शुल्कबृद्धि फिर्ताको माग राख्दै बिद्यालय बन्द

बिर्तामोड । वृद्धि गरिएको शुल्क फिर्ताको माग राख्दै झापाका बिद्यार्थी संघ÷संगठनले आइतबारदेखि जिल्लाका सम्पूर्ण निजी बिद्यालय अनिश्चितकालिन बन्द गरेका छन् ।
निजी बिद्यालयले आफुखुसी शुल्क बढाएर बिद्यार्थीको भबिष्यमाथि खेलवाड गरेको जनाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी), नेबिसंघ अनेरास्ववियु, अग्रगामी बिद्यार्थी संगठन, संघीय बिद्यार्थी युनियन, अखिल–क्रान्तिकारी लगायतका बिद्यार्थी संघ÷संगठनले बिद्यालय बन्द गरेका हुन् ।
बिद्यालयले बढाएको शुल्क फिर्ता नगरेसम्म बिद्यालय बन्द रहने नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य महेन्द्र भट्टराईले बताए छन् । उनले भने–‘प्रत्येक बिद्यालयले १२ देखि १८ प्रतिशतसम्म शुल्क बृद्धि गरेका छन्, त्यो फिर्ता नभएसम्म बिद्यालय खुल्दैन ।’ उनले बिद्यालयले सरकारलाई तिर्नुपर्ने एक प्रतिशत कर पनि बिद्यार्थीबाटै लिने गरेको बताए । झापामा ३ सय ५० प्याव्सन र एन प्याव्सनमा आबद्ध निजी विद्यालय सञ्चालित छन् । एउटा विद्यालयले प्रत्येक विद्यार्थीबाट १ सय ५० देखि माथि शुल्क बृद्धि गरेको भट्टराइृको भनाई छ । यस अघि ७ सय ५० रुपैयाँ लिदै आएका बिद्यालयले हाल ९ देखि ३ हजारसम्म शुल्क लिएपछि आन्दोलित बनेको उनको भनाई छ ।
उता प्याप्सनका सचिब कोषराज प्याकुरेलले शुल्कबृद्धि शिक्षा नियमावलीलाई नै टेकेर गरेको बताए । उनले ०६९, ०७०, ०७१ सालसम्मलाई मात्र शुल्कबृद्धिमा रोक लागाएको बताउँदै ०७२ सालको शुल्क बृद्धिको रोक नलगाएको बताए । सचिब प्याकुरेलले अभिभाबक, प्याप्सन, एन प्याप्सन र जिल्ला शिक्षा कार्यालयमा लिखित माइन्युट गरेर नै सहमतिमा शुल्कवृृिद्ध ०७२ को प्रस्ताब शिक्षा कार्यालयमा पेश गरेको बताए ।
एन प्याप्सनका केन्द्रीय सदस्य धर्मराज माझीले बिद्यालयले शिक्षकलाई महंगी अनुसारको सेवासुबिधा दिनुपर्ने, बिद्यार्थीलाई बिभिन्न किसिमका सेवा सुबिधा दिने उदेश्यले शुल्क बढाएको बताए । उनले शुल्कबृद्धिलाई आधार बनाएर बिद्यालय बन्द गर्नु राम्रो नभएको बताउदै भने –‘कहिकतै कमी कमजोरी भएमा वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ ।’
जिल्ला शिक्षा कार्यालय झापाका उपसचिब तथा शुल्क निर्धारण समितिका अध्यक्ष उद्धब बिष्टले राष्ट्रियस्तरको शुल्कबृद्धि समस्या जिल्ला–जिल्लासम्म आएको बताए । उनले बिद्यालयको भौतिक अवस्था शैक्षिकस्तर हेरर बिद्यालय ब्यस्थापन समिति र अभिभाबकको इच्छानुसार शुल्कबृद्धि गर्न सकिने बताए । सबै कुरा सम्पन्न बिद्यालयको कक्षा १० लाई अधितम ३ हजारसम्म शुल्क लिन सकिने भएको उपसचिब बिष्टले बताए । बिद्यालय बन्द हुँदा बिद्यार्थीको सिक्ने समय खेर जाने भएकोले बिद्यालयलाई बन्द नगरी बार्ताबाटै समाधान गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: