पुलिसलाई २ स्वर्ण

विराटनगर । विभागीय टिम पुलिसले ३७ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मंगलबार दुई स्वर्णपदक जित्न सफल बनेको छ । पुलिसले महिला डबल्स र महिलाकै टिम स्पर्धामा स्वर्ण कब्जा गरेको छ । अर्को विभागीय टिम एपीएफले पुरुष टिम स्पर्धाको स्वर्ण हात पारेको छ ।

पुरुष टिम स्पर्धाको फाइनलमा एपीएफले पुलिसलाई रोमाञ्चक खेलमा ३–२ ले हराएर सफलता हात पारेको हो । यसमा सुनसरी र ललितपुरले कांस्यपदक प्राप्त गरेको छ । महिलाको टिम स्पर्धाको फाइनलमा भने पुलिसले एपीएफको चुनौती ३–० ले समाप्त पारेको छ । यसमा सुनसरी र काठमाडौले कांस्य थपेका छन् ।

महिला डबल्सको उपाधि पुलिसले जित्ने फाइनलअघि नै तय भइसकेको थियो । किनभने उसकै खेलाडीहरू स्वेच्छा नेम्बाङ र रविना महर्जनको जोडीले फाइनलमा नविता श्रेष्ठ र एलिना महर्जनको जोडीसँग खेल्ने पक्का गरीसकेका थिए । यस्तोमा स्वेच्छा र रविनाको जोडीले ११–९, ११–५ र ११–१४ को जित हात पार्दै स्वर्ण समेत हात पारेका छन् ।

यसमा सुनसरीकी अपेक्षा शाक्य र गीता थापा तथा एपीएफकी शेलिसा खड्गी र सोनु थापामगरले कांस्य प्राप्त गरेका हुन । त्यस्तैगरी, ४५ वर्षभन्दा माथिको पुरुष भेट्रान एकलमा काठमाडौंका कपुर शर्माले ५ अंक जोडेर स्वर्ण र ललितपुरका पन्नाकाजी शाक्यले ४ अंकका साथ रजत र काठमाडौंका किरण व्यञ्जनकार र प्रज्वलकान्त मैनालीले कांस्य हात पारे ।

पुरुष एकलमा पुलिसका दीप सावन, मनिकुमार लामा, एपीएफका पुरुषोत्तम बज्राचार्य, शिवसुन्दर गोथेले सेमिफाइनल यात्रा तय गरेका छन् । महिलातर्फ पुलिसकी नविता श्रेष्ठ, रविना महर्जन र एलिना महर्जनले जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

पुरुष डबल्समा पुलिसका दीप सावन र अमरलाल महतोको जोडीले एपीएफका पुरुषोत्तम बज्राचार्य र जयराम महर्जनको जोडीलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । दीप र अमरलालले फाइनलमा एपीएफका शिवसुन्दर गोथे र चन्दन शाहीको जोडीको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्: