महामारी रोक्न देवता भाकल

जाजरकोट । महामारीले नछोएको जाजरकोटको केही गाउँका स्थानीयले महामारी आफ्नो गाउँमा नफैलियोस् भनेर देउतालाई वोकाको भाकल गर्न थालेका छन् ।
आईतवार दिउँसो जिल्लाको खगेनकोट गाविसका स्थानियहरु हल्चौरमा जम्मा भई मष्टदेउतालाई वोको भाकल गरेको स्थानीय नारायण खत्रीले जानकारी दिए ।

यो ठाउँ प्राथमिक स्वास्थ्य चौकी दल्लीवाट ४ घण्टाको दुरीमा रहेको छ । मष्टदेवताका धामी हर्कवहादुर खत्री, भयार देवताका धामी तिलक खत्री , मन्डली भयारका धामी वमवहादुर खत्रीले कुनै हालतमा आफ्नो गाउँमा यो जिल्लाको पैक, अछानी लगाएतका गाविसमा फैलिएको महामारी फैलिन नदिने दावी गरेको खत्रीले वताए ।
देवताले महामारी रोकेवापत एउटा वोको वलि खाने धामी वताएका छन् । सो बेला स्थानिय शिक्षक देखी राजनीतिकदलका मानिस पुगेका थिए । यसअघि पनि यसरी जाजरकोटमा गाउँमा धामी ,झाकीको भरमा पर्दा समयमा उपचार नपाई सार्वसाधारणको मृत्यू हुने गरेको छ ।

महामारी फैलिएको गाउँमा धामी, झाक्रीको भर पर्दा स्वास्थ्य संस्था सम्म नआएको स्थानिय वुद्धीजिवीले वताएका छन् । अर्छानी गाविसवाट सुरु भएको यो महामारीजन्य रोग अहिले जिल्लाका ९ गाविसमा फैलिएको छ । अर्छानीमा विद्यार्थीहरु विरामी हुदा धामी, झाक्रीको प्रयोग गरिएको स्थानियले वताएका छन् ।
स्वास्थ्य उपचार लिनु भन्दा पहिले धामी भाक्रीलाई देखाउने चलन रहेको सर्वसाधारण वताउछन् । अन्तिम समयमा स्वास्थ्य संस्थामा लैजादा वचाउन नै समस्या हुने गरेको स्वास्थ्य कर्मीकको भनाई छ । जिल्लाको नायकवाडामा पनि फैलिएको रोगका कारण सयौ गाउँलेहरु विरामी भएपछि मैनामा रहेको राँगावाँचिलाको देउतालाई नै वोकाको भाकल गरिएको थियो ।

स्वास्थ्य संस्था भन्दा धामी ,झाक्री भर पर्दा यहाँका दुर्गमका स्थानियहरुको जीवन वचाउन नसकिएको हो । जिल्लाका अधिकांश ठाउँमा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुदा झन समस्या हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: