आगलागीका कारण एक करोडको क्षति

भद्रपुर । आईतवार राती भद्रपुर बजारमा भएको आगलागीका कारण एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
भद्रपुर– ६ स्थित प्रदिप वस्त्रालयको एक कपडा पसलमा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

राती १० बजे लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा आएको थियो । भद्रपुर र मेचीगनरका दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, व्यापारी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । वस्त्रालयका सञ्चालक प्रदिप सरियाले प्रहरीलाई दिएको जानकारी अनुसार कपडा पसलबाटै विद्युत चुहावट भएर आगो लागेको हो ।

उनले पसलमा रहेको सम्पूर्ण लत्ताकपडा र फर्निचर जलेर खरानी भएकाले लगभग एक करोडको क्षति भएको बताए । यसअघि दूई बर्ष अगाडि प्रदिप बस्त्रालयसँगै जोडिएको चारवटा पसल र दुई वटा घरमा विद्युत चुहावट भएर आगो लाग्दा ५ करोड बढीको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: