नेपालमा भुकम्पको इतिहास

काठमाण्डौ । भुकम्प कति बेला आउँछ र कुन रेक्टर स्केलको आउँछ भन्ने पुर्वानुमान गर्न सकिदैन तर पनि भुकम्प आईरहेको छ । यसले धनजनको क्षति गरिरहेको छ ।
शनिबार विहान ११.५६ मिनेटमा गएको भुकम्प पनि त्यसैको एउटा श्रृङ्खलाको रुप हो । भुकम्प एउटा प्राकृतिक विपत्ती हो । यसले जनधनको क्षति गराउँछ यो सार्वभौम सत्य हो । तर क्षति न्यूनीकरण गर्न भने सकिन्छ । सहरी क्षेत्र नै सबैभन्दा बढी भुकम्पका कारण प्रभावित हुने गरेको छ । तर यो भुकम्पले भने सहरी तथा ग्रामीण क्षेत्रलाई नै प्रभावित पारेको छ । गृह मन्त्रालयका अनुसार आज गएको भुकम्पमा हालसम्म एक हजार पाँच सय भन्दा बढी नागरिकको ज्यान गएको छ ।

 
विसं १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सङ्खुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको सो भुकम्पमा परी ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए । माघ २ गते गएको सो भुकम्पलाई नेपालको इतिहासमा महाभुकम्पको रुपमा लिने गरिन्छ । सो भुकम्पले घर विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसहित दुई लाख सात हजार सात सय ४० संरचना भत्किएको अभिलेख छ ।

 
यस्तै २०४५ साल भदौ ५ गते गएको भुकम्पमा परी ७ सय ५० जनाले ज्यान गुमाएका थिए । यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भुकम्पमा पाँच जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएका थिए ।

 
गृह मन्त्रालय र जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनअनुसार नेपालमा १९९० सालको जस्तै भुकम्प गएमा राजधानीमा ४० हजारको ज्यान जान सक्ने र ६० प्रतिशत भन्दा बढी भौतिक संरचना ध्वस्त हुन सक्ने बताएको थियो ।

 
विश्वमा भुकम्पको अति जोखिम भएका देशहरु मध्ये नेपाल दशौं स्थानमा पर्छ । त्यसमा पनि काठमाडौँ उपत्यकालाई भुकम्पको उच्च जोखिमका रुपमा लिने गरिन्छ । विज्ञहरुले भुकम्पपछि ८० प्रतिशत मानवीय क्षति भौतिक संरचनाले किचिएर तथा आठ देखि १० प्रतिशत स्वास्थ्य सेवामा हुने कमीले हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: