घरभित्र फर्कौं : सरकार

काठमाण्डौ । भूकम्पको डरले खुल्ला ठाँउमा बसेका नागरिकलाई घरमा क्षति नभएको भए घरभित्र फर्किन सरकारले आग्रह गरेको छ ।
सरकारका मुख्यसचिव लीलामणि पौडेलले पत्रकारसँग कुरा गर्दै अब घरभित्र गएर बस्न आग्रह गरेका हुन् । भूकम्पविदले ७२ घण्टाभित्र घरभित्र प्रबेश नगर्न दिएको समयसिमा सकिएपछि पौडेलले त्यस्तो आग्रह गरेका हुन् । भूकम्प आउन लागेको हल्ला निराधार रहेको भन्दै पौडेलले हल्लाका पछाडि नलाग्न आग्रह गरे ।
देशभर विदेशी मिडियाको हवाला दिँदै यस्तो हल्ला फिँजाइएको भन्दै पौडेलले यस्तो हल्लाका पछाडि नलाग्न अनुरोध गरेका छन् । खानेपानी उत्पादन गर्ने, विजुली बनाउने र गाडी चालक पनि सडकमा आएकाले समस्या भएको भन्दै मुख्यसचिव पौडेलले उनीहरुलाई आफ्नो काममा फर्कन आग्रह गरे । यसैवीच सरकारले यातायात व्यवसायीहरुलाई नाफामात्रै नहेरी यातायात सञ्चालन गर्न आग्रह गरेको छ ।
भूकम्प पीडितको उद्दारका नाममा यतिबेला भारत, चीन र अमेरिकाबाट सैनिक एवं गैरसैनिक टोली काठमाडौंमा केन्द्रित भइरहेका बेला मुख्य सचिव पौडेलले घरमा च्यापिएकालाई निकाल्ने प्राविधिक टोलीबाहेक अन्य कार्यमा विदेशीलाई नखटाइने स्पष्ट पारे । तर, विदेशीले दिएको राहत भने नेपाल सरकारले ग्रहण गर्ने र आफ्नै पहलकदमीमा वितरण गर्ने मुख्य सचिवले स्पष्ट पारेका छन् ।
भवनमा पुरिएकाहरुलाई जीवितै उद्दार गर्न सकिन्छ कि भनेर विदेशी प्रविधिको सहायता प्रयोग भइरहेको पौडेलले बताए । नेपाल सरकारका सचिवहरुको बैठकले सर्जन, हाड जोर्नी र नशाको विशेषज्ञबाहेक अन्य विदेशी डाक्टरहरको टोलीमात्रै पठाउन विदेशीलाई सरकारले आग्रह गरेको छ । सरकारले हेलिकप्टरबाट प्राविधिक कारण प्रभावकारी रुपमा उद्घार गर्न नसकेको उनले स्विकार गरे ।

प्रतिक्रिया दिनुहोस्: