दशनामी समाजको चौथो राष्ट्रिय महाधिवेशन शुरु

काठमाडौं २१ चैत । नेपाल दशनामी समाजको चौथो राष्ट्रिय महाधिवेशन शनिबारबाट काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति परमानन्द झाले मुलुकको संक्रमणकाललाई जतिसक्दो चाँडो अन्त्य गर्नुपर्ने बताए ।

उपराष्ट्रपति झाले संक्रमणकाल चाँडो अन्त्यका लागि सबै नेपाली नागरिकबाट राज्यले सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । अर्को एक प्रसंगमा उपराष्ट्रपति झाले धेरै जाति हरुलाई अन्य भनी गरिएको विभाजनले नेपाली भित्र विभेदको अवस्था सिर्जना भएको बताए ।

उपराष्ट्रपति झाले जातीय पहिचानका लागि ‘ नेपाल दशनामी समाजको आह्वान–अन्यबाट हटाई आदिवासीमा पहिचान’ भन्ने नारा सान्दर्भिक रहेको बताए । कार्यक्रममा सभासदहरु प्रेमबहादुर गिरी र गोपाल गिरीले दशनामीहरु अन्य नभएको प्रष्ट पार्दै दशनामीलाई अल्पसंख्यक र आदिवासीमा सूचिकृत गर्नुपर्ने माग गरे ।

उनीहरुले अब बन्ने संविधानमा दशनामीलाई अन्यबाट हटाई अल्पसंख्यक र आदिवासीमा सूचिकृत गर्न पहल गर्ने बताए ।
दशनामी समाज भित्र गिरी,पुरी,भारती,वन,पर्वत,सागर,सरस्वती,आश्रम,आरण्य र तीर्थ पर्दछन् ।
उक्त अवसरमा नेपाल दशनामी समाजमा विशिष्ठ योगदान पुर्याउने तथा समाजका प्रतिभाहरु गरी १२ जनालाई सम्मान प्रदान गरिएको थियो । यस वर्षको डा. महेश्वर भारती दशनामी विज्ञान पुरस्कार डा. महेश्वर चन्द्र गिरी र डा. सरस्वती भारती लाई संयुक्तरुपमा प्रदान गरियो ।

२०७० को एसएलसीमा सर्वोत्कृष्ट दृष्टि गिरीलाई दशनामी युवा प्रतिभा पुरस्कार प्रदान गरियो । समारोहमा दशनामी समाजका संस्थापक अध्यक्ष लीलाप्रसाद गिरी,पूर्व अध्यक्ष राजेन्द्रप्रसाद गिरी,सल्लाहकार लीला भारती,लक्ष्मीरमण वन, डा. महेश्वर भारती,पूर्व सल्लाहकार धु्रवराज पुरी,शम्भुराज पुरी,बाबुराम गिरी र पत्रकार रमेश गिरीलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष रविन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएको महाधिवेशनको बन्द सत्रले नया नेतृत्व चयन गर्ने समाजका संरक्षक भरतलाल गिरीले जानकारी दिए । देशभरबाट नेपाल दशनामी समाजका ७ सय प्रतिनिधि पर्यवेक्षक महाधिवेशनमा सहभागी छन् ।

नेपाल दशनामी समाजको केन्द्रीय समिति बाहेक ३ अञ्चल र ५६ जिल्ला समिति छ । समाजको स्थापना २०५३ सालमा भएको हो । नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद गिरी , समाजका संरक्षक भरतलाल गिरी, सल्लाहकार हर्कलाल गिरी, मेची संयोजक गोविन्द विक्रम गिरी, झापा अध्यक्ष चन्द्रप्रसाद गिरी लगायतले बन्द सत्रमा धारणा राख्दै देशभरका दशनामीलाई संगठित गरी दशनामी वन्धुको हक अधिकार र पहिचान स्थापित गर्न समाज क्रियाशील हुनुपर्ने बताए । महासचिव खिल गिरीले स्वागत गरेको कार्यक्रम सानुराजा पुरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: