झापा र एपिएफ भिड्दै

बिर्तामोड । रेड बुल राष्ट्रिय लिग अन्तरगत आज झापाको डोमालाल रंगशालामा झापा–११ विरुद्ध सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिश्पर्धा हुने भएको छ ।
लिगमा अहिलेसम्मको सर्वाधिक अंक जोड्न सफल झापा र तेश्रो स्थानमा रहेको एपीएफबीच झापाको होम ग्राउण्डमा तेश्रो प्रतियोगिता बुधबार हुन लागेको हो ।
आजको प्रतियोगिताका लागि तयारी पुरा भएको दुवै टिमका प्रशिक्षकले पोष्ट म्याच कन्फ्रेन्समा बताएका छन् । राष्ट्रिय टिमको समेत प्रशिक्षक भइसकेका एपीएफका प्रशिक्षक कृष्ण थापाले झापा फर्ममा रहेकाले जीत÷हार ५०÷५० रहने बताए । उनले झापाको टिम फरवार्डमा अगाडि भएकाले जीतको नजीक रहेको स्वीकारे । आफ्नो टिम शारीरिक रुपमा फिट भएकाले प्रतियोगितामा हार÷जीत यसकै हुन्छ भनेर अनुमान गर्न नसकिने उनको दावी छ ।
झापाका चर्चित स्ट्राइकर कर्ण लिम्बू यो खेलमा देखिने छैनन् । दुईवटा पहेंलो कार्ड पाएका कारण जारी लिगमा सर्वाधिक ६ गोल गरेका उनले एक खेल गुमाउने भएका हुन् । झापाका प्रशिक्षक भगिरथ आले मामाले उनको स्थानमा हमिद अव्वासलाई उतार्ने तयारी गरेका बताएका छन् । झापाका सबै खेलाडि अलराउण्डर भएको बताउँदै उनले कर्णको अनुपस्थिति महशुस नहुने बताए । ६ खेल खेलिसकेको झापाको लिगमा सर्वाधिक १३ अंक छ भने त्यति नै खेल खेलेको एपीएफको ११ अंक छ । मनाङसँग बराबरी अंक भएपनि गोल अन्तरको आधारमा एपीएफ तेश्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्: