पत्रकार ढकाललाई एसएल शर्मा पत्रकारीता पुरस्कार

विर्तामोड १७ चैत । ६० औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले सोमबार देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको एसएल शर्मा शिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मण ढकाललाई सोमबार पुरस्कृत गरेको छ ।

तीनदशक यता पत्रकारितामा योगदान पु¥याएको भन्दै पत्रकार ढकाललाई १० हजार नगद, सम्मानपत्र तथा दोसल्ला ओडाएर पुरस्कृत गरिएको हो । त्यसैगरी प्रत्येक वर्ष एक जना पत्रकारको श्रीमतिलाई प्रदान गरिदै आएको पार्वती प्रोत्साहन पुरस्कारबाट पत्रकार लेखनाथ परदेशीकी धर्मपत्नी कृष्णकला पाठकलाई प्रदान गरेको छ ।

प्रोत्साहन पुरस्कारको राशी ५ हजार, सम्मानपत्र रहेको छ । पुरस्कृत व्यक्तिलाई नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारीले पुरस्कृत गरेका थिए । पत्रकार गोपाल गिरीले पुरस्कृत पत्रकार ढकालको र पत्रकार अम्बिका भण्डारीले पाठकको जीवनी वाचन गरेका थिए ।

भीम नेम्बाङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी, झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, पुरस्कार संरक्षक राजेन्द्र सलक, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजी न्यौपाने, पुरस्कृत पत्रकार लक्ष्मण ढकाल, वीरता लेडी जेसीजकी अध्यक्ष पार्वता विमली, उद्योगी जगदीश मिण्डा, सहित्यकारहरु पुण्यप्रसाद खरेल, गोपिकृष्ण खनाल, डा. पृथ्वीविक्रम राई लगायतले पुरस्कृत व्यक्तिलाई शुभकामना दिएका थिए ।

तारामणि सापकोटाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन गोपाल झापालीले गरेका थिए । ०६२ सालमा स्थापित ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’बाट यसअघि कृष्ण धरावासी, लीला उदासी, चन्द्र भण्डारी, गोविन्द क्षेत्री, चिन्तामणि दाहाल, कृष्ण हुमागाँई, गोपाल गिरी, गोपाल गड्तौला, भीम नेम्वाङ र मोहनकाजी पुरस्कृत भइसकेका छन् ।

त्यस्तै ०६६ सालमा स्थापित ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पत्रकार लीला बरालकी श्रीमती कुन्ता बराल, पत्रकार मदन ढकालकी श्रीमती सावित्रा ढकाल, पत्रकार माधव विद्रोहीकी श्रीमती सञ्जु भण्डारी, पत्रकार अमृतलाल श्रेष्ठकी श्रीमती नीलु श्रेष्ठ र पत्रकार दीपिन राईकी श्रीमती लीला राई पुरस्कृत भइसकेका छन् ।
१९८३ सालमा जन्मिएर प्रेस स्वतन्त्रताकालागि अतुलनीय योगदान पु¥याएका शर्माको निधन २०६० सालमा भएको थियो । उनको योगदान र स्मृति ताजा राख्न उनका छोरा राजेन्द्र शलभ तथा शर्मा परिवारको अगुवाइमा ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’ को स्थापना २०६२ सालमा भएको थियो ।

१९८७ सालमा जन्मिएर प्रेस स्वतन्त्रताकालागि अतुलनीय योगदान पु¥याउने एसएलकी सहयात्री पार्वतीदेवीको निधन २०६५ सालमा भएको थियो । एसएलको पत्रकारिता जीवनमा पार्वतीदेवीले योगदान पु¥याए झैं अरु पत्रकारलाई पत्रकारिता गर्न सहयोग पु¥याउने श्रीमतीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कारको स्थापना २०६६ सालमा भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्: