सहकारी दिवस मनाइदै

बिर्तामोड । डिभिजन सहकारी कार्यालय झापा र जिल्ला सहकारी संघ झापाको संयुक्त आयोजनामा झापाको गौरादहमा भोलि (शुक्रबार) ५८औं सहकारी दिवस मनाइदैछ ।

२०१३ साल चैत २० गते चितवनमा बखान सहकारी संस्थाको स्थापनापछि यो दिवस मनाउन थालिएको हो । जस अन्तरगत झापामा पनि ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मूल नाराका साथ मनाइने भएको हो ।
सहकारी दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा जिल्ला सहकारी संघले पत्रकार राजेन्द्र गौतमलाई सम्मान गर्ने भएको छ । प्रतिदिन दैनिकका सम्पादक गौतमलाई पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रमा उल्लेख्य योगदान पुर्याएवापत सम्मान गर्न लागिएको जिल्ला सहकारी संघका सह–सचिव युवराज ढकालले जानकारी दिए । सह–सचिव ढकालका अनुसार जिल्ला सहकारी संघले स्थानीय सरगम एफएमलाई पनि सम्मान गर्नेछ ।
यता डिभिजन सहकारी कार्यालय झापाले भने पत्रकारद्वय तीर्थ सिग्देल र एकराज गिरीलाई सम्मान गर्ने भएको छ । सिग्देल रेडियो बिराटका प्रवन्ध निर्देशक हुन् भने पूर्वाञ्चल दैनिकका कार्यकारी सम्पादक गिरी पत्रकार महासंघ झापाका सचिवसमेत हुन् । लामो समयदेखि पत्रकारितामा कृयाशिल पत्रकार सिग्देल र गिरीले सञ्चारमाध्यमबाट सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै सम्मान गर्न लागिएको डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधव पोखरेलले जानकारी दिए ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाका अनुसार निवर्तमान गभर्नर डा. युवराज खतिवडाले सहकारी दिवस र स्वर्ण उद्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्: