प्रशासनका उपाध्यक्ष लोपसाङ लामा नेतृत्वको टोलीले एशोसिएशन फर रिसर्च अन् नन् प्रोफिट अर्गनाइजेसन्स एण्ड भोलेण्टरी एक्टिभिटिज (आर्नोवा) का प्रतिनिधिसँग दिल्लीमा छलफल गरेको हो ।

उपाध्यक्ष लामासँगै सभासद् पीके ओला, गोरखा जनमुक्ति मोर्चा निकट शिक्षक संगठनका महासचिव छिरिङ तामाङ, मोर्चाका केन्द्रीय सदस्य दिवाकर गुरुङलगायतका नेताहरुले गोरखाल्याण्ड आन्दोलनलाई अघि बढाउने विषयमा धारणा राखेका थिए ।

गोरखाल्याण्ड आन्दोलनलाई अझै सशक्त बनाउनका लागि दिल्लीमा रहेका नेपाली सामाजिक संगठनले पनि सकारात्मक भूमिका खेल्नु पर्ने धारणा उपाध्यक्ष लामाले व्यक्त गरेका थिए ।

यसैगरी, आर्नोवाका संस्थापक अध्यक्ष रुबेन गुरुङले गोरखाल्याण्ड आन्दोलनलाई बौद्धिकस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिदै राष्ट्रव्यापी बहसको आवश्यकता औल्याए । कार्यक्रममा आर्नोवाकी पूर्व अध्यक्ष प्याट्रिशिया निकोलस, सरिता केसी, दिनेश लाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: