सिरुवा पर्वमा बिविध कार्यक्रम

बिर्तामोड । पूर्वी तराईका आदिवासीहरूको सबै भन्दा ठूलो सिरुवा पर्व आजबाट सकिएको छ । बैसाख १ गतेदेखि ३ दिनसम्म मनाइने सिरुवा पर्व अन्तरगत विहीबार एक आपसमा अविरको टिका लगाउनुका साथै रंग छ्यापेर शुभकामना आदानप्रदान गर्दै सिरुवा पर्व विदा गरिएको हो ।

रिस, राग त्याग्दै मनमुटावलाई बिर्सेर रंग खेली हर्षउल्लासका साथ यो पर्व मनाईने चलन छ । आदिवासीहरुले सिरुवाको पहिलो दिन पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाएका थिए । दोश्रो दिन हिलो खेलेर एकआपसमा कादो सिरुवा मनाइसकेका छन् । तराईका अधिकांश गन्गाईं, राजवंशी, सन्थाल, ताजपुरिया र थारुलगायतका आदिवासीहरुले मनाउने यो सबै भन्दा ठूलो चाड हो । सिरुवा पर्वको अन्तिम दिन झापाको शिवसतासी नगरपालिकामा सामूहिक सिरुवा पर्व सम्पन्न भएको छ ।

पाँचगाछीस्थित जनताचौकमा आयोजित कार्यक्रममा रंग सिरुवा पर्व मनाएर यस वर्षको पर्वलाई विदा गरेका हुन् । आयोजकले कार्यक्रममा आमन्त्रित सहभागीलाई स्वागतार्थ रंग दलेर रंग सिरुवा मनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष खेमराज राजवंशीले दिप प्रज्जलन गरी उद्घाटन थियो ।

कार्यक्रममा आदिवासीको संस्कृति झल्किने गीत, नृत्य प्रस्तुत गरिएको थियो । दधी गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा गनगाई समाज विकास समितिका केन्द्रिय उपाध्यक्ष सन्तोष गणेश, सभाषद् जगतबहादुर ताजपुरिया, शान्ति समिति झापाका अध्यक्ष सूर्यनारायण गणेश, सुर्यनारायण ताजपुरिया, पर्शुराम ताजपुरिया, सत्यनारायण राजवंशी, द्रापति गणेश, लक्खी गणेशलगायतले सिरुवा पर्वको महत्व र संस्कृतिको बारेमा बोलेका थिए । नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्वको पहिलो दिन सतुवाइन पर्वका रुपमा पनि मनाइदै आएको छ ।

सो पर्वको अवसरमा देवीदेउतालाई सातु÷प्रसादका रुपमा चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यका साथै आफन्तलाई सातु खुवाउने गरिन्छ । सोही कारणले यस पर्वलाई सातु पर्व भनिएको छ । तराईका मैथिल समुदाय, थारू, राजवंशी, गनगाईंलगायतका जातिमा यो पर्व बडो उल्लासका साथ मनाउने गरिन्छ ।

अग्रजले अञ्जुलीमा जल लिई टाउकोमाथि राखेर वर्षभरि मगज ठण्डा रहोस् भन्दै आशीर्वाद दिने गरिन्छ । बर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो सिरुवा खेलिने चलन छ । यसो गर्नाले माटोको शरीर अन्ततस् माटो मै विलिन हुने भएकाले शरीरलाई कुनै रोगव्यधी नलाग्ने धार्मिक विश्वास छ । यस्तै गरी बिगतकै जस्तै यस वर्ष पनी राजवंशी समुदायको महान चाड सिरुवा पर्व विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । राजवंशी समाज विकास समिति हल्दिवारीले एक सास्कृतिक कार्यक्रमको आयोजना गरी सिरुवा मनाएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व सभाषद पुर्ण सिंह राजवंशीले राजवंशीहरुको पहिचानको विषयलाई संवोधन नगरी देशमा संविधान ल्याए देश दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । सुव कर्ण राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमा लखन लाल राजवंशी, विष्णु राजवंशी, भक्त बहादुर केरुङ लगाएतको आतिथ्य रहेको थियो भने कार्यक्रमको संचालन विष्णु राजवंशीले गरेका थिए । त्यस्तै गरी राजवंशी समाज विकाश समितिले महेशपुरमा सास्कृतिक कार्यक्रमको आयोजना गरी सिरुवा पर्व मनाएको छ ।

राजवंशी समाज विकाश समितिका अध्यक्ष पुकारचन्द्र राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल भारत मैत्री संघका नेपाल संयोजक सुरेस ठाकुरले संवोधन गरेका थिए । कार्यक्रमा राजवंशी संस्कृति झल्कने गित तथा नृत्य प्रस्तुत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्: