बैदेशिक रोजगारीमा लाने भन्दै ठगी

बिर्तामोड । झापाको बिर्तामोडको फ्लोरिड ह्यूमन रिसोर्स प्रालिका सञ्चालक राजकुमार थापाले २०७० मंशीरमा उर्लाबारी–४ मोरङका दुर्गाबहादुर कार्कीको राहदानी जफत गरे । बैदेशिक रोजगारको लागि मलेशिया पठाउछु भन्ने आश्वासन दिएका उनले राहदानी मात्र लगेनन्, ३० हजार रुपैयाँ समेत हत्याएको कार्कीको आरोप छ ।

कार्कीका अनुसार थापाले बिर्तामोडमा मेडीकल गर्न भन्दै एउटा स्वास्थ्य संस्थामा पुर्याए । मेडीकल फिट भएको रिपोर्टपछि उनी काठमाण्डौ लगिए । काठमाण्डौको एकता र लाइफ केयर नामका हस्पिटलमा दुईपटक मेडीकल गरे ।

दुबै ठाउँबाट अनफिट भएपछि आफु झापा फर्किएको उनले बताए । झापा फर्किए लगतै राहदानी र पैसा फिर्ता पाउन उनी थापाले चलाएको मेनपावरमा पुगे । थापाले श्रम, टिकट र भिषाको पैसा दिए मात्र पासपोर्ट फिर्ता दिने चेतावनी दिए ।

कार्कीले लगतै जिल्ला प्रशासन कार्यालय झापामा रोजगारमा लाने भन्दै पैसा ठगी गरेको उजुरी हालेको बताए । थापाले प्रशासनमा हालेको उजुरी मिलीसक्यो भन्दै कार्कीलाई फिर्ता लिन आग्रह गरे । कार्कीका अनुसार थापाले उजुरी फिर्ता गरे पैसा र राहदानी दिने बताएका थिए ।

थापाको आश्वाशनपछि गत मंशीरमा उजुरी फिर्ता लिएका कार्कीलाई हालसम्म न त राहदानी नै दिएको छ न त पैसा नै । उनले मेनपावर धाउँदा–धाउँदा अरु थप खर्च भइसकेको बताए । अहिले फेरी थापाले श्रम, टिकट र भिषाको पैसा दिए मात्र राहदानी फिर्ता दिने अडान राखेको उनले बताए ।

मेनपावरलाई दिएको ३० हजार पनि ऋण गरेर ल्याएको बाउदै पिडित कार्कीले भने–‘ ऋण गरेको पैसा हो तिर्नको लागि अहिले काम गर्न थालेको छु ।’ मेनपावरका शाखा तथा सम्पर्क कार्यालयहरुले श्रमिकहरुबाट राहदानी र पैसाको कारोवार गर्न नपाउने कानुनी ब्यवस्था रहेको श्रम कार्यालय झापाका प्रमुख दयानन्द नेपालले बताए ।

फ्लोरिड मेनपावर बिर्तामोडका सञ्चालक राजकुमार थापासँग सम्पर्क गर्दा आफुले राहदानी लिएको स्वीकारेका छन् । उनले आफुले पैसा नलिएको भन्दै कार्कीले मेडीकल बिग्रीए पनि बैदेशिक रोजगारमा जाने बताए पछि टिकट र भिषा बापतको रकम मागेको बताए ।

प्रतिक्रिया दिनुहोस्: