सशक्त कारबाही गर्ने चेतावनी

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो पार्टीले भूमिहीन–सुकुम्बासीलाई ‘व्यवस्थापन’ गरिएको जग्गा ‘भूमाफिया’ ले बेचबिखनको प्रयत्न गरेको जनाउँदै त्यस्तो जग्गाजमिन बेचबिखन तत्काल नरोकिए ‘सशक्त कारबाही’ गर्ने चेतावनी दिएको छ ।

‘२०६० देखि ६४ सम्म हाल निजगढ नगरपालिकामा रहेको तत्कालीन रतनपुरी गाविसका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा बसोवास गरिरहेका सुकुम्बासी जनसमुदायलाई नेकपा माओवादीको पहल र नेतृत्वमा व्यवस्थित गर्ने कार्य भएको हो’, । नेकपा माआवादीसम्बद्ध राष्ट्रिय युवा जनस्वयमसेवक बाराका संयोजक रमण घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘हाल आएर केही भूमाफियाले त्यस्तो जमिन बेचबिखन गरिरहेको सूचना प्राप्त भएकाले सुकुम्बासी वसोवास गरिरहेको जग्गा बेचबिखन नगर्न–नगराउन विनम्र अनुरोध गर्दछौं ।’
माओवादी नेता घिमिरेले चेतावनी दिँदै विज्ञप्तिमा अगाडि उल्लेख गरेका छन ‘सुकुम्बासीको नाउँमा भूमिफियाको चलखेल भइरहेकाले त्यस्ता कुतत्वलाई आफ्नो हर्कत तत्काल बन्द गर्न यसै विज्ञप्तिमार्फत सचेत गराउँदछौं । यदि जबर्जस्ती गरे युवा जनस्वयमसेवक सशक्त कारबाहीमा उत्रन बाध्य हुने कुरा समेत जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्: