नेपाली काँग्रेसमा भाले मौरीको विगविगी – पौडेल

दमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली काँग्रेसमा ‘अवसरवादी’ भाले मौरीको विगविगी रहेको बताएका छन् । नेपाल विद्यार्थी संघको ४५ औं स्थापना दिवसको अवसरमा तनहुँको व्यास १ भाँदगाउँमा रहेको आदीकवि भानुभक्त बहुमुखि क्याम्पस इकाइद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने ‘मौरीहरु दुई खालका हुन्छन, एउटा रानी मौरी, अर्को भाले मौरी ।

रानी मौरी सँधै मह मात्र जम्मा गर्छ भने भाले मौरी मह मात्र खान्छ ।’ अहिले काँग्रेसमा पनि दुःख गर्ने पाखा परेको र भाले मौरीले मात्र अवसहरु लिने गरेको पौडेलले बताए । नेपाली काँग्रेसमा पनि पार्टीमा दुःख गर्नेहरुले अवसर नपाएको र भागबण्डामा र कोठे राजनीति गर्नेहरुले अवसर पाएको उनले बताए ।

पौडेलले भागबण्डा र कोठे राजनिति अन्त्य गरी दुःख गरेकाहरुलाई पाखा लगाउने संस्कार हटाउनु पर्ने बताए । ‘पार्टीमा रहेका भाले मौरीहरु हटाई पार्टीमा योगदान र दुःख गरेकाहरुलाई स्थापित गर्न आवश्यक छ,’ उनले भने । पौडेलले ८ बर्ष देखि नेपाल विद्यार्थी संघको अधिवेशन हुन नसक्नु दुःखद रहेको जिकिर गरे ।

पौडेलले लोकतान्त्रिक राजनितिका लागि पार्टीको आन्तरीक लोकतन्त्र पनि विकास गेरेर लैजान आवश्यक रहेका बताए । उनले फरक प्रसंङ्गमा नमिलेका बिषयलाई थाति राखेर संविधान सभाको पक्रिया अगाडी बढाइने बताए । पौडेलले सके सम्म सबैको सहमतिमा संविधान जारी गर्ने नभए पक्रियामा गएर जति सक्दो चाडो संविधान निर्माण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: