दुर्घटनामा एकको मृत्यु

वैशाख । कपिलवस्तुको बनगाईमा बिहीबार बिहान ट्रकमा यात्रुबाहक बस ठोक्कँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार काठमाडौंबाट नेपालगञ्जतर्फ गइरहेको ना ४ ख ५३९ नम्बरको बस लु १ ख ६६७३ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । बिहान ५ः१५ बजे भएको दुर्घटनामा एक पुरुष यात्रुको मृत्यु भए पनि उनको अझै सनाखत हुन सकेको छैन ।

इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक मुरली मोहन अधिकारीले गम्भीर घाइते एक जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए । अन्य घाइते आठ जनाको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले चालक निदाएर दुर्घटना भएको बताए पनि यसको औपचारिक पुष्टि भने भइसकेको छैन ।

प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । बुधबार मात्रै धादिङको नौविसे र ललिपुरको जावलाखेलमा सवारी दुर्घटना भएको थियो । भारतीय तीर्थयात्रु बोकेको बस नौविसेमा दुर्घटना हुँदा १७ भारतीयको मृत्यु भएको थियो भने २८ घाइते भएका छन् । उता, जावलाखेल दुर्घटनामा २१ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: