धादिङका भूकम्प पिडितको उद्दार हुन सकेन

काठमाण्डौ । बिनाशकाली भुकम्पको केन्द्रविन्दु गोरखा नजिकैको जिल्ला धादिङको दुर्गम गाउँमा उद्दार भएको छैन । भूकम्प आएको २४ घण्टा बितिसक्दा पनि उद्दार नपाएपछि घाइतेहरुले छिटो उद्दार गरी औषधि उपचार गरीे ज्यान बचाइदिन आग्रह गरेका छन् ।
धादिङका री, मुलपानी, झर्लाङ्दी, मार्पाक लगायतका धेरै गाबिसका भूकम्प पिडित प्रभावित भएका छन् ।

मूलपानी गाविस ३ बाट सुशील बस्नेतले सञ्चारमाध्यममा टेलिफोन गरी आफ्नो परिवारका ४ सदस्यको मृत्यु भइसकेको र दुई जना गम्भीर घाइते भएको जानकारी दिदै वरपरका एक सयभन्दा बढी घर भत्किएकाले अरु धेरैको मृत्यु भएको हुनसक्ने जानकारी दिएका छन् ।
उनले फोन गर्दै मुलपानी लगायतका स्थानमा धेरैको बिचल्ली भएकाले तत्काल उद्दारका लागि सरकारी निकायलाई भनिदिन समेत आग्रह गरेका छन् । उनले भने‘ हिँजोदेखि भोकै छौं,‘खानेकुरा केही छैन, मृत्यु हुनेको भइहाल्यो बाँच्नेको उद्दारमा सहयोग गरिदिनु पर्यो ।’

धादिङमा १५० को मृत्यु
धादिङमा अहिलेसम्म १५० जनाको मृत्यु भइसकेको छ भने १५० जना गम्भीर घाइते रहेका धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् ।
३२ जनालाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको र ५० जनाको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको घिमिरेले बताए ।

उनले धादिङका दुर्गम क्षेत्रमा हेलिकोप्टरबाट उद्धारको काम भैरहेको जानकारी दिएका छन् । ‘शनिबार राति अबेरसम्म पानी परिरहेकाले दुर्गम क्षेत्रमा गाडी जान नसक्दा समस्या भएर हेलिकोप्टरबाट उद्धारको कार्य भइरहेको प्रअ घिमिरेले बताए ।
धादिङका जमीन ठाउँ ठाउँमा फाटेका छन् भने पृथ्वी राजमार्गमा भने क्षति भएको छैन । भुकम्प आउँदा पहिरो झरेर बाटो अबरुद्ध भएका स्थानमा डोजर प्रयोग गरी बाटो सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: