माओवादीद्घारा उर्जा सचिबको घर कब्जा, वकिलमाथी सांघातिक आक्रमण

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मंगलबार कलंकीको खसीबजारस्थित ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोरी क्षेत्रीको घरमा झन्डा गाडेर कब्जा गरेको घोषणा गरेको छ ।
चोक तथा गौंडामा लुकेर बसेका विप्लव माओवादी कार्यकर्ताहरुले क्षेत्रीको घरमा दिउँसो झन्डा गाडेका हुन् । जनवादी क्रान्ति गर्न सशस्त्र बाटो अवलम्बन गर्ने निर्णय गरेलगत्तै विप्लव नेतृत्वको माओवादीले राजधानीमा एक महिना यता गरेको यो दोस्रोपटक घर कब्जाको ‘कारबाही’ हो ।
यसअघि उनीहरुले लगानी बोर्डका निर्देशक रमेश पन्तको बाँसवारीस्थित घरमा पार्टीको झन्डा गाडेका थिए । क्षेत्रीको घर कब्जा गर्न दुई सयको संख्यामा नेता तथा कार्यकर्ता पुगेका थिए ।
अपर कर्णाली तथा ६ सय मेगावाटको माथिल्लो मर्स्याङदी विदेशीलाई बेचेको आरोपमा उनीहरुले ऊर्जासचिवको घर कब्जा गरेको जनाएका छन् । घर कब्जा गरेलगत्तै माओवादीका नेता कार्यकर्ताहरुले नारावाजी गर्दै घर कब्जा गर्नुको औचित्यबारे पर्चा छरेका थिए ।
पर्चामा राष्ट्रघाती कदम लिन सघाउने क्षेत्रीको घर कब्जा अभियान पन्तको घर कब्जा अभियानकै निरन्तरता भएको उल्लेख गरिएको छ । यसअघि माओवादीले चैत ६ गते लगानी बोर्डका निर्देशक राधेश पन्तको बाँसबारीस्थित घरमा पार्टीको झन्डा गाडेको थियो ।
माओवादी कार्यकर्ताहरुले घर कब्जा गरेर हिँडेपछि मात्र घटनास्थल पुगेको प्रहरीले क्षेत्रीको घर वरपर छरिएका पर्चा, पम्प्लेट नियन्त्रणमा लिएको थियो ।
नेपालगन्जका अधिवक्ता सुकईलाल बर्मालाई विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएका छन् । नेपालगन्ज ७ घर भएका बर्मा एकीकृत नेकपा माओवादीका जिल्ला कमिटी सदस्य हुन् ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ भने दायाँ खुट्टा घुँडा मुनि भाँचिएको छ । घाइते बर्माको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ । नेपालगञ्ज १२ मा रहेको बर्माको ल र्फममा आएको पाँच जनाको समूहले बर्मामाथि सांघातिक आक्रमण गरेका थिए ।
घटनास्थलमा फेला परेको विज्ञप्तिमा बाँकेको फत्तेपुर, हिरमिनियाँ र गनापुरमा सर्वसाधारणको किर्ते कागज बनाई जग्गा हडपेकाले जनकारवाही गरेको उल्लेख छ । घटनास्थलमा भेटिएको विज्ञप्तिमा नेकपा माओवादीको जिल्ला सेक्रेटरी मानबहादुर रोकाया ‘शक्ति’को हस्ताक्षर छ ।
बाँके प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त पन्तले आक्रमणमा संलग्नहरुको खोजी भइरहेको जानकारी दिएका छन् ।
एमाओवादी केन्द्रीय सदस्य महेश्वर गहतराजले घटनाको निन्दा गर्दै आक्रमणकारीलाई कारवाहीको दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन् ।
घटनास्थलमा भेटिएको विज्ञप्तीमा जाली तमसुक र किर्ते कागजात तयार गरी सर्वसाधारणको जग्गा आफ्नो र आफ्ना आफन्तको नाममा बनाएको प्रमाण भेटिएकोले चेतावनीस्वरुप पहिलो जनकारवाही गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: