थापालाई उत्कृष्ट नागरिक सम्मान

विर्तामोड । वीरता जेसीजका पूर्व अध्यक्षहरुले प्रत्येक बर्ष गर्दै आएको उत्कृष्ट नागरिक सम्मान–२०७१ बाट यसबर्ष गीतकार तथा संगीतकार शिवशंकर थापालाई सम्मान गरिएको छ ।
‘भन्थिन् मेरी उनी…’सहितका दर्जनौं लोकप्रिय गीतका रचनाकार तथा संगीतकार थापा झापाको बिर्तामोड निवासी छन् । उनलाई सम्मान पत्र, दोसल्ला, स्वर्णपदक र नगद रु ११ हजारसहित सम्मान गरिएको थियो ।
सो अवसरमा झापाका जेसीजका १२ शाखा लगायत विभिन्न एक सय दस संघ–संस्थाले सम्मानप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न उपहार तथा संयुक्त सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गीत÷संगीतकार अशोक राईले सम्मानित स्रष्टा थापालाई सम्मान पत्र र स्वर्ण पदक प्रदान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै सम्मानित प्रतिभा शिवशंकर थापाले जेसीज सहितका विभिन्न संघ–संस्थाहरुको सम्मानले आफूलाई सिर्जनशील कर्ममा लागीरहन उत्प्रेरणा प्रदान गरेको बताए ।
गीत सिर्जनाको पहिलो आधार शब्द रचना भएको बताउँदै सम्मानित प्रतिभा थापाले शब्द बिना संगीत र स्वर सिर्जना नै नहुने बताए । कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारीले सर्जकहरु मुलुक निर्माणका अभियन्ता भएको बताउँदै राजनीतिक दलबाट अपेक्षित परिवर्तन हुन नसकेको धारणा राखेका थिए ।

राजकुमार पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कार्यक्रम संंयोजक गणेशकुमार शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वको जिवनी लक्ष्मण ढकालले प्रस्तुत गरेका थिए ।
सम्मानपत्र वाचन बिनोद बस्नेतले गरेको कार्यक्रममा स्वागत मन्तव्य वीरता जेसीजका अध्यक्ष भक्तराज भारती र आस्थावाचन वीरता लेडी जेसीजका अध्यक्ष पार्वता विमलीले गरेका थिए । सम्मानपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि राईले ‘म विष पिउँछु साथी…, बैशाखी बनमा फूलको श्रृङ्गार पातको क्रन्दन छ…बोलको गीत गाएका थिए ।
कार्यक्रममा लोकगायक हस्त परियारले थापाद्वारा लिखित गीत गाएका थिए भने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले थापाकै रचना गाएर सम्मान जनाए । कार्यक्रममा अनिल फागो, सनलाइट संगीत विद्यालयका विद्यार्थीहरु प्रदीपकुमार कार्की, आशिष रनपहेली, सविना लिम्बू र दिनेश साम्पाङ राईले गीत संगीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष प्रकाशप्रसाद अधिकारी यस्तो महत्वपूर्ण कार्यक्रममा आफू सहभागी हुन पाएकोमा नेपाल जेसीजका तर्फबाट आभार प्रकट गरे । कार्यक्रमको सञ्चालन शेखर ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: