झापा फेरि शिर्ष स्थानमा

बिर्तामोड । दोश्रो हाफमा जर्सी नम्बर ९ का गणेश खड्काले गरेको एकमात्र गोलसँगै जारी रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तरगत आईतबारको खेल झापा ११ ले आफ्नो पक्षमा पारेको छ ।
होम अन्तरगत दोस्रो खेल खेलेको झापाले स्थानीय डोमालाल रंगशालामा शीर्ष स्थानमा रहेको टोली काठमाण्डौंको मनाङ मस्र्याङ्दी क्लवलाई १–० गोलअन्तरले हराएको हो । जितसँगै झापा–११ लीगको शीर्ष स्थानमा उक्लिएको छ । झापाको १३ अंक छ ।
यसअघि शिर्ष स्थानमा रहेको मनाङ भने झापासँगको हारसँगै दोस्रो स्थानमा झरेको छ । खेलको सुरुदेखि नै आक्रामक खेल देखाएको मनाङले पाएको लगभग आधा दर्जन गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । मनाङसँगको खेलमा झापा ११ का गोलरक्षक दिनेश थापा निकै ब्यस्त रहे । सुरुदेखि नै तालमेल नमिलेको झापा ११ निकै दवावमा थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेपनि हजारौं घरेलु दर्शकको साथ पाएको झापाले दोस्रो हाफपछि भने लय समाएको थियो ।
घरेलु मैदानमा अनुशासित खेल देखाएको झापाले दोस्रो हाफमा दर्शकका तर्फबाट ‘हुटिङ’ पाएको थियो । दोस्रो हाफबाट अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको ८१ औं मिनेटमा गणेशले गोल गरेका हुन् । होम अन्तरगतको खेलमा पहिलो पटक खेलाडी परिवर्तन गरेका झापा ११ का प्रशिक्षक भगिरथ आले मामाले दोस्रो हाफमा विशाल राई ‘ए’ लाई आराम गराउँदै अफ्रिकन खेलाडी अहमेद अब्बास ईदीलाई मैदान पठाए । खेलको ईञ्ज्यूरी समयमा प्रशिक्षक मामाले अर्का अफ्रिकन खेलाडी अल्मासीलाई मैदान छिराएका थिए ।
प्रशिक्षकको यो रणनीतिले पनि झापाले दोस्रो गोल गर्न भने सकेन र झापा १–० ले विजयी भयो । खेलको म्यान अफ दी म्याच झापा ११ का डिफेण्डर देवेन्द्र तामाङ घोषित भए ।

खेलमा म्याच रेफ्रि लव खत्रीले चारजना खेलाडीलाई पहेंलो कार्ड देखाए । झापाका स्ट्राईकर कर्ण लिम्बू, मनाङका कप्तान अनिल गुरुङ, मनाङकै अफ्रिकन खेलाडी लियोनेल स्टोफेन र बीशाल राई बी ले पहेंलो कार्ड पाए ।
खेलकै क्रममा चक्कर लागेको बताएका मनाङका बिशाललाई अस्पताल लगिएको प्रशिक्षक राजुकाजी शाक्यले बताए । जितपछि पोष्ट म्याच कन्फरेन्समा पत्रकारसँग कुराकानी गर्दै झापाका प्रशिक्षक मामाले लिगको सबभन्दा राम्रो टिम मनाङलाई घरेलु मैदानमा हराउँदा अत्यन्तै खुशी लागेको बताए ।

घरेलु दर्शकको साथले अझ हौसला मिलेको उनले बताए । ‘गणेशले क्विक डिशिजन गरेकाले हामीले जित्यौं,’ प्रशिक्षक मामाले भने– ‘आजको खेलमा पनि बिशाल चल्न सकेनन् ।’ मनाङका खेलाडी र झापाको गोलरक्षकको तारिफ गरेका मामाले यस्तै हौसला कायमै रहे झापाले उपाधि उचाल्ने विश्वास व्यक्त गरे ।

उता मनाङका प्रशिक्षक शाक्यले भने झापालाई खेल सुम्पिनुपर्दा दुःख लागेको प्रतिक्रिया दिए । ‘दुःख लाग्छ नि,’ शाक्यले भने– ‘तर झापाभन्दा बढी हामीले चान्स पायौं ।’ मनाङका कप्तान अनिलले सोचेअनुसारको खेल देखाउन नसकेको प्रशिक्षक शाक्यले स्वीकारे । ‘ईञ्ज्यूर पनि, येलो कार्ड पनि जोगाउनु हाम्रा लागि चुनौति थियो ।’– शाक्यले भने । झापाले होम अन्तरको आफ्नो तेस्रो खेल बैशाख ९ गते एपीएफसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्: