ग्रेनाडामा ७ नेपाली पक्राउ

काठमाण्डौ । क्रुज म्यानेजमेन्टसम्बन्धी अध्ययन गर्न भन्दै क्यारेवियन मुलुक सेन्ट लुइस पुगेका सात जना नेपाली छिमेकी मुलुक ग्रेनाडामा पक्राउ परेका छन् । सेन्ट लुइसबाट अघिल्लो शुक्रबार बेपत्ता भएका उनीहरुलाई बुधबार ग्रेनाडा पुग्नासाथ प्रहरीले पक्राउ गरेको थियो । उनीहरु डुंगा चढेर ग्रेनाडा प्रवेश गर्न खोजेको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।
पक्राउ पर्नेमा दीपक सापकोटा, चन्द्रबहादुर थापा, अंकित , प्रदीप अधिकारी , दीपक भुजेल, अर्जुन शर्मा काफ्ले र नमुकला तिवारी रहेको जमाइका अब्र्जभर अनलाइनले जनाएको छ ।
उनीहरुले प्रतिब्यक्ति २० लाख रुपैयाँसम्म तिरेर सेन्ट लुइस एकेडमीमा पानी जहाज ब्यबस्थापनसम्बन्धी कोर्स पढ्न त्यहाँ पुगेका थिए ।

मानव तस्करहरुले उनीहरुलाई एक बर्षमा क्रेडिट ट्रान्सफर गरी अमेरिका पठाइदिने आश्वासन दिएर पैसा लिएका थिए । तर, सेन्ट लुइस पुगेपछि दलालले बिद्यार्थीलाई अलपत्र छाडेर भागेपछि उनीहरु ठगिएको पत्तो पाएका थिए ।
सेन्ट लुइस सरकारले ‘लिमबर्ड एकेमडी काण्ड’ नामले परिचित यो घटनामा करिव ७० जना नेपाली बिद्यार्थी पिडीत बनेको बताइएको छ । सेन्ट लुइस सरकारले यो घटनाको छानविन गर्न आदेश दिएको छ । ठगी र मानव तस्करीमा संलग्न रहेको भन्दै तीन भारतीयसहित चार जनलाई पक्राउ गरी मुद्दा चलाएको छ । यो काण्डमा सेन्ट लुइसकै पूर्व मन्त्रीको संलग्नता रहेको संचारमाध्यमहरुले जनाएका छन् ।
यही काण्डमा ठगिएका अन्य केही नेपाली बिद्यार्थी यसअघि अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम)को सहयोगमा स्वदेश फकिर्कका छन् ।

प्रतिक्रिया दिनुहोस्: