सीमावर्ती क्षेत्रमा खुलेआम भारतीय एन्टेना

भद्रपुर । हिजोआज झापाका धेरै घरका छाना तथा छतहरुमा रंगीबिरंगी डिस एन्टेनाहरु ठड्याइएको देखिन्छ । टाटा, एयरटेल, डिस लगायतका विदेशी टीभी एन्टेनाले घरभित्रको माहोल पनि तताइरहेको छ ।

स्वदेशी मात्र हो र छिमेकी देश भारतमा निर्मित च्यानलहरु प्रसारण हुने डिस एन्टेनाहरु नेपाली बजारमा खुलेआम बिक्रि भइरहेका छन् । झापाका सीमावर्ती क्षेत्र भद्रपुर, चन्द्रगढी, पृथ्वीनगर, पाठामारी, लगाएतका बजारमा त झन् स्वदेशीभन्दा भारतीय डिस एन्टेनाहरु कै बोलवाला देखिन्छन् ।

जसले नेपालमा बिक्रीका लागि आधिकारिक एजेन्ट नै बनाएर स्वदेशी डिस एन्टेनाको ब्यापारमा असर पारिरहेका छन् । तर, खुलेआम तरिकाबाट सञ्चार क्षेत्रमा भइरहेको यस प्रकारको ब्यापारिक हस्तक्षेप प्रति सम्बन्धित निकाय मौन रहेको छ । यस्ता सामग्रीहरु भू उपग्रह च्यानलबाट भन्दा केवल टिभीहरुबाट बढी नै प्रवाहित हुने गरेका छन् ।

जसको निगरानी सम्बन्धित मुलुकबाट पनि भइरहेको अवस्था छैन । यस विषयमा साई केवल भद्रपुरका संचालक राम उप्रेतीले भारतीय एन्टेनाको प्रयोगले स्वदेशी केवल मारमा परेको बताए । पटक पटक प्रशासनलाई लिखीत तथा मौखीक जानकारी गराउँदा समेत चासो नदेखाएको उनले बताए । नेपाली सर्वसाधारणका घरमा मात्र होइन यहाँका केही सरकारी कार्यालयमा पनि भारतीय डिस एन्टेना ठडिएका छन् ।

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको इजाजत नलिई बिक्री वितरण भइरहेका भारतीय डिस एन्टेनाहरु हटाउन ७५ वटै जिल्लाका हुलाक कार्यालयलाई अनुमति दिइएको सो मन्त्रालयले जनाएको छ ।

तर आ–आफ्नै कार्यालय आसपासका पसलहरुमा खुलेआम बिक्री वितरण भइरहँदा पनि जिल्ला हुलाक कार्यालयले कुनै कारर्वाही गर्न सकिरहेको छैन् । झापाका निमीत्त हुलाक प्रमुख रामहरी खतिवडाले कानूनी रुपमा यस्ता एन्टेना राख्न नपाइने बताउदै संचार मन्त्रालयको निर्देशन बिना केही गर्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: