जेठ १५ मा संविधान बन्दैन – दाहाल

काठमाण्डौ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १५ मा संविधान निर्माण नहुने बताएका छन् ।
नवलपरासीको एक कार्यक्रममा सहभागी हुन आएका प्रचण्डले भैरहवा गौतमबुद्ध विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता पक्षका कारण जेठ १५ मा संविधान निर्माण नहुने बताएका हुन् ।
३० दलीय मोर्चाले आन्दोलन स्थगित गरेर सहमतिको प्रयास गरिरहेको भए पनि सत्तारुढ दलहरुले सत्ताको लोभमा सहमति गर्न नखोजेको आरोप उनले लगाए ।

नेपाली कंग्रेसको महाअधिवेशन नजिकिँदै गएको कारण कांग्रेसले अधिवेशन अघि संविधान निर्माण गर्ने कि अधिवेशनपछि संविधान निर्माण गर्नेबारे अलमलमा परेको प्रचण्डको आरोप छ ।
प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई पुरानै स्थानमा लान खोजेको बताउँदै ३० दलीय मोर्चामा विवाद उत्पन्न हुँदासमेत आफुहरुले पटक–पटक सरकारलाई संविधान निर्माणका लागि वार्तामा आउन आग्रह गरे पनि सरकारले चासो नदेखाएको गुनासो गरे ।
सबैभन्दा बढी विवादित विषय राज्य पुनः संरचना भए पनि सो विवाद समाधान गर्न नसकिने आफुहरुलाई नलागेको प्रचण्डले बताए । उनले अहिले संविधानसभाको वैठक बोलाउने र प्रत्येक पटक कुनै संविधान सभा सदस्य वा पूर्वमन्त्रीको निधनका कारण संविधानसभा बैठक स्थगित हुनुलाई बिचित्रताको संज्ञा दिएका छन् ।
सत्ता पक्षले सत्तामा कसरी टिकी राख्ने र सत्ताको स्वार्थ सत्तारुढ दल लागेको कारण संविधान निर्माणमा कठिनाइ आएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्: